इमेज टेलिभिजनबाट प्रसारण हुने ‘उकाली-ओराली’ कार्यक्रमकी प्रस्तोता रूपा सुनार मंगलबार दिउँसो बबरमहलस्थित एक घरमा भाडामा कोठाको कुरा गर्न गइन्।
बबरमहलमै आमासँग कोठामा बसिरहेकी २४ वर्षीया सुनार कोठा सर्ने सोचले हाल बसिरहेको घरभन्दा केही परको घरमा कोठा हेर्न गइन्। साथीहरूले कोठा खाली छ भन्ने खबर दिएपछि उनी त्यहाँ गएकी थिइन्।
घरबेटी प्रधान थरका रहेछन्। रूपालाई कोठा मन परेपछि कुरा अगाडि बढ्यो। घरबेटीले हल्ला गर्ने, अबेला आउने, मान्छे धेरै ल्याउनेजस्ता काम गर्न पाइन्न भनिन्।
त्यसपछि रूपाले आफू पढ्ने र काम गर्ने मान्छे भएकाले त्यस्तो नहुने बताइन्। दुवै पक्षबीच कुरा मिल्यो। अर्थात् भाडामा बस्ने र राख्ने पक्कापक्की भयो।
तर अन्तिममा घरबेटीले रूपाको जात सोधिन्। उनले सीधै भनिन्, ‘म कामीकी छोरी हुँ।’
त्यसपछि भने घरबेटी अकमक्क परिन्। केही बेर बोलिनन्। अनि अनकनाउँदै भनिन्, ‘तपाईंको नम्बर दिनू न, म तपाईंलाई पछि खबर गर्छु।’
दिइसकेको कोठा जब जात सुन्नेबित्तिकै घरबेटीले पछि खबर गर्छु भनिन्, तब रूपाले थाहा पाइन्, मेरो जातकै कारण उनले कोठा नदिने विचार गरिन्। रूपालाई गम्भीर मानसिक पीडा भइसकेको थियो। तैपनि साथीहरूको अगाडि उनले आफूलाई सामान्य देखाउने प्रयास गरिन्। र, साथीसँगै पुरानो कोठा फर्किइन्।
रूपाका अनुसार केही बेरपछि घरबेटीले उनकी साथीलाई फोन गर्दै कोठा नदिने कुरा गरिन्।
सुन्नुहोस्, घटना विवरण पीडितकै मुखबाट (नोट: यो मंगलबार दिउँसोको घटना हो) :
तनहुँ घर भएकी सुनार ‘जात व्यवस्था उन्मूलन मोर्चाकी बागमती–गण्डकी सम्पर्क समिति’की संयोजक पनि हुन्।
यसैबीच उक्त मोर्चाको बागमती उपत्यका सम्पर्क समितिले विज्ञप्ति जारी गर्दै दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ।
समितिका संयोजक महावीर विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कमरेड रूपा सुनारलाई न्याय एवं जातीय विभेद गर्ने सरस्वती प्रधानलाई कानुनी कारबाहीको भागीदार बनाउनाका लागि आआफ्ना ठाउँबाट भूमिका खेलिदिनहुन हामी विभिन्न राजनीतिक दल, दलित समुदायको उत्पीडनमा केन्द्रित रहेर कार्यरत तिनका जनवर्गीय संगठनहरू, मानवअधिकारवादी संघ/संगठन, नागरिक समाज, सञ्चारमाध्यम एवं सम्पूर्ण न्यायप्रेमी व्यक्ति एवं संघ संगठनहरूमा अनुरोध गर्दछौं।’
प्रतिक्रिया