ad ad

राजनीति


को को छन् मधेस प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी

को को छन् मधेस प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १८:०, काठमाडौँ

मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ। 

प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ। यद्यपि दलगत हिसाबमा नेकपा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेका छन् भने समानुपातिकतर्फ कांग्रेस पहिलो र एमाले दोस्रो भएका छन्। 

मधेश प्रदेशमा सत्ता गठबन्धनका दलले प्रत्यक्ष र समानुपातिक गरी ४६ सिट जितेका छन्। जसमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १३ र समानुपातिकमा नौ गरी कूल २२ सिट जितेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रत्यक्षमा सात र समानुपातिकमा दुई गरी नौ सिट जितेको छ। त्यसैगरी नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा चार र समानुपातिकमा तीन गरी सात सिट जितेको छ भने नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा चार र समानुपातिकमा चार गरी कूल आठ सिट जितेको छ। 

त्यसैगरी एमाले र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनले प्रत्यक्ष र समानुपातिक गरी ३८ सिट जितेको छ। जसमा एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा आठ गरी २३ सिट र जसपाले प्रत्यक्षतर्फ नौ र समानुपातिकमा छ गरी १५ सिट जितेको छ।

प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी एक सय सात सिट सङ्ख्या छ। सरकार बनाउन सामान्य बहुमतका लागि कम्तीमा ५४ सिट आवश्यक पर्छ। यसका लागि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारलाई समावेश गराउनुपर्ने बाध्यता दुवै गठबन्धनलाई छ। 

पहिलोपटक निर्वाचनमा सहभागी जनमत पार्टीसँग प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिट सङ्ख्या छ भने प्रदेशमा ६ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। 

यस आधारमा सत्ता गठबन्धनलाई सरकार बनाउन आठ सांसद आवश्यक छ भने एमाले गठबन्धनलाई १६ सांसद आवश्यक पर्छ। तर हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच सत्ता गठबन्धनमा आउनका लागि सहमति भएसँगै सत्ता गठबन्धनकै सरकार बन्ने सम्भावना बढेको छ। 

यसैबीच राजनीतिक दलहरुबीच को मुख्यमन्त्री हुने भन्नेमा पनि चर्चा सुरु भएको छ। नेकपा एमालेका मधेस प्रदेश सहइन्चार्ज सुमनराज प्याकुरेल पहिलो दलका हिसाबले आफ्नो पार्टीको सरकार बन्नुपर्ने बताउँछन्। एमालेभित्र मुख्यमन्त्रीका लागि डा सरोज यादव, रामचन्द्र मण्डल, राजकुमार लेखीको नाम चर्चामा छ। 

त्यस्तै, नेपाली कांग्रेस मधेस प्रदेशका सूचना तथा सञ्चार विभाग प्रमुख नितेशकुमार गुप्ताले मुख्यमन्त्रीका प्रबल दाबेदार प्रदेश सभापति एवं प्रदेशसभा सदस्य कृष्णप्रसाद यादव रहेको बताए। यादवकै नेतृत्वमा सरकार बन्नुपर्ने गुप्ताको दाबी छ। यद्यपि कांग्रेसभित्र पनि रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह मुख्यमन्त्रीका आकांक्षी छन्। 

यस्तै, जनता समाजवादी पार्टीबाट सरोजकुमार यादव, राजकुमार गुप्ता, रामअषिस यादवको नाम मुख्यमन्त्रीका रूपमा चर्चामा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .