राजनीति


रास्वपा ‘पार्टी होइन, कम्पनी हो’ भन्ने जिल्ला सभापतिमाथि २४ घण्टे स्पष्टीकरण

रास्वपा ‘पार्टी होइन, कम्पनी हो’ भन्ने जिल्ला सभापतिमाथि २४ घण्टे स्पष्टीकरण

नेपालखबर
चैत ५, २०८१ मंगलबार १७:२९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रका नयाँनयाँ विवाद सतहमा आउँदै छन्। जिल्ला र प्रदेशका सभापति तहसम्मकै नेताहरू एकपछि अर्को निलम्बनमा परिरहेका छन्।

केही जिल्लाका सभापतिहरूले राजीनामा दिएका, केही जिल्ला संयोजकहरू पार्टीबाट बाहिर लागिसकेका छन्।

केही दिनअघि मात्रै रास्वपा झापाका सभापति उमेश खरेल नैतिक तथा आर्थिक विवादमा तानिएपछि राजीनामा दिएर बाहिरिए।

त्यसलगतै सुनसरीमा फेरि अर्को विवाद सिर्जना भएको छ। ह्वाट्सएप ग्रुपमा टीकाटिप्पणी गरेको विषयलाई लिएर रास्वपाले सुनसरी जिल्ला सभापति जीवनकुमार श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ। 

जिल्ला सभापति श्रेष्ठले ‘रास्वपा पार्टी नभई, कम्पनी हो’ भनी टिप्पणी गरेको आरोपमा रास्वपाको कोसी प्रदेश समितिका कार्यवाहक सभापति गोमा तामाङ (सरिन)ले स्पष्टीकरण सोधेकी हुन्।

पत्रमा भनिएको छ, ‘पार्टीको नीति, उद्देश्य र कार्यक्रमविपरीत पार्टी सदस्यलाई निराशा बढाउने गतिविधिमा लाग्नुभएकाले यहाँलाई पार्टीले जिल्ला सभापति नरहने गरी कारबाही किन नगर्ने?’

स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र दिन भनिएको छ। समयसीमाभित्र स्पष्टीकरण प्राप्त नभएमा पार्टी गतिविधिविपरीत लागेको स्वीकारेको ठानी विधानबमोजिम कारबाही गर्ने चेतावनीसमेत पत्रमा दिइएको छ।

‘चैत ३ गते कोसी प्रदेशको आधिकारिक ह्वाट्सएप ग्रुपमा प्रदेश समिति सदस्य धनेश्वर साहले ४ गतेको बैठक ८ गते सरेको हो कि भन्ने जिज्ञासामा ‘यहाँ जे पनि हुन सक्छ, यो कम्पनी हो, पार्टी हैन’ भन्ने अभिव्यक्ति दिई पार्टीप्रति दिग्भ्रमित पार्ने काममा अग्रसर भएको देखिन्छ,’ श्रेष्ठलाई स्पष्टीकरण सोधिएको पत्रमा भनिएको छ, ‘तपाईँको यो भनाइ मप्रति अथवा कोसी प्रदेशप्रति होइन भने यो केन्द्रलाई लगाएको आरोप हो। पार्टीलाई लगाएको आरोप, लाञ्छना क्षम्य हुने देखिँदैन।’

सरिनले आफू प्रदेशको नेतृत्वमा आएपछि विगतको नेतृत्वले लथालिङ्ग बनाएको सङ्गठनलाई सही रूपमा ल्याएर पार्टीलाई ऊर्जाशील बनाएको दाबी गरेकी छन्।  

स्पष्टीकरणको बारेमा प्रतिक्रिया दिँदै श्रेष्ठले भने, ‘मलाई ह्वाट्सएप ग्रुपमार्फत नै स्पष्टीकरण सोधिएकोले मैले पनि त्यही रूपले नै स्पष्टीकरण दिने तयारी गरेको छु।’

सामान्य पार्टीभित्रको ग्रुपमा लेखिएको कुरालाई ठूलो विषय बनाएर स्पष्टीकरण सोधेर प्रदेश कमिटीले गलत नजिर स्थापित गर्न खोजेको उनले बताए। उनले स्पष्टीकरण पेस गरेपछि सबै कुराहरू सार्वजनिक गर्ने समेत बताए।

यसअघि रास्वपा कोसी प्रदेशका सभापति राजेश तिम्सिनालाई पनि पार्टीले निलम्बन गरेको थियो। उनी निलम्बनमा परेपछि सरिनले कार्यवाहक सभापतिको रूपमा प्रदेश समितिको नेतृत्व गरिरहेकी छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad