राजनीति


मधेस सरकारलाई दिएको समर्थन एमालेले आज फिर्ता लिने

मधेस सरकारलाई दिएको समर्थन एमालेले आज फिर्ता लिने

मधेस प्रदेश एमाले संसदीय दलका नेता सरोज यादव/फाइल तस्बिर


नेपालखबर
फागुन ६, २०८० आइतबार १२:४०, काठमाडौँ

नेकपा (एमाले) ले मधेस सरकारलाई दिएको समर्थन आज फिर्ता लिने तयारी गरेको छ। 

गएको जेठमै सरकारबाट बाहिरिएको एमालेले आज मुख्यमन्त्री सरोज कुमार यादवलाई यसअघि पार्टीले दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो।

सरकारमा रहेको जनमत पार्टीले एक महिना अघि समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज मधेस प्रदेशसभाबाट तेस्रोपटक विश्वासको मत दिने तयारी गरेका छन्।

विश्वासको मत लिने प्रयोजनको लागि आइतबार दिउँसो २ बजे प्रदेशसभाको बैठक बोलाइएको छ। 

यादवलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न केही बेरमा एमाले संसदीय दलको बैठक बस्दैछ। 

‘हामी अहिले जनकपुरस्थित पार्टी कार्यालयमै छौँ,’ एमाले प्रदेशसभा सदस्य शारदा थापाले नेपालखबरसँग भनिन्, ‘सम्भवतः केही बेरमा बस्ने बैठकले मुख्यमन्त्रीलाई यसअघि दिएको समर्थन फिर्ता लिने छ।’

एमालेले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री यादवलाई सुविधाजनक बहुमत कायमै रहने सम्भावना छ। 

‘हामीले समर्थन फिर्ता लिए पनि बहुमत कायम गर्न सरकारलाई केही असर पर्ने देखिँदैन,’ थापाले भनिन्, ‘तर, अब हामी सरकारलाई समर्थन कायम राख्ने पक्षमा छैनौँ।’

स्रोतका अनुसार जनमत पार्टीले मधेस प्रदेशसभामा प्रमुख प्रतिपक्षीको बेन्चमा दाबी गरेपछि एमालेले समर्थन फिर्ता लिन लागेको हो।

जसपा नता यादव २७ पुस २०७९ मा नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा र नेपाल संघिय समाजवादी पार्टीका ६३ प्रदेशसभा सदस्यको समर्थनमा यादव मधेस सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए। १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ। 

हाल एमाले र जनमत पार्टी यादवको विपक्षमा रहे पनि कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दलको समर्थन उनलाई छ। 

हाल मधेस प्रदेशसभामा सत्ता गठबन्धन दलका ६५ सांसद छन्। कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९(९ र एकीकृत समाजवादीका ७ जना सांसद मधेस प्रदेश सभामा छन्। 

मधेश प्रदेश सभामा एमालेका सबैभन्दा धेरै २४ जना सांसद छन्। मधेस सभामा जनमत पार्टीका का १३ जना सांसद छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .