राजनीति


एउटा रोचक चुनाव : कांग्रेस, एमाले र माओवादीको मोर्चाबन्दी, रास्वपा पनि मिसियो

एउटा रोचक चुनाव : कांग्रेस, एमाले र माओवादीको मोर्चाबन्दी, रास्वपा पनि मिसियो

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०८० शुक्रबार १३:३, काठमाडौँ

केन्द्रीय राजनीतिको कुरा गर्ने हो भने अहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सत्तामा छन्। अर्कातिर नेकपा एमाले प्रतिपक्षमा रहेर केन्द्रदेखि प्रदेशसम्म यी दुई दलको पेलानमा परिरहेको छ।

२०७९ को चुनावमा पनि केही क्षेत्रमा जसपासहितसँग तालमेल गरेको एमाले एक्लै चुनावी मैदानमा थियो। अर्कातिर कांग्रेस र माओवादीसहित अन्य दल गठबन्धन गरेर चुनावी मैदानमा थिए।

कांग्रेस र माओवादीसहित पाँच दलको गठबन्धन हुँदा पनि बहुमत जुटाउन सकेनन्। अर्कातिर एमाले पनि सोचेजति कमजोर हुन सकेन। 

अहिले पनि गठबन्धन दल संघदेखि प्रदेशसम्म सत्तामा हुँदा एमाले प्रतिपक्षमा बसिरहेको छ। अर्कातिर स्थापनाको एक वर्षमै अप्रत्यासित २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि केही महिना सत्तामा बसेर अहिले प्रतिपक्षी कित्तामा छ।

केन्द्र र प्रदेशका फरक फरक कित्तामा रहेका यी दलहरु एउटा क्याम्पसको चुनावमा भने मोर्चाबन्दी गरेर उत्रिएका छन्।

कुरा हो, सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसको। कोशी प्रदेशकै ठूलोमध्ये एक यो क्याम्पस हरेक दलका लागि प्रतिष्ठाको विषय बन्छ।

दलहरुका लागि विद्यालय व्यवस्थापन समितिको चुनाव पनि ठूलो प्रतिष्ठाको विषय हुने गरेको छ। अझै स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई पनि दलहरुको मिनी जनमत संग्रह भनिन्छ।

दलहरुले क्याम्पस व्यवस्थापन समितिको चुनावलाई पनि यस्तै प्रतिष्ठाको विषय बनाउने गरेका छन्। अन्य चुनावमा फरक फरक कित्तामा उभिने दलहरु जनता बहुमुखी क्याम्पस सञ्चालक समितिको यही शनिबार हुने निर्वाचनमा भने संयुक्त मोर्चाबन्दी गरेर मैदानमा उत्रिएका छन्।

शनिबार हुने सञ्चालक समितिको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीसमेतले मिलेर एकै प्यानल बनाएका छन्। 

अझ रोचक कुरा त के छ भने कांग्रेस, एमाले, माओवादी र राप्रपासहितको प्यानलमा आफूलाई नयाँ र फरक बताउने गरेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेत जोडिएको छ।

पछिल्लो समय रास्वपाले देशभर संगठन विस्तार अभियान चलाइरहेको छ। उसले पुराना र ठूला दलहरुका कारण देख बिग्रिएकाले आफू विकल्पका रुपाम आएको बताउने गरेको छ। तर जनता क्याम्पसको चुनावमा भने उसले ठूला दलसँगै हात मिलाएर मिसिएको छ। 

जनता बहुमुखी क्याम्पसको १३ सदस्यीय सञ्चालक समितिको निर्वाचनका लागि ६ दल मिलेर उम्मेदवारहरुको नाम पनि बिहीबार नै तय गरिसकेका छन्। 

उनीहरुले तय गरेका सञ्चालक समिति सदस्यका उम्मेदवारमध्ये एकजना शिवराज दाहाल माध्यमिक विद्यालयका शिक्षक हुन्। 

दलका उम्मेदवारहरु
१. विकाश केसी
२. रेवती प्रसाद घिमिरे
३. युगप्रिय निरौला
४. शिवराज दाहाल
५. मुक्तिनाथ रिजाल
६. शेखर लुइँटेल
७. ईश्वर भट्टराई
८. विकल रेग्मी
४. मात्रिका रेग्मी
१०. तीर्थराज पराजुली
११. दिनेश कुमार भट्टराई
१२. अम्बिकादेवी श्रेष्ठ
१३. भैरवप्रसाद सापकोटा

क्याम्पसको चुनावमा संयुक्त प्यानल बनाउने क्रममा कांग्रेसका कार्यवाहक नगर सभापति बालकृष्ण विष्ट, एमालेका नगर अध्यक्ष याम सुब्बा, माओवादीका नगर उपाध्यक्ष कविन्द्र केसी, राप्रपाका नगर अध्यक्ष आकाश सुब्बा, रास्वपाका नगर सदस्य हिरामणि घिमिरे र जसपाका नगर अध्यक्ष डिल्ली सुब्बाले हस्ताक्षर गरेका छन्।

उनीहरुले संयुक्त प्यानल बनाएर १३ जना सदस्य निर्वाचित गरेपछि तिनैमध्येबाट एकजनालाई अध्यक्षमा चयन गर्ने तयारी गरेका छन्।

यी दलहरुको सहमतिअनुसार सञ्चालक समितिको अध्यक्षमा कांग्रेसको कोटाका विकास केसीलाई चयन गर्ने आन्तरिक तयारी भइसकेको छ।

६ दलले बिहीबार संयुक्त अपिल नै निकालेर इटहरीभित्रका राजनैतिक दलहरु, शिक्षाप्रेमी, समाजसेवी, सामाजिक व्यक्तित्व, उद्योगी व्यवसायी एवम् उच्च चिन्तन भएका नागरिकहरुबाट क्याम्पसको भविष्य निर्माण गर्ने सोचसहित संयुक्त प्यानल बनाइएको उल्लेख गरेका छन्। 

क्याम्पसको संचालक समिति सदस्यमा संयुक्त रुपमा सहमतिका साथ साझा उम्मेद्वार बनाई क्याम्पसको सर्वाङ्गिण विकासका लागि आफूहरुले उम्मेदवार पठाएको उनीहरुको तर्क छ। ६ दलले नै आफूहरुका उम्मेदवाररलाई मतदान गरि निर्वाचित गराइदिन पनि परिषद् सदस्यहरु (मतदाता) मा अपील गरेका छन्। 

जनता क्याम्पसको चुनावमा अन्यले पनि उम्मेदवारी दिएका छन्। तर उनीहरु दलबाहिरका स्वतन्त्र व्यक्तिहरु हुन्। 

 बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनमा ७ सय २८ परिषद् सदस्य सहभागी हुनेछन् । क्याम्पस सञ्चालक समितिको सदस्य १३ जना हुन्छन् ।

समितिको १३ पदका लागि ३१ जना प्रतिस्पर्धामा छन् ।  क्याम्पस सञ्चालक समितिको सदस्य निर्वाचित भएपछि अध्यक्ष छनौट गर्ने प्रक्रिया हुनेछ । समितिको अध्यक्ष पदका लागि चर्चामा रहेका इटहरी ४ का विकास केसीसँग हामीले कुराकानी गरेका छौं ।

निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार सबै दलको एउउटा प्यानल हुँदा अरुले पनि स्वतन्त्र रुपमा चुनौती दिएका छन्।

क्याम्पस सञ्चालक समिति निर्वाचन समिति संयोजक प्रा.डा. गीता अधिकारीले सार्वजनिक गरेको सूची अनुसार अन्य १४ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएर दलहरुलाई चुनौती दिएका छन्। 

अन्य उम्मेदवारहरु
१. नारायण सुवेदी
२. मातृकाप्रसाद आचार्य
३. पेशलकुमार लम्साल
४. कुलबहादुर कार्की (राजकुमार)
५. ख्याम प्रसाद तिम्सिना
६. पुष्प कार्की
७. परशुराम दुलाल
८. ठमनाथ लम्साल
९. टंकप्रसाद खनाल
१०. गणेश बुढाथोकी
११. रमेश खत्री
१२. पुण्यप्रसाद अधिकारी
१३. जितेन्द्र रम्तेल
१४. उर्मिलादेवी कट्वाल
१५. गंगाप्रसाद भट्टराई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad