राजनीति


'कठोर परीक्षा'मा पृथ्वीसुब्बा : ओलीको आदेशपालक भइरहने कि साँच्चै एमालेको नेता बन्ने?

'कठोर परीक्षा'मा पृथ्वीसुब्बा : ओलीको आदेशपालक भइरहने कि साँच्चै एमालेको नेता बन्ने?

वाशुदेव मिश्र
पुस ४, २०८२ शुक्रबार ९:५३, पोखरा

२०५४ माघ १२ देखि १८ गतेसम्म नेपालगन्जमा भएको नेकपा एमालेको छैटौँ महाधिवेशनमा पृथ्वीसुब्बा गुरुङ प्रस्ट रूपले केपी ओलीका पक्षमा उभिए। त्यो महाधिवेशनले नै उनलाई पहिलोपटक वैकल्पिक केन्द्रीय सदस्य चुन्यो।

२०५८ सालमा एमाले र माले एकीकरण हुँदा पनि उनी त्यही पदमा रहे। २०५९ माघ १८ देखि २२ सम्म धनुषामा भएको सातौँ महाधिवेशनमा चाहिँ गुरुङ केन्द्रीय सदस्य पदमा हारे।

पछि उनलाई मनोनीत कोटामा पार्दै केन्द्रीय सदस्य बनाइयो। 

त्यही महाधिवेशनमै त हो- ओलीले पार्टी जीवनको लोकतान्त्रिकरणसम्बन्धी अवधारणा प्रस्तुत गर्दै बहुपदको माग गरेका!

बेलाबेला ओलीको त्यही अवधारणाको दह्रो समर्थकका रूपमा देखिएकै कारण आफूलाई त्यस महाधिवेशनमा आफूलाई हराइएको दाबी गर्छन् गुरुङ। 

२०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनपछि उनी पोलिटब्युरो सदस्य बने। नवौँमा सचिवमा उक्लेका उनी १०औँ महाधिवेशनमा उपमहासचिव बने।

अहिले एघारौँ महाधिवेशनबाट सर्वाधिक मतका साथ उपाध्यक्षमा पदमा विजयी पृथ्वीसुब्बाले मत दिने प्रतिनिधिप्रति आभार व्यक्त गर्दै बिहीबार फेसबुकमा लेखेका छन्, 'अबको मेरो सम्पूर्ण ध्यान पार्टीलाई विधि, पद्धतिमा चलाउँदै देशको समृद्धि र जनताको खुसीसँग जोड्नमा केन्द्रीत हुनेछ।'

मुखिया खलकका यी लमजुङे गुरुङले मतदाता प्रतिनिधिप्रति कृतज्ञता ज्ञापन गर्ने क्रममा अर्थपूर्ण रूपले दुई विषय उल्लेख गरेका छन्।

पहिलो- विधि र पद्धतिको वकालत र दोस्रो- प्राप्त भारी मत विकल्प खोज्नेहरूको खबरदारी भएको दाबी। 

'यो विजयको उल्लासलाई मैले कर्तव्यको कठोर परीक्षाका रूपमा लिएको छु। यो सर्वाधिक मतलाई मैले 'गह्रौँ जिम्मेवारी' र 'अग्लो विश्वास'का रूपमा ग्रहण गरेको छु। राजनीतिप्रति वितृष्णा जागिरहेको, युवा पुस्तामा निराशा बढिरहेको र समाजले नयाँ विकल्प खोजिरहेको यो संवेदनशील घडीमा,मलाई प्राप्त यो भारी मतले एमालेलाई अझ गतिशील, जनमुखी र समसामयिक बनाउन खबरदारी गरेको महसुस गरेको छु', उनले भनेका छन्। 

खासमा एमालेको ११औँ महाधिवेशन केपी ओलीका निम्ति थियो- विरोधीलाई पार्टीबाटै लखेटेर हुन्छ कि किनाराकृत गरेर- लगातार तेस्रोपटक नेतृत्वमा रहन। यस अभियानका क्रमम ओलीको तिकडमको साक्षी र मतियारसमेत बनेका पृथ्वीसुब्बालाई आम कार्यकर्ता के चाहन्छन् भन्ने थाहा थियो। तर, ओलीले पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारीको बाटो छेक्दा होस् या सर्वसम्मतिको नाममा अन्धभक्तहरूलाई महाधिवेशन प्रतिनिधि बनाउँदा- बोलेनन्।

गण्डकीमा त आफूले पनि सक्दो गरे। अध्यक्ष ओलीसँग महासचिव पदका लागि याचना गरे। तर ओलीले अर्का विश्वासपात्र शंकर पोखरेललाई नै दोहोर्‍याएपछि बाध्य भएर उपाध्यक्षको उम्मेदवार बने।

उनी महासचिव नै बन्ने ल्याकत राख्थे। तर यसपटक त्यो अवसर पाएनन्। पृथ्वीसुब्बाले पनि अहिलेलाई त्यो कठिन त्यो बाटो रोज्न चाहेनन्। किनकि ओलीबाट कृपाप्राप्त पदमा जित निश्चित थियो।

तर, अर्को खेमाबाट प्राप्त मतचाहिँ पृथ्वीसुब्बाप्रतिको विश्वास हो। विधि-पद्धति अनि परिवर्तनको चाहना हो।

एमालेको ११औँ महाधिवेशनबाट ११ प्रतिस्पर्धीलाई पछि पार्दै उपाध्यक्ष चुनिँदा पृथ्वीसुब्बालाई प्राप्त मत सर्वशक्तिमान अध्यक्ष केपी ओली (१६६३) को भन्दा बढी हो। उपाध्यक्षमै दोहोरिएका विष्णु पौडेलले १६७५ मतसहित उनलाई पछ्याएका छन्।

उनकै शब्द सापट लिएर भन्ने हो भने जितसँगै पृथ्वीसुब्बा साँच्चै 'कठोर परीक्षा' दिने ठाउँमा पुगेका छन्। त्यो परीक्षा उत्तीर्ण हुन उनले अध्यक्ष ओलीको व्यक्तिवादी सोचमा लगाम लगाउँदै विधि र पद्धतिमा बाँध्नुपर्नेछ। आफैँमाथि लागेको प्रश्न गर्न बिर्सेर पदका खातिर ज्यू-हजुरीमा लागेको, आदेश तामेली गर्ने हुक्के-बैठकेमा रूपान्तरण भएको भन्ने आरोपलाई मिथ्या साबित गर्नुपर्नेछ।

मतपरिणामले भन्छ- कार्यकर्ताले ओलीभन्दा पृथ्वीसुब्बाप्रति बढी भरोसा गरेका छन्। एमालेमा वरिष्ठ उपाध्यक्ष पद खारेज गरिएको छ। ओलीले मतपरिणामलाई सम्मान गरे भने, एमालेलाई पृथ्वीसुब्बाले विधि र पद्धतिमा चलाउन सके भने, सर्वाधिक मत ल्याएका उनी स्वतः दोस्रो वरीयतामा हुनेछन्, ओलीको अनुपस्थितिमा कार्यवाहकको जिम्मेवारी पाउनेछन्।

तर, त्यो निर्णय अध्यक्ष ओलीको तजबिजमा भर पर्नेछ। पृथ्वीसुब्बा कुनै समय ओलीको समेत आलोचना गर्नसक्ने नेताका रूपमा चिनिन्थे। आफूलाई मन नपरेका निर्णयविरुद्ध सार्वजनिक रूपमै प्रतिवाद गर्थे।

केन्द्रीय कमिटीका नेताहरू भन्थे, ‘पीएस (पृथ्वीसुब्बा) कमरेड मात्र ओलीसँग पनि गलतलाई गलत भयो भन्नसक्ने नेता हो। उहाँले धेरैपटक अध्यक्षका निर्णयहरूमा प्रश्न उठाउनुभएको छ।’

हो, पृथ्वीसुब्बा प्रश्न गर्ने सामर्थ्य राख्थे। त्यही प्रस्टवक्ता तथा जुझारुपनका कारण उनलाई एमाले कार्यकर्ताले अध्यक्ष ओलीकै प्रतिस्पर्धीका रूपमा हेर्ने थालिसकेका थिए। एमालेको सचिवका रूपमा गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा प्रधानमन्त्री ओलीले प्रदेशहरूलाई अधिकार दिन कञ्जुस्याइँ गरेको गुनासो गरिरहन्थे।

जनजाति अधिकारको पैरवी गर्ने पृथ्वीसुब्बा यदाकदा पार्टीभित्रको ‘जातीय दबदबा’प्रति प्रश्न उठाउँथे। तर, उपमहासचिव बनेपछि उनको जुझारुपन सेलाउन थाल्यो। पार्टी भित्र र बाहिर केपी ओलीको कार्यशैली निरंकुश भएको आवाज उठ्दा मौनता साँध्न थाले।

१०औँ महाधिवेशनयता ओली साँच्चै पार्टीभित्र प्रश्न गर्नेहरूप्रति असहिष्णु देखिन थाले। ओठे जवाफ फर्काउने, हुँदै नभएको तथ्य पेस गर्दै आफ्नो बडप्पन देखाउने तथा विरोध गर्नेहरूलाई किनाराकृत गर्ने प्रवृत्तिप्रति पृथ्वीसुब्बा चुइँक्क बोलेनन्।

जेनजी आन्दोलनअघिको ओली सरकारमा सञ्चारमन्त्री र प्रवक्ताको जिम्मेवारी पाएपछि त झन उनी ओलीको बचाउमा सतिसालजस्तै देखिए।

‘पीएस कमरेडमा पहिलेजस्तो तर्कशीलता तथा गलतलाई गलत भन्ने सामर्थ्य देखिएन, अवसरका लागि उहाँले आफ्नो बुद्धिसमेत अध्यक्ष ओलीको पाउमा न्यौछावर गर्नुभयो’, उनीनिकट रहेर काम गरेका तर यसपटक प्रतिनिधि बन्नसमेत रोकिएका एक जनजाति नेता भन्छन्, ‘ओलीको भक्तिगानमा लिन हुनुभयो र आफ्नो दुनो सोझ्याउनुभयो।’

हो, पृथ्वीसुब्बा बदलिएका छन्। ओलीको वक्रदृष्टि नपरोस् भन्नाका खातिर नै उनले गलत प्रवृत्तिप्रति पनि आँखा चिम्लेका हुन्।

तर अहिले प्राप्त मतले भन्छ- एमाले कार्यकर्ताले पृथ्वीसुब्बालाई ओलीको हुकुमी शैलीमा प्रश्न उठाउने र लगाम लगाउने जिम्मेवारी सुम्पेका छन्। समन्वयात्मक भूमिकाको अपेक्षा राखेका छन्।

तर उपाध्यक्षका रूपमा उनी कत्तिको खरो उत्रन्छन्, त्यो समयले नै बताउने छ। ओलीको आदेशपालक भइरहने कि साँच्चै एमालेको नेता बन्ने, आउने दिनले बताउनेछन्। 

एमालेको अध्यक्ष पदबाट उनी एक कदम मात्र पछाडि छन्। अर्थात् अध्यक्ष पद त्यति टाढा छैन। तर, ओलीको आदेशपालक मात्रै बनिरहँदाचाहिँ त्यो पद टाढा हुनसक्छ। त्यसका निम्ति उनले आलोचनात्मक चेत पुनः ब्युँझाउनुपर्छ। गुटको हैन, पार्टीको नेता बन्ने जमर्को गर्नुपर्छ र परिआएका बेला अध्यक्ष ओलीलाई नियन्त्रण गर्दै समन्वयकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ। 

साथै राष्ट्रिय राजनीतिमा पनि नयाँ दृष्टिकोणसहित सही निर्णय गराउने ल्याकत राख्नैपर्छ।

पृथ्वीसुब्बालाई नियन्त्रित तवरले चुनिएका प्रतिनिधिले छानेका हुन्/मन पराएका हुन्। कार्यकर्ताबाट अनुमोदन हुनु जनअनुमोदन हैन, हेक्का राख्नुपर्ने कुरा यही हो।

ओलीको स्वेच्छाचारी र असहिष्णु प्रवृत्तिमा लगाम लगाउँदै जनताको परिवर्तनको चाहना सम्बोधन गर्न सके भने उनको कद बढ्ने छ।

अहिले नै पृथ्वीसुब्बाले कडा प्रतिस्पर्धाबीच महासचिव पदमा विजयी शंकर पोखरेललाई मतले उछिनिसकेका छन्। मतपरिणाम हेर्दा उनी एमालेको साझा नेता बनेका छन्। अत: ५ उपाध्यक्षको भिडमा आफूलाई अब्बल साबित गर्नसके भने उनी गण्डकीबाट एमालेको अध्यक्ष बन्ने पहिलो नेता हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad