ad ad

राजनीति


गण्डकीमा सत्ता विमुख भएपछि आफ्नै सांसदमाथि खनियो एमाले

एमाले संसदीय दलले स्पष्टीकरण सोधेका सांसद गणेशमान गुरुङ पृथ्वीसुब्वा निकट
गण्डकीमा सत्ता विमुख भएपछि आफ्नै सांसदमाथि खनियो एमाले

एमाले सांसद गणेशमान गुरुङ


नेपालखबर
असार २, २०८१ आइतबार ८:५७, पाेखरा

गण्डकीमा सत्ता विमुख एमाले आफ्नै एक सांसदमाथि खनिएको छ।

ह्विप उल्लंघनको आरोपमा एमाले संसदीय दलले आफ्नै सांसद गणेशमान गुरुङसँग स्पष्टीकरण सोधेको हो। शुक्रबारदेखि गण्डकीको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो। 

तर, नीति तथा कार्यक्रम पारित गर्ने बैठकमा सांसद गुरुङ अनुपस्थित रहे। सरकारको नीति तथा कार्यक्रममा विपक्षमा रहन ह्वीप लगाइएको भए पनि गुरुङले त्यसको पालना नगरेको भन्दै एमालेले स्पष्टीकरण सोधेको हो।

एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले स्पष्टीकरण सोधिएको पुष्टि गरे। तर, यो पार्टीको आन्तरिक विषय भएको जिकिर उनको छ।

गणेशमानलाई ३ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ। उनले शुक्रबारको बैठकमा आफू गए पनि ह्विपबारे कुनै जानकारी नभएकाले आफ्नो काममा निस्किएको बताए। दलको बैठकमा ह्विपबारे कुरा नभएको र मोबाइलमा पठाइएको म्यासेज आफुले साँझमात्र हेरेको उनको दाबी छ।

‘मैले हिजो मोबाइल घरमै बिर्सेर गएँछु। संसद बैठक बस्नुअघि दलको बैठक बस्थ्यो। हिजो ११ बज्नुअघि नै जाँदा पनि बैठक बसेको थिएन। जनाउ घण्टी बजेपछि म भित्र गएँ,’ उनले भने, ‘नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेँ। मेरो व्यक्तिगत काम परेर म निस्किनु थियो। साढे दुई बजेतिर म निस्किएँ।  एक बजेर एक मिनेट जाँदा ह्वीप लगाएको म्यासेज आएको रहेछ, म दिनभर काममै भएँ। म्यासेज हेरिँन।’

गणेशमान एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन्।

एमाले संसदीय दलमा नेता खगराज अधिकारीसँग सवाल जवाफ गर्ने सांसदमध्ये उनी एक हुन्। गणेशमानलाई स्पष्टीकरण सोधेर खगराजले त्यही रिस फेर्न तथा उनलाई साइजमा राख्न खोजेको एमालेका एक नेताले अनुमान लगाए।

गणेशमान स्वयंले पनि त्यो आशंकामा दम रहेको आशय व्यक्त गरे। 

माओवादी केन्द्रले आफ्नो चुनावचिन्ह लिएर विजयी बनेका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटालाई ह्विप उलंघन गरेकोले कारबाही सिफारिस गरेको छ। 

सो पत्र सभामुख कृष्ण धितालले सदनमा वाचन गरेपछि फणीन्द्र पदमुक्त भएकै दिन एमालेले ह्विप उलंघनमै आफ्ना सभासदसँग स्पष्टीकरण सोधेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .