सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई सरकारले झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै माओवादी केन्द्र सर्लाहीले आज जिल्लामा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेको छ।
सर्लाहीको हरिवनबाट सुरु भएको मोटरसाइकल र्यालीले केही बेरअघि लालबन्दीमा पुगेर जिल्ला वन कार्यालय घेराउ गरेको छ।
बागमतीमा मेयर थापा र उपमेयर लीला मोक्तानलाई सरकारले झुटा वन मुद्दामा फसाउन खोजेको आरोप माओवादीले लगाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि हाल मेयर थापा र उपमेयर मोक्तान निलम्बित अवस्थामा छन्।
बागमती नगर क्षेत्रको खाली पर्ती जग्गामा सुकुम्बासी बस्ती बसाएको आरोपमा जिल्ला वन कार्यालयले थापा र मोक्तानविरुद्ध वन मुद्दा दायर गरेपछि माओवादी केन्द्र आन्दोलनमा उत्रिएको हो। माओवादीले राजनीतिक प्रतिशोधको आधारमा मेयर थापा र उपमेयर माेक्तानलाई झुटा वन मुद्दा लगाएर फसाउन खोजेको आरोप लगाएको छ।

यसअघि माओवादीले मधेस प्रदेशका मुख्यमन्त्री र वनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जनप्रतिनिधिलाई झुटा मुद्दामा फसाउने षड्यन्त्र नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो।
उसले मोटरसाइकल र्याली, वन कार्यालयमा विरोध प्रदर्शन, धर्ना, मशाल जुलुस, जनसभा, बन्द र आम हड्तालसम्मका कार्यक्रम घोषणा गरेको छ।
Shares

प्रतिक्रिया