संगठन सुदृढीकरणका लागि सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले विशेष अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरको नेतृत्वमा सुदूरपश्चिम प्रदेशका सबै ८८ स्थानीय तहका ७ सय ३४ वडामा संगठन सुदृढीकरणको अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो।
अभियान सफल पार्न प्रदेशका सबै ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदेश कार्यसमितिका सदस्यहरूलाई प्रतिनिधिका रूपमा खटाइएको सुदूरपश्चिम कांग्रेसले जनाएको छ।
चैत महिनाभर सञ्चलान हुने अभियानलाई गतिशील बनाउन प्रदेश कार्यसमितिका सदस्यहरूलाई जिल्ला कार्यसमितिसँगको समन्वयमा काम गर्नेगरी प्रदेशसभा निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकिएको छ।
जिम्मेवारी तोकिएका प्रदेशसभा निर्वाचन क्षेत्रभित्र संगठन चलायमान बनाउन विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालनका जिल्ला कार्यसमितिसँग समन्वय र सहजीकरण गर्ने जिम्मेवारीसमेत प्रदेशबाट खटाएका प्रतिनिधिलाई कार्यसमितिले दिएको छ।
पार्टीको जिल्ला कार्यसमितिसँग समन्वय गरी वडादेखि क्षेत्रसम्मका विभिन्न गतिविधिका साथै सम्मेलनमा सहभागी भई संगठनलाई चलायमान बनाउन भूमिका निर्वाह गर्नसमेत भनिएको छ।
साथै अभियानका लागि प्रदेश बाट खटिएका प्रतिनिधिलाई संगठनको अवस्थाबारे विस्तृत जानकारीसहितको प्रतिवेदन तयार गरी चैत मसान्तभित्र प्रदेश कार्यसमितिमा पेस गर्न भनिएको कांग्रेस प्रदेश कार्यसमिति सदस्य वेदप्रकाश तिमिल्सिनाले जानकारी दिए।
प्रतिक्रिया