प्रतिनिधि सभा सदस्यका लागि गण्डकी प्रदेशमा करिब ६० प्रतिशत मतदान भएको छ।
बिहीबार साँझसम्म तथ्यांक संकलनको कार्य जारी रहेकाले ठ्याक्कै कति प्रतिशत मत खस्यो भन्ने निर्क्योल हुन बाँकी रहेको प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकृत रुद्र न्यौपानेले बताए। ‘सबै जिल्लामा खसेको मतको हिसाब हुन बाँकी छ,’ न्यौपानेले भने, ‘अहिलेसम्म ६१ प्रतिशतभन्दा बढी खसेको अनुमान छ।’
गण्डकीमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन्। प्रारम्भिक विवरणअनुसार, तीन लाख ८ हजार ५७२ जना मतदाता रहेको कास्कीमा एक लाख ८९ हजार २६७ जनाले मतदान गरेका हुन्। यो भनेको ६१.३४ प्रतिशत हो। कास्कीमा तीन निर्वाचन क्षेत्र छन्।
यस्तै, सात हजार मतदाता रहेको हिमाली जिल्ला मनाङमा ४० प्रतिशतको हाराहारीमा मत खसेको छ। मनाङको नेस्याङ गाउँपालिकामा एक हजार ६९ मत मात्र खसेको थियो। यो मनाङको उच्च हिमाली क्षेत्र हो। त्यहाँ तीन हजार २१ मतदाता रहेका थिए।
अर्को हिमाली जिल्ला मुस्ताङमा कुल ५६.४५ प्रतिशत मत खसेको छ। ११ हजर ३२८ मतदाता रहेको मुस्ताङमा ६ हजार ३९७ मत खसेको हो।
म्याग्दीमा २५ हजार ११८ महिला, २१ हजार ७७४ पुरुष र एक जना अन्य गरी ४६ हजार ८९३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका थिए। करिब ५४ प्रतिशत मतदान भएको हो।
बागलुङमा ५२ प्रतिशतको हाराहारी मत खसेको निर्वाचन अधिकृत यज्ञप्रसाद रिजालले बताए। बागलुङको ढोरपाटनसहित दुर्गम क्षेत्रका मतपेटिका संकलन गरेर सदरमुकाम ल्याएपछि मात्र कति मत खस्यो भन्ने जानकारी आउने रिजालको भनाइ छ।
पर्वतमा ५३.१८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जानकारी दिएको छ। सूचना अधिकारी ज्ञानेन्द्रप्रसाद शर्माका अनुसार एक लाख २५ हजार ४६६ मतदाता रहेको पर्वतमा ६६ हजार ७२७ मत खसेको हो।
दुई लाख ४८ हजार मतदाता रहेको स्याङ्जामा ७१ हजार पुरुष र ६० हजार महिला गरेर एक लाख ३१ हजारले मतदान गरेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए।
यस्तै, दुई लाख ५४ हजार ३३७ मतदाता रहेको तनहुँमा पनि ५० प्रतिशतभन्दा बढीले मतदानमा भाग लिएका छन्।
लमजुङमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिँदा गोरखामा करिब ४९.६४ प्रतिशत मत खसेको छ। दुई लाख २९ हजार ५८ मतदाता रहेका गोरखामा एक लाख १३ हजार ७२५ जनाले मतदान गरेको र तीमध्ये ५८ हजार ५६२ महिला रहेको निर्वाचन अधिकृत टेकबहादुर कोइरालाले जानकारी दिए। गोरखामा दुई निर्वाचन क्षेत्र छन्।
दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा ५८ प्रतिशत मत खसेको छ। निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार नवलपुरमा ६८ हजार २१ पुरुष, ८७ हजार ९३६ महिला र अन्य दुई जना गरी एक लाख ५५ हजार ९५९ जनाले मतदान गरेका छन्।
Shares

प्रतिक्रिया