ad ad

राजनीति


लुम्बिनीमा शपथ खुवाउन फेरि प्रदेश प्रमुख नै मुख्यमन्त्रीकहाँ!

आज मुख्यमन्त्री लीला गिरी र केही मन्त्रीले शपथ खाँदै
लुम्बिनीमा शपथ खुवाउन फेरि प्रदेश प्रमुख नै मुख्यमन्त्रीकहाँ!

वर्तमान प्रदेश प्रमुख अमिक शेरचन र पूर्वप्रदेश प्रमुख धर्मनाथ यादव।


सुदीप भण्डारी
पुस २८, २०७९ बिहिबार १०:३४, बुटवल

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको शपथ खाँदै छन्। एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरी बुधबार मुख्यमन्त्री भएका हुन्। प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई नियुक्ति बुटवलमा रहेको आफ्नै कार्यालयबाट दिए पनि शपथ खुवाउन भने स्थायी राजधानी देउखुरी पुगेका छन्। 

मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ खुवाउने कार्यक्रम प्रदेश प्रमुखको कार्यालयले आयोजना गर्ने गर्छ। शपथ खुवाउनेले नै आफ्नो कार्यालयमा समारोह आयोजना गर्ने चलन छ। तर लुम्बिनीमा दोस्रोपटक शपथ खुवाउन प्रदेश प्रमुख नै मुख्यमन्त्रीकहाँ पुग्नुपरेको छ। 

यसअघि २०७८ वैशाखमा शंकर पोखरेल दोस्रोपटक मुख्यमन्त्री बन्दा प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा ल्याएर शपथ खुवाउन लगाएका थिए। विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याएपछि पोखरेलले पदबाट राजीनामा दिएर पुनः मुख्यमन्त्री पदमा दाबी गरेका थिए। अर्कातर्फ माओवादी केन्द्रका कुलप्रसाद केसीले बहुमत देखाएर दाबी पेस गरेका थिए। दुई पक्षबीच सांसद तानातानको खेल पनि भएको थियो। कांग्रेस, माओवादी केन्द्रले प्रदेश प्रमुख कार्यालयमा धर्ना दिएपछि शंकर पोखरेलले तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवलाई मुख्यमन्त्री कार्यालयमा बोलाएर शपथ खाएका थिए। 

शंकर पोखरेलले शपथ खाँदा

तर यसपटक परिबन्दमा परेर प्रदेश प्रमुख मुख्यमन्त्री कार्यालय भएको ठाउँमा पुगेका भने होइनन्। प्रदेश राजधानीका संरचना देउखुरीमा स्थापना भइसकेको छ। मुख्यमन्त्री कार्यालय तथा मन्त्रालय त्यहीँ राखिएका छन्। मुख्यमन्त्री र मन्त्रीहरूको सुविधाका लागि प्रदेश प्रमुख शेरचन आफैँ देउखुरी पुगेका हुन्।

तर यसले प्रदेश प्रमुखको ओज घटाएको र हलुकापन देखिन सक्ने राजनीतिशास्त्री डा. बुद्धबहादुर थापा बताउँछन्। ‘राजधानी सारेको हिसाबले उता जाँदा सबै खुसी हुन्छन् भन्ने हिसाबले प्रदेश प्रमुख जानुभएको होला। तर आफ्नै कार्यालयमा समारोह गर्दा ओजपूर्ण हुन्थ्यो’, उनले भने, ‘जसलाई शपथ गराउने हो उतै जाँदा अलिकति हलुकापन देखियो। दबाबमा पर्नुभयो कि भनेर शंका गर्ने ठाउँ पनि रह्यो।’ 

तर विगतमा शंकर पोखरेलसँग भने अहिलेको अवस्था तुलना गर्न नमिल्ने थापाको भनाइ छ। ‘पोखरेलले गर्नुभएको कार्यचाहिँ निर्लज्ज प्रकारको थियो। त्यससँग अहिलेको अवस्था तुलना गर्नचाहिँ मिल्दैन’, उनले भने। 

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव चिरञ्जीवी पौडेलले प्रदेश प्रमुख कार्यालयमै शपथ समारोह आयोजना गर्ने प्रचलन भए पनि केही अपायकका कारण देउखुरीमा आयोजना गरिएको बताए। ‘खासमा प्रचलन र परम्पराअनुसार प्रदेश प्रमुखकै कार्यालयमा हुनुपर्ने हो। अहिलेसम्म भइरहेको पनि हो’, उनले भने, ‘मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरू पनि यता (देउखुरी) आए। सबैलाई अपायक पर्ने पदबहाली गर्न पनि बुटवलबाट यहाँ आउनपर्ने भयो। त्यसैले यता देउखुरीमा शपथग्रहण समारोह आयोजना गर्‍यौँ।’ 

देउखुरीमा प्रदेशसभाको प्रांगणमा पाल टाँगेर शपथ समारोह आयोजना गरिँदै छ। आज दिउँसो १ बजे हुने समारोहमा मुख्यमन्त्री लीला गिरी र केही मन्त्रीले शपथ खाँदै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .