राजनीति


संसद् विघटन थप संकटबाट देश जोगाउन गरिएको ‘ड्यामेज कन्ट्रोल’ : शेखर कोइराला

संविधानले प्रत्यक्ष निर्वाचित कार्यकारी स्वीकार नगर्ने जिकिर
संसद् विघटन थप संकटबाट देश जोगाउन गरिएको ‘ड्यामेज कन्ट्रोल’ : शेखर कोइराला

सुमन सुस्केरा
असोज ४, २०८२ शनिबार १४:४०, विराटनगर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासमा भएको आगजनीलाई ऐतिहासिक धरोहरमाथिको आक्रमण भनेका छन्। 

शनिबार जलेका घरहरूको अवलोकन गर्दै उनले लोकतान्त्रिक आन्दोलन पुनः त्यहीँबाटै अघि बढाउने घोषणा पनि गरेका छन्। 

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा कोइराला निवासमा पनि आगजनी गरिएको हो। 

नेता कोइरालाले हालै भएको संसद् विघटन संविधानसम्मत नदेखिए पनि परिस्थितिजन्य रूपमा देशलाई थप संकटबाट जोगाउन गरिएको ‘ड्यामेज कन्ट्रोल’ भएको बताए।

कोइरालाले अब देशलाई निष्पक्ष चुनावमार्फत अघि बढाउनुपर्नेमा जोड दिँदै निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व भएको बताए।

‘यो सरकारको अर्को विकल्प छैन, निर्वाचनमै केन्द्रित हुनुपर्छ’, उनले भने। 

उनले आगामी २१ फागुनमा हुने निर्वाचनका लागि कार्यकर्तालाई जुट्न आह्वान पनि गरे।

जेनजी आन्दोलन हुनुमा राजनीतिक दल र सरकारको कमजोरी रहेको स्वीकार गर्दै कोइरालाले भ्रष्टाचार र कुशासनविरुद्ध उठेका आवाजलाई समयमै सम्बोधन नगर्दा आजको अवस्था आएको बताए। 

यस क्रममा उनले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग पनि गरे।

नेता कोइरालाले कांग्रेसमा युवाको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

‘युवाहरूलाई स्थान दिनुपर्ने कुरा स्वीकार्य छ, तर उनीहरूको वास्तविक आकांक्षा बुझेर मात्रै अघि बढ्नुपर्छ,’ उनले भने।

आफ्नो निवासमा भएको आगजनी स्मरण गर्दै कोइराला भावुक बने।

उनले उक्त घरलाई व्यक्तिगत सम्पत्ति मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलनको प्रतीक रहेको उल्लेख गरे।

‘यो घर लोकतन्त्रका लागि लडिएको ऐतिहासिक धरोहर हो,’ उनले भने, ‘खरानी बनेको यही घरबाट फेरि उठेर लोकतन्त्रको यात्रा अघि बढाउने दृढता प्रकट गर्दछु।’

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको प्रस्तावबारे कोइरालाले अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने बताए।

उनले नेतृत्व परिवर्तनको बहस महत्त्वपूर्ण भए पनि तत्कालको प्राथमिकता निर्वाचन भएको बताउँदै सबैलाई संयमता अपनाएर चुनावी तयारीमा जुट्न आग्रह गरे।

प्रदेश खारेज वा प्रत्यक्ष निर्वाचित कार्यकारीको मागबारे पनि कोइरालाले हालको संविधानले त्यसलाई स्वीकार नगर्ने जिकिर गरे। 

‘अहिलेको संविधानअनुसारै निर्वाचन प्रणाली अगाडि बढाउनुपर्छ’, उनले भने।

डा. कोइरालाले लोकतन्त्रको रक्षा र आगामी निर्वाचन तयारीलाई तत्कालीन आवश्यकता ठहर गर्दै कार्यकर्तालाई एकजुट हुन आह्वान गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad