राजनीति


समानुपातिकबाट ८ जना पर्दा एकै पटक रुपन्देहीका १३ सांसद

समानुपातिकबाट ८ जना पर्दा एकै पटक रुपन्देहीका १३ सांसद

प्रदीप आचार्य
चैत २, २०८२ सोमबार १५:३१, बुटवल

केन्द्रीय राजनीतिमा बलियो प्रभाव पार्ने एमाले, कांग्रेस, राप्रपाका नेताहरुको गृहजिल्ला रूपन्देही अहिलेको परिस्थीतिमा पनि बलियो राजनीतिक केन्द्र बन्ने देखिन्छ । किनकी यहाँबाट संघीय संसदमा १३ जना सांसदहरू पुग्दैछन् । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा अन्य ८ जना समानुपातिकबाट पर्दा रुपन्देहीमा १३ सांसद पुग्न सफल भएका हुन् । राजधानी बाहिरबाट  एकै  जिल्लाका यति धेरै सांसद परेकाे सम्भवत याे पहिलाे पटक हाे । 

प्रत्यक्षमा पाँचजटै क्षेत्र जितेको रास्वपाबाट मात्रै ११ सांसद छानिएका छन् भने नेपाली कांग्रेसबाट १ र राप्रपाबाट १ जना छानिएका छन् । जसमध्ये महिला ६ जना र पुरुष ७ जना रहेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम मतगणनाअनुसार ६ वटा दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘थ्रेसहोल्ड’ कटाएका छन् ।  

यी पार्टीले आफ्ना समानुपातिक उम्मेदवार टुंगो लगाएपछि रुपन्देहीमा १३ सांसद छिर्ने पक्का भएका हुन् । सबै क्लस्टर मिलाउँदा रास्वपाले समानुपातिकबाट पनि रुपन्देहीका ६ जना सांसद पाएको छ भने नेपाली कांग्रेसले १ र राप्रपाले १ सांसद पाएका छन् । छानिएका मध्ये ६ जना महिला र ७ जना पुरुष रहेका छन्।

प्रत्यक्षबाट निर्वाचित सांसद
रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवार विजयी भएका छन्।  रूपन्देही–१ मा सुनिल लम्सालले ५४ हजार ८४५ भोट लिएर निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हिराबहादुर खत्रीलाई ४२ हजार  ८६३ मतले पराजित गर्दै जित हासिल गरे।

रूपन्देही–२ मा सुलभ खरेलले ५६ हजार ५५० भोट प्राप्त गरे। उनका निकटतम प्रतिष्पर्धी एमालेका विष्णुप्रसाद पौडेलले ४३ हजार ६८९ मतले हराए। रूपन्देही–३ मा डा. लेखजंग थापाले ५८ हजार ८१४ भोट पाए। उनका सबै प्रतिस्पर्धीले १० प्रतिशत मत पनि नपाउँदा निकटतम प्रतिद्वन्द्वी सुशील गुरुङलाई ५० हजार ३७९ मतले पराजित गरे।
 
रूपन्देही–४ मा कन्हैया बनियाँले २८ हजार ०६६ भोट लिएर नेकपा एमालेका प्रमोद कुमार यादवलाई ७ हजार ८०४ बढि मतले पराजित गरे। रूपन्देही–५ मा तौफिक अहमद खानले ३८ हजार  ८०६ भोट प्राप्त गर्दै एमालेका खिमलाल भट्टराईलाई २५ हजार ७०६ मतले पराजित गर्दै जित हात पारे। यी सबैजना पहिलोपटक संसद छिर्दैछन्।

 
समानुपातिकबाट कांग्रेसकी गंगा शाही
नेपाली कांग्रेसले निर्वाचन आयोजमा पठाएको सांसदहरूको नाममा गंगा शाहीको नाम समावेश गरिएको छ। कांग्रेसकी केन्द्रीय सदस्य भइसकेकी शाही खसआर्य महिलाबाट सिफारिस भएकी हुन्। उनी जिल्लामा लामो समयदेखि पार्टी राजनीति गरेकी हुन् । पाँचवटै निर्वाचन क्षेत्र गुमाएको कांग्रेसले एउटामात्रै सांसद पाएको हो।

शाहीले रुपन्देहीको विकासमा पहल गर्ने र प्रश्न उठाउने ठाउँमा प्रवेश गरेको बताईन्। अहिले प्रतिपक्षमा नै बस्ने जनमत आएकोले सोही स्थानमा उभिएर निरन्तर खबरदारी गर्ने उनको धारणा छ।
 

व्यवसायी पुनमकुमारी 
रास्वपाकाे मधेशी महिला कोटाबाट संसद छिर्न लागेकी पुनमकुमारी अग्रवाल रुपन्देहीको भैरहवाकी युवा उद्यमी तथा समाजसेवी हुन् । मेडिकल बायोलोजीमा स्नातकोत्तर अध्ययन गरेकी उनी दानेदार अर्गानिक मल उद्योगकी सञ्चालक पनि हुन्, जसले किसान र माटोको स्वास्थ्य सुधारमा काम गर्दै आएको छ। उनी विगतमा मेडिकल कलेजमा अध्यापनसमेत गर्थिन् । उनी सामाजिक काम तथा गरिब–विपन्नलाई सहयोग गर्ने कार्यमा पनि सक्रिय छिन्।
 
सहकारी अभियान्ता ज्ञानु 
सहकारी अभियानबट सामाजिक सेवामा लागेका ज्ञानु पौडेल अब राष्ट्रिय राजनीतिमा पुगेकी छिन्। रास्वपाबाटै राजनीतिक सक्रियाता शुरू गरेकी पौडेल जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष हुन् । 
उनले सहकारीमार्फत समुदायमा बचत, ऋण र विकासका काम गर्दै नागरिकसँग नजिकको सम्बन्ध बनाइन् । सामाजिक सेवाबाट प्रेरित भई राजनीतिमा सक्रिय बनेकी उनी जनताको विश्वासका कारण संसदसम्म पुग्न सफल भएकी छन् । 

एमाले त्यागेकी श्रद्धा 
नेकपा एमालेनिकट युवा संघको केन्द्रीय सदस्य त्यागेर रास्वपाको राजनीतिमा होमिएकी श्रद्धा कुँवर सामाजिक अभियन्ता र राजनीतिमा सक्रिय व्यक्तित्व हुन् । १६ वर्षको उमेरदेखि विभिन्न सामाजिक संघ–संस्थामा नेतृत्वदायी भूमिका निभाउँदै आएकी उनी लायन्स इन्टरनेशनल अन्तर्गत पहिलो महिला जिल्ला परिषद् अध्यक्ष पनि बनेकी छन्।

उनले परी नेपाल फाउन्डेशन की संयोजकका रूपमा महिला तथा बालबालिकाको क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएकी छन्। साथै उनी आत्मरक्षा तथा ‘गुड टच ब्याडटच’ सम्बन्धी प्रमाणित प्रशिक्षक पनि हुन् । संगठन नै नभएको क्षेत्र रूपन्देही १ मा रास्वपालाई जिताएको भन्दै उनको प्रशंसा समेत भएको छ।

माओवादी–एमाले हुँदै रास्वाप मञ्जुको फड्को  
व्यवसायीक पृष्ठभुमिका मञ्जु भुसाल र अमृता बिक पनि संसद छिर्दैछन् । मञ्जु निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्ष हुन् । तत्कालिन माओबादीकेन्द्रबाट राजनीति शुरु गरेकी उनी एमाले हुँदै रास्वपाको समर्थनबाट संसद छिर्दैछिन् । एमालेको तर्फबाट सक्रिय राजनीति गरिरहेकी मञ्जुले रास्वपाको तर्फबाट समानुपातिक उम्मेदवार बन्ने भएपछि राजिनामा दिएकी थिइन। 
 

सुन चाँदी व्यवशायी अमृता 
दलित महिलाकोटाबाट संसद छिर्न लागेकी अमृता विश्वकर्मा सुनचाँदी व्यवसायी हुन् । अर्घाखाँची पोखराथोकमा जन्मिएकी अमृतासँग सुनचाँदी व्यवसायीको रूपमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ । लायन्स क्लब अफ होम भृकुटीमा पास्ट प्रेसिडेन्ट र सीनियर डिस्ट्रिक्ट एडभाइजरको रूपमा काम गरिसकेकी अमृता विपन्न र आवश्यकतामा परेकाहरूलाई सहयोग गर्दै सामाजिक सेवामा पनि सक्रिय छन् ।
निर्वाचन अभियानमा उनी दलित महिला, विपन्न समुदाय र साना व्यवसायीका समस्या समाधानलाई प्राथमिकतामा राख्दै राजनीतिको माध्यमबाट समाजसेवा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएकी छन् ।

बालेनका सहयोगी सुदिप 
रास्वपाका वरिष्ठ नेता काठमाण्डौ महानगरको नगरप्रमुख भएकोबेला संगै काम गरेका सुदिप ढकाल पनि संसद छिर्दै छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा काम गरेका उनले तिलोत्तमा नगरपालिकाको आईटी अधिकृत÷फोकल पर्सनको रूपमा काम गरेका थिए । उनी स्थानीय तहको प्रविधि वा सूचना–प्रविधि समन्वयको जिम्मेवारीमा काम गर्थे । उनी पछि काठमाण्डौ महानगरपुगेपछि बालेनसँग नजिक भएका थिए । 

राप्रपाबाट ताहिर अलि
राप्रपाका चर्चित नेता स्व. दिपक बोहराको गृहजिल्ला रुपन्देहीबाट राप्रपाले ताहिर अलिलाई सांसदको रुपमा पाएको छ । बोहराका दुई छोरा प्रत्यक्षमा रुपन्देही १ र ३ बाट लडे पनि पराजित भएका थिए । बोहराकी नातिनि सवाती थापा समानुपातिकमा भए पनि सांसद बनिन् । ताहिर अली राप्रपा रुपन्देहीमा अग्रपंक्तिमा आउने नाम हो । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad