नेकपा एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले वर्तमान सरकार जनविरोधी भएको आरोप लगाएका छन्। यसका एकपछि अर्काे निर्णयले यो कुरा पुष्टि गरिरहेको दाबी उनले गरे।
पार्टीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–१०, पिपलगाउँमा आयोजित अगुवा कार्यकर्ता भेलामा नेता रिजालले भने, ‘अहिलेको सरकार जनविरोधी छ भन्ने यसका एकपछिका अर्का निर्णयहरूले देखाइरहेका छन्। त्यसैले यसलाई जनदबाब दिएरै ठाउँमा ल्याउनुपर्छ।’
यस क्रममा उनले मुस्ताङमा बौद्ध विश्वविद्यालयका नाममा मुलुकलाई विदेशीको अखडा बनाउने, भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगर्ने, कृषि मलमा अनुदान घटाउनेजस्ता जनविरोधी निर्णय आफूहरूकै दबाबका कारण रोकिएको दाबी पनि गरे।
‘यसबाट पनि के देखिन्छ भने यस सरकारलाई अझ बढी जनदबाब आवश्यक छ’, उनले भने, ‘त्यसका लागि सशक्त प्रतिपक्षका रूपमा पार्टीलाई अघि बढाउन हामी गाउँबस्तीबाट जुट्नुपर्छ।’
जारी ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–१०, पिपलगाउँमा सम्पन्न अगुवा कार्यकर्ता भेलाले वडामा भइरहेको सदस्यता नवीकरणको समीक्षा गर्दै बाँकी कामका लागि कार्यविभाजन गरेको एमालेले जनाएको छ।
प्रतिक्रिया