प्रदेश संरचनाको भविष्यको बारेमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दिएको अभिव्यक्ति विवादस्पद बनेको छ। यसले राजनीतिक वृत्तमा हलचल ल्याइदिएको छ। शनिवार इटहरीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले ‘यदि जनादेशले यो संरचना नचाहेमा त्यसलाई आत्मसात् गर्ने’ अर्थात प्रदेश खारेज भए आफूले स्वीकार्ने आशयको अभिव्यक्ति दिएका थिए।
उनको यो भनाइलाई लिएर अहिले प्रतिपक्षले आलोचना गरेको छ। मुख्यमन्त्रीको यो तर्कलाई प्रदेश सभा र सङ्घीयताको मर्म विपरीत रहेको भन्दै मुख्यमन्त्रीको आलोचना भएको हो। कोशी प्रदेश सभाको मङ्गलवारको बैठकमा प्रदेश सभाका प्रतिपक्ष दलको तर्फबाट विशेष समय लिएर बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेश उप्रेतीले सरकारमा लामो समयसम्म शासन गरेर अघाएपछि संरचना प्रति नै प्रश्न उठाएको भन्दै आलोचना गरे।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले परिकल्पना गरेका अधिकारहरू पूर्ण रूपमा कार्यान्वयन गर्ने हो भने प्रदेश सरकार जनताको सबैभन्दा नजिकको र शक्तिशाली निकाय बन्ने दाबी गरे। उप्रेतीले प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठाउनेहरूलाई इतिहासको मर्यादा राख्न चेतावनीसमेत दिए।
प्रदेशको संरचनासँगै अहिलेको मुख्यमन्त्री नै लामो समयसम्म सत्तामा रहेको भन्दै उनले प्रदेशलाई दह्रो बनाउन, नागरिकको आकर्षण बढाउन, मानिसको विश्वास जगाउनको लागि के गर्नु भयो भन्दै प्रश्न गरेका थिए। संविधानले मात्रै व्याख्या गरेको अधिकार पनि कार्यान्वयन गर्न हिचकिचाएको भन्दै सङ्घीयता कमजोर बनाउने अभिव्यक्ति दिएकोमा उनले आक्रोश पोखे। उनले भने, ‘आफू सरकारमा हुन्जेल प्रदेशको उपभोग गर्ने र निर्वाचनले शक्ति कमजोर हुने बित्तिकै सङ्घीयता खारेजीको कुरा गर्नु इतिहासमाथिको भद्दा मजाक हो।’
उनले प्रदेश सभा सदस्यहरू जागिर खानका लागि मात्र नआएको स्पष्ट पार्दै व्यवस्थालाई समृद्ध बनाउनुको विकल्प नरहेको बताए। उनले भने, ‘आफू नेतृत्वमा रहँदा प्रदेशको महत्त्व नदेख्ने तर बाहिरिने बित्तिकै सङ्घीयतामाथि प्रश्न उठाउने प्रवृत्ति राम्रो हैन।
मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेर प्रदेश सरकार र संसद्को औचित्यमाथि नै प्रश्न उठ्ने गरी आएको यस्तो धारणाले मुख्यमन्त्री गम्भीर विवादमा फँसेका छन्। एकातिर प्रदेशले धेरै राम्रा काम गरेको दाबी गर्ने र अर्कोतिर यसको अस्तित्व नै मेटाउने कुरालाई स्वीकार गर्न नसकिने उनको तर्क छ।
मुख्यमन्त्रीको दोधारे चरित्रले सङ्घीयता विरोधीहरूलाई बल पुर्याएको टिप्पणी सांसदहरूको छ। जनप्रतिनिधिहरूको सर्वोच्च निकाय प्रदेश सभाको गरिमा र यसको संवैधानिक आधारलाई कमजोर बनाउने गरी मुख्यमन्त्रीबाटै यस्तो खालको सार्वजनिक अभिव्यक्ति आउनु परिपक्व राजनीतिक शैली नभएको भन्दै राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। यसले प्रदेश सरकारको स्थायित्व र सङ्घीयता कार्यान्वयनमा मुख्यमन्त्रीको आफ्नै प्रतिबद्धतामाथि समेत ठुलो संशय पैदा गरिदिएको छ।
Shares

प्रतिक्रिया