राजनीति


ओली–नेपाल भेटवार्ताले आशा पलायो : गोकर्ण विष्ट

ओली–नेपाल भेटवार्ताले आशा पलायो : गोकर्ण विष्ट

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार ४:३,

नेकपा एमालेका सचिव गोकर्ण विष्टले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको भेटवार्ताले पार्टी एक हुने आशा पलाएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा बिहीबार बिहान वक्तव्य जारी गर्दै उनले द्वन्द्वरत दुई नेतबीच लामो समयपछि भएको छलफलले कार्यकर्ताहरूमा उत्साह छाएको बताएका हुन्।

‘हिजो साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव नेपालबीच छलफल भएको छ,’ वक्तव्यमा उनले लेखेका छन्, ‘कालो बादलमा चाँदीको घेरा भेटिएझैं कार्यकर्ताहरूमा आशा पलाएको छ।’

‘जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ’ भन्ने विलियम शेक्सपियरको भनाइ उद्धृत गर्दै उनले जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान सम्भव हुने विश्वास व्यक्त गरेका छन्।

साथै बेलैमा होस् नपुर्‍याए समयले कसैलाई नपर्खिने चेतावनी पनि उनले दिएका छन्। वक्तव्यमा भनेका छन्, ‘हेक्का राखौं, समय र समुद्रको छालले कसैलाई पर्खंदैन।’

आज नेपाल कम्युनिस्ट पार्टीको ७२औं स्थापना दिवसको स्मरण गराउँदै उनले हजारौं योद्धाको रगत/पसिनाबाट निर्मित पार्टीको एकता जोगाउने संकल्प गर्न सम्बन्धित सबैलाई आह्वान पनि गरेका छन्।

उनले भनेका छन्, ‘आन्दोलनको रक्षार्थ निरन्तर प्रयत्न गरौं।’

लोमा समय कुराकानी नगरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच हिजो मेरिएट होटलमा झन्डै २ घण्टा छलफल भएको हो। छलफल सकेर बाहिर निस्किँदा दुवै नेता प्रसन्न मुद्रामा देखिएको प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताए पनि उनीहरूबीच के कुरा भयो भन्नेबारे केही सार्वजनिक भइसकेको छैन।

पूर्वमन्त्रीसमेत रहेका एमाले सचिव विष्ट माधव नेपाल पक्षका नेता हुन्। अध्यक्ष ओलीले नेता नेपालसहित २७ सांसदलाई स्पष्टीकरण मागेका भए पनि विष्टलाई मागेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .