राजनीति


मधेसमा मन्त्रालय भागबण्डामा अझै जुटेन सहमति

मधेसमा मन्त्रालय भागबण्डामा अझै जुटेन सहमति

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १३:३७, काठमाडौँ

सत्ता गठबन्धनका दलहरुबीच सहमति नहुँदा मधेस प्रदेशमा अझै सरकार विस्तार हुन सकेको छैन। 

यही कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री जितेन्द्र सोनल लागेका छन्। 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा गएको असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए भने असोज ३० गते उनले शपथ लिएका थिए।  

मुख्यमन्त्री नियुक्त हुँदा सोनललाई जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्रको ९, लोसपाका ८ र नेकपा एकीकृत समाजवादीको ७ सांसदले समर्थन गरेका थिए। एकसय सात सदस्यीय मधेस प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ। 

मधेसमा प्रदेश सभामा एमालेको २५, कांग्रेसको २२ र राप्रपाको १ सिट छ। सोनलले दुई ठूला दल कांग्रेस र एमालेलाई बाहिर राखेर सरकार बनाएका हुन्।

तर, यसबीचमा जनमत पार्टी विभाजन भएको छ। जनमत विभाजन हुँदा निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साहले फरक दल रोजेका छन् भने अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि जसपाका सांसद सरोजकुमार सिंह निलम्बनमा परेका छन्। 

२२ गते विश्वासको मत लिँदा जनमतसँग अलग भएर बनेको जनस्वराज पार्टी रोजेका सिंह र साहले सोनललाई मत दिने नदिने निश्चित छैन। 

यदि सिंहसहितका दुई सांसदले मत नदिएको अवस्थामा बहुमत सिद्ध गर्न नसकिने देखेर मुख्यमन्त्री सोनलले मन्त्रीपरिषद् विस्तारमा ढिलाई गरेका हुन्। 

त्यसबाट पार पाउन उनले एकएक जना सांसद भएका नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टीका दुई सांसदलाई गठबन्धन्धमा सामेल गरेका छन्। 

तर, सोनलाई समर्थन गरेकी नागरिक उन्मुक्तिकी सांसद प्रमिला देवी सिंह र संघीय समाजवादीकी विमला अन्सारीलेसमेत मन्त्री दाबी गरेपछि सोनल अप्ठ्याराेमा परेका एक सांसदले जानकारी दिए। 

मधेसमा सत्ता साँझेदारीको सहमती गरेका मुख्य शक्तिहरु जसपा, जनमत, माओवादी केन्द्रसहितका दलबीच नै अझै मन्त्रालय भागबण्डा मिलेको छैन।

अर्थ, भौतिक पूर्वाधार, ऊर्जा, स्वास्थ्य जस्ता लिडिङ मन्त्रालयमा अझै उनीहरुबीच सहमती जुट्न बाँकी छ। तर, मुख्यमन्त्री सोनलले भने २२ गते विश्वासको मत लिएपछि सहज ढंगले मन्त्रिपरिषद् विस्तार हुने बताए। 

स्रोतका अनुसार जसपालाई भौतिक पूर्वाधार, जनमतलाई अर्थ, माओवादी केन्द्रले ऊर्जा मन्त्रालय लिनेगरि छलफल चलिरहेको छ। तर, भौतिक पूर्वाधार मन्त्रालयमा जसपा र जनमत दुवै पार्टीको दाबी छ। 

मुख्यमन्त्रीमा शपथ लिएकै दिन (असोज ३० गते) एकीकृत समाजवादी र जनमतबाट दुईमन्त्री  नियुक्त गरेका मुख्यमन्त्री सोननले उनीहरुको मन्त्रालय पनि अझै टुंग्याएका छैनन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad