नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग हात मिलाएपछि तत्कालीन पाँच दलीय गठबन्धन टुटिसकेको छ।
मंसिर ४ को निर्वाचनमा गठबन्धन गरेर लडेको माओवादीले एमालेसँग सहकार्य गरेपछि नेपाली कांग्रेस अचानक संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगेको छ।
करिब डेढ वर्ष सत्ताको नेतृत्व गरेका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सरकारी निवासबाट निस्किएर धुम्बाराहीस्थित भाडाको घरमा पुगिसकेका छन्।
बूढानीलकण्ठस्थित निजी घरमा मर्मत चलिरहेकाले धुम्बाराही सरेका देउवानिवासमा नेता कार्यकर्ताको भिड उस्तै छ।
बुधबार बिहान नेपालखबरकर्मी त्यहाँ पुग्दा देउवालाई भेट्न कुरिरहेका कांग्रेसका दर्जनौँ नेता कार्यकर्ता बसिरहेका थिए।
देउवा निवासमा नेता डा. शेखर कोइराला, डा. शशांक कोइराला, दिलेन्द्र बडू, डा. प्रकाशशरण महत, सुनिल थापा, रमेश लेखकसहितका शीर्ष नेता बिहानै जम्मा भइसकेका थिए।
अर्कातिर जिल्ला जिल्लाबाट आएका कांग्रेसका कार्यकर्ताहरु पनि देउवालाई भेट्न प्रतिक्षारत थिए।
देउवा सत्तामा हुँदा बालुवाटारमा लाग्ने गरेको भिड अहिले धुम्बाराही सरेको छ। देउवाले नेता कार्यकर्तालाई बस्न सहज हुने गरी ठूलो क्षेत्र भएको घर भाडामा लिएका छन्।
प्रतिक्रिया