कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिने बताएका छन्।
नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी हुने क्रममा पत्रकारसँग बुधबार कुरा गर्दै मुख्यमन्त्री कार्कीले बिहीबारको प्रदेश सभाको बैठकमा आफूले विश्वासको मत लिने बताएका हुन्।
विश्वासको मतका लागि भोलि नै समय तय गरिएको कार्कीले जानकारी दिए।
आफूले विश्वासको मत नपाउने भन्ने संभावना नै नभएको बताएका कार्कीले अहिलेसम्म एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत पक्षमा हाल्ने निर्णय गरेको र भोलिसम्म अन्य दलमध्येको कोही विश्वासको मत दिन तयार हुने कार्कीले बताए।
गठबन्धन दलका नेताहरू एक भएको र विश्वासको मत प्राप्त गर्न नदिने निर्णय गरेकोबारे पत्रकारले सोधेको प्रश्नमा मुख्यमन्त्री कार्कीले त्यहाँ एक दुई दलबाहेक अरूको नेता नै नभएको स्पष्ट पारे।
उनले अहिलेको अवस्थामा विश्वासको मत प्राप्त गर्न कुनै समस्या नहुने पनि बताएका छन्।
कोशी प्रदेश सभामा नेकपा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादीको (सभामुखसहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाका १ सांसद छन्।
कोशी प्रदेश सभामा सरकार बनाउन र विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ।
अहिले नेकपा एमाले नेतृत्वको हिक्मतकुमार कार्कीको सरकारलाई विश्वासको मत पाउन १ जना सांसद आवश्यक पर्ने देखिन्छ। राप्रपा र एमाले मिल्दा ४६ जना सांसद छन्।
Shares

प्रतिक्रिया