समाज


छठ पर्व सुरु, यस्तो छ विधि

छठ पर्व सुरु, यस्तो छ विधि

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ०:१०,

धार्मिक एवं लोकआस्थाको पर्व छठ आज (बुधबार) विधिवत् रूपमा सुरु भएको छ।

खासगरी तराई क्षेत्रमा धुमधामका साथ मनाइने यो पर्व काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि लोकप्रिय हुँदै गएको छ।

तराई क्षेत्रमा पर्ने प्रदेश २ का धेरैजसो जिल्ला प्रशासन कार्यालयले यसपटक कोरोना महमारी भएकाले आआफ्नै घरमा छठ पर्व मनाउन आग्रह गरेका छन्। कतिपय जिल्लामा जलाशयमै जाने भए पनि एउटा परिवारबाट व्रतालुसमेत गरेर २ जनासम्म मात्रै जान आग्रह गरिएको छ।

स्थानीय प्रशानसले छठ घरमै मनाउन आग्रह गरे पनि व्रतालुले सार्वजनिक र निजी जलाशयमा घाट निर्माण गरेका छन् भने कोरोना संक्रमण हुने जोखिमका कारण कतिपयले भने आफ्नै घरको परिसरमा चारकुने खाल्डो खनी त्यसमा पानी भरेर जनाशयको रूप दिएका छन्।

भगवान् सूर्यको पूजाअराधना गर्ने यो पर्व विधिवत् रूपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात् आज (बुधबार) सुरु भएको हो। अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने व्रतालुले शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रूपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन्।

पञ्चमी तिथिमा दिनभर उपवास बसेर साँझपख नयाँ माटोको चुल्होमा खीर पकाउँछन्। त्यसपछि घरको देवीदेवतालाई चढाइएको खीर प्रसादका रूपमा व्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ। यस विधिलाई खरना भनिन्छ।

भगवान् सूर्यलाई अर्घ अर्पण गर्ने व्रतालुले पञ्चमी तिथिभर उपवास बसी साँझ मात्र प्रसाद ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिन्छन्। त्यसपछि सप्तमी तिथिको बिहानसम्म अर्थात् कम्तीमा ५० घण्टासम्म उपवास बस्नुपर्ने हुन्छ।

त्यसपछि षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ। भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि विधिवत् रूपमा पर्व सम्पन्न हुन्छ।

यस पर्वमा सूर्यलाई प्रसादका रूपमा ठेकुवा, भुसुवा, केरा, मिठाई, उखु, नरिवल, पान, सुपारीलगायत सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ। यो व्रत एकपल्ट लिएपछि प्रत्येक वर्ष लिनुपर्छ भन्ने मान्यता छ।

आफ्नो तथा परिवारको मनोकांक्षा पूर्ति, आरोग्यता, सुख र शान्ति प्राप्तिका लागि यो व्रत लिने गरिन्छ।

परिवारमा कोही उपवास बस्न नसक्ने अवस्थामा छन् भने व्रत व्यत्तिःले उनीहरूका तर्फबाट प्रसाद सूर्यलाई अर्पण गर्न सकिने धार्मिक व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .