लामो रस्साकस्सीपछि एमाले कास्कीले ११ औँ महाधिवेशनको लागि प्रतिनिधि टुंग्याएको छ।
१ सय २२ जनाको उम्मेवारी परे पनि सर्वसम्मतिको नाममा कास्कीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य एवं गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी पक्षले भागबण्डा गर्दै आफू अनुकूलका व्यक्तिलाई नै प्रतिनिधि तोकेका हुन्।
यीमध्ये वैनबहादुर एमाले कास्कीका अध्यक्ष हुन्। वेदबहादुर गण्डकीका सभासद,दर्शन एमाले कास्की सचिव र नवराज रुपा गाउँपालिका अध्यक्ष हुन्।
महिलातर्फबाट रक्षा भट्टराई र विजया सुवेदी प्रतिनिधि बनेका छन्। क्षेत्र नम्बर २ बाट तेजनारायण अधिकारी, रामप्रसाद खनाल र भेषराज बराल र रश्मी आचार्यको नाममा सहमति बनेको छ।
युवामा विजय पौडेल र महिलामा हीरा गिरी र सिर्जना शर्मा प्रतिनिधिको रुपमा आएका छन्।
क्षेत्र नम्बर ३ बाट माधव बास्तोला,दीपक पौडेल, जगन्नाथ बास्तोला, लालबहादुर परियार,युवामा भरतमान गुरुङ र महिलामा गीता विश्वकर्मा र शोभा पहारीलाई प्रतिनिधि चयन गरिएको छ।
क्षेत्र नम्बर ३ का माधव यसअघि कास्की अध्यक्षमा पराजीत उम्मेदवार हुन् भने दीपक पौडेलको अघिल्लो चुनावमा अन्तिममा आएर मेयरको टिकट काटिएको थियो । जगन्नाथ चाहिँ यसअघिका गाउँपालिका अध्यक्ष हुन्।
उत्पीडित क्लष्टरबाट दानबहादुर विक र प्रेम विक प्रतिधिनि बनेका छन् ।
सर्वसम्मतिको लिष्ट तयार पार्न स्थायी कमिटी सदस्य खगराजसहित केन्द्रीय सदस्यहरु कृष्ण थापा,भीम कार्की र कास्की अध्यक्ष वैनबहादुरसहितको टोलीबीच लामो छलफल भएको थियो।
शनिबार साँझ नै नामको टुंगो लागे पनि क्षेत्र नम्बर ३ बाट संस्थापन पक्षसँग असहमति राख्ने माधवसहितको नाम आएपछि त्यसमा खगराज पक्षले असहमति जनाएको थियो। त्यो पक्षले अहिले पनि असमति जाहेर गरिरहेको छ।
यता, हिजो पृथ्वीसुब्बा पक्षधर भनेर चिनिएको समूह भने प्रतिनिधि चयनमा सन्तुष्ट देखिएको छ।
‘अहिलेका प्रतिनिधि ७० प्रतिशत हाम्रा हुन्,सहमति हुँदा ठीकै भएको छ,सो पक्षधर एक नेताले भने। अहिले प्रतिनिधि बनेकामध्ये ५० प्रतिशत विद्या भण्डारीको सदस्यता नवीकरण पक्षधर भएको पनि उनले बताए।
कास्कीमा महाधिवेशन प्रतिनिधि छनोट भए पनि एउटा समूहले बिरोध गरिरहेको छ।
त्यसैगरि लमजुङ एमालेमा प्रतिनिधि छनोटमा मतदान भएको छ। मतदान सकिएर त्यहाँ अहिले गणनाको काम भइरहेको छ।
तनहुँमा पनि एउटा क्षेत्रमा चुनाव भएको छ। गोर्खामा प्रतिनिधि छनोट भइसकेका छन् भने पर्वतमा विवाद हुँदा अझै प्रतिनिधि छानिएका छैनन्।
बागलुङबाट भने ओलीविरुद्धको खेमा बहुमतमा आएको छ। सबै नतिजा आज साँझसम्म आउने एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए।
Shares

प्रतिक्रिया