मिर्गौला प्रत्यारोपणको क्रममा भारतको एक अस्पतालमा गएको मंगलबार निधन भएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ।
सशस्त्र प्रहरी बलको शोक सलामीसहित गरिएको अन्त्येष्टिमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सयौँ मानिस उपस्थित थिए।
पूर्वप्रधानमन्त्री नेपालले दिवङ्गत शर्माको घर र अन्त्येष्टिस्थलमा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सो क्रममा उनले नेपालको राजनीतिक आन्दोलनले असल र निष्ठावान नेतालाई गुमाएको बताए।
६८ वर्षको उमेरमा भएको शर्माको अप्रत्यासित निधनको खबरले आफू स्तब्ध बनेको नेपालले बताए। ‘मानिसको जीवन नश्वर छ। व्यक्ति दिवङ्गत भएर गए पनि उसका सही कर्म र योगदानको सदा स्मरण भइरहने छ,’ नेपालले भने।
जेबी टुहुरेको गीत ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदोरैछ, देशभक्त छोरो मर्दा देशै रूँदो रैछ’ सम्झँदै उनले शर्माको निधनको खबर सुन्ने जोकोही मर्माहत भएको बताए।
पूवप्रधानमन्त्री नेपालले आगामी ससंद् बैठकमा दिवङ्गत शर्माप्रति श्रद्धाञ्जलीसहित सम्मान गरिनुपर्ने बताए। देश र जनताप्रति जीवन समर्पित गर्नेहरू सधैँ प्रंशसायोग्य रहने भन्दै उनले शर्मा पनि आफ्ना व्यवहार र आचरणका कारण जनतामाझ लोकप्रिय रहेको स्मरण गरे।
विसं २०६४ को पहिलो संविधानसभा चुनावमा बागलुङ–१ बाट निर्वाचित शर्मा बागलुङको कम्युनिष्ट आन्दोलनको अगुवा नेताका रूपमा चिनिन्छन्।
पछिल्लो समय नेकपा (एकीकृत समाजवादी)मा क्रियाशील रहेका उनी संविधानसभाको पहिलो कार्यकालमा ऊर्जा राज्यमन्त्री भएका थिए। शर्मा कुशल सङ्गठक र विकासप्रेमी नेताका रूपमा परिचित थिए। शर्माले पञ्चायतकालमा बागलुङमा तत्कालीन नेकपा (माले) स्थापना र सङ्गठन विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनले पञ्चायतविरोधी आन्दोलनमा मालेका तत्कालीन नेता गोविन्द अधिकारी, मोहनलाल शर्मा, नरबहादुर थापालगायतसँग मिलेर काम गरेका थिए।
शर्माले नेकपा (एमाले) बागलुङको सचिवका रूपमा १५ वर्ष, धवलागिरि इञ्जार्ज र केन्द्रीय सदस्यका रूपमा पनि जिम्मेवारी पूरा गरेका थिए। मिर्गौला प्रत्यारोपणका लागि भारत गएको शर्माको उपचारकै क्रममा निधन भएको हो। शर्माका श्रीमती, दुई छोरा र छोरी छन्। रासस
Shares

प्रतिक्रिया