कर्णाली प्रदेशको सभामुख चयनका लागि आज चुनाव हुँदै छ।
कर्णाली प्रदेशसभाको सभामुख बन्न सांसदद्वय नन्दा गुरुङ र खड्ग पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।
सत्ता गठबन्धनका तर्फबाट एमालेकी नेता नन्दाले र नेपाली कांग्रेसबाट पोखरेलले सभामुख पदका लागि शनिबार उम्मेदवारी दर्ता गराएका हुन्।
अब आज मतदान गरी सभामुखको टुंगो लगाइनेछ। बिहान ११ बजे मतदान हुने बताइएको छ।
कांग्रेस उम्मेदवार पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (१०) बाट निर्वाचित प्रदेश सांसद हुन् भने एमालेबाट उम्मेदवार गुरुङ सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्य हुन्।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र १/१ जना सांसद छन्।
बहुमतका लागि २१ सांसद भए पुग्छ। तर गठबन्धनकी उम्मेदवार गुरुङका पक्षमा माओवादी केन्द्र (१३) र एमाले (१०) का सांसद मिलाउँदा पनि २३ जना पुग्छ।
Shares
प्रतिक्रिया