नेपालको संसदीय व्यवस्थामा नेता कार्यकर्ताले दल परिवर्तन गर्नु अनौठो मानिँदैन।
अझ चुनाव आएपछि सांसद र मन्त्री जस्ता पद मिल्ने अवस्थामा आफ्ना विचार सिद्धान्त सबै त्यागेर अर्को दलमा लाग्नेहरु झन् धेरै हुन्छ।
मंसिर ४ को चुनावअघि दल फेरे सांसदको टिकट पक्का गर्नेहरु कयौँ देखिएका छन्। केहीले दल फेरेर प्रत्यक्षबाट चु्नाव नै जितिसकेका छन्।
अहिलेको संसदीय व्यवस्थामाथि प्रश्न उठाउने विषय बनेको समानुपातिकबाट संसद यात्रा गर्न यो चुनावमा पनि कयौँले दल फेरेका छन्।
अन्य दल छाडेर समानुपातिक सूचीमा पर्न सफल केही यो पटक संसद यात्रा गर्दैछन्। नेता र पार्टी नेतृत्वलाई मन परेपछि चुनावको केही दिनअघि प्रवेश गरेकाले पनि संसद यात्रा निश्चित गरिसकेका छन्।
दल फेरेर को को बने सांसद?
देवीप्रसाद भट्टचन
देवीप्रसाद भट्टचन कुनै बेला नेपाली कांग्रेसका नेता थिए। उनलाई १३ औँ महाधिवेशनबाट निर्वाचित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको संगठन विभाग उपप्रमुखमा मनोनयन गरेका थिए। गोपालमान श्रेष्ठ विभाग प्रमुख हुँदा भट्टचन उपप्रमुख थिए।
तर यस पटक उनी नेकपा एमालेबाट प्रतिनिधिसभातर्फ समानुपातिकको बन्दसूचीमा परेर सांसद बनेका छन्।
प्रभु समूहका अध्यक्ष उनी एमालेबाट आदिवासी जनजाति पुरुष क्लस्टरमा परेर संघीय संसदको यात्रा गर्दैछन्।
भट्टचनको नाम आदिवासि जनजाति पुरुषतर्फ पहिलो नम्बरमा थियो। बागलुङका भट्टचन व्यवसायी हुन्। बैंक, बीमा र हेलिकोप्टरसहितका क्षेत्रमा उनको लगानी छ।
उनी २०४८ सालको आमनिर्वाचनमा बागलुङबाट स्वतन्त्र उठेका थिए। उनी २०४९ सालमा जिल्ला विकास समिति बाग्लुङको सदस्य पनि भए।
हेमराज राई
गत भदौ १ गतेसम्म हेमराज राई जनता समाजवादी पार्टीमा थिए। तर भदौ १ गते उनी जनता समाजवादी छाडेरर एमालेमा फर्किए।
पूर्वमन्त्रीसमेत रहेका राई १० वर्षपछि एमालेमै फर्किएको चार महिनामै संसद यात्रामा निस्केका हुन्।
भोजपुर ट्याम्केमैयुङ गाउँपालिका निवासी उनी पूर्वउद्योगमन्त्री पनि हुन्। २०६९ मा तत्कालीन उपाध्यक्ष अशोक राईसँगै एमाले छाडेका उनलाई १० वर्षपछि पार्टीमा फर्किँदा सांसद पद उपहार मिलेको छ।
जसपामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले बेग्लाबेग्लै बैठक बसेर कारबाहीको शृङ्खला अघि बढाउन थालेपछि हेमराजले राजीनामा दिएका थिए। उनले गत ९ साउनमा जसपाबाट राजीनामा बुझाएका थिए।
२०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी उद्योग मन्त्री थिए। हेमराज भोजपुरलगायत पूर्वका जिल्लामा एमालेको संगठन विस्तारमा संघर्ष गरेका नेताका रुपमा चिनिन्छन्।
एकनाथ ढकाल
एकनाथ ढकाललाई समानुपातिक सांसद बनाए अहिले एमालेकै कार्यकर्ताले पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन्।
पार्टीमा कुनै योगदान नगरेका र धर्मलाई लिएर विवादित पृष्ठभूमिका उनलाई समानुपातिक सांसद बनाइएपछि पार्टीको सिद्धान्त नै होलिवाइन भएको टिप्पणी कार्यकर्ताले गरिरहेका छन्।
परिवार दलका अध्यक्ष रहेका उनले एमालेको चुनाव चिह्नबाट चुनाव लड्ने भनेपछि गत असोज २१ समानुपातिकतर्फ खसआर्यको दोस्रो नम्बरमा राखिएको थियो। एमाले नेता रघुजी पन्तपछि ढकाललाई ठाउँ दिइएको थियो।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमालेसँग चुनावी गठबन्धन गरेकै भरमा उनले संसद यात्रा तय गर्दैछन्।
दुई पार्टीबीचको सहमतिअनुसार परिवार दलका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लडेका हु्न्। सहमतिमा परिवार दलका उम्मेदवारलाई एमालेले नै टिकट दिने उल्लेख थियो।
सहमतिअनुसार संसद् बाहिर परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व रहने थियो। संससदभित्र एमालेले ह्विप जारी गरेको विषयबाहेक अन्यमा परिवार दलका प्रतिनिधिले स्वतन्त्र ढंगबाट आफ्ना तथा पार्टीको विचार राख्न सक्ने छ।
अमृतलाल राजवंशी
अमृत राजवंशी गत असोज ११ गते एमालेमा प्रवेश गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा स्वागत गरेका उनलाई समानुपातिकबाट संसदमा पुग्न सजिलो भयो।
तत्कालीन संविधानसभाका सदस्य राजवंशी एमालेमा प्रवेश गरेको केही महिनामै सांसद भएका छन्।
उनी चौधौँ महाधिवेशनअन्तर्गत झापाको विर्तामोड ४ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित भएका थिए।
राजवंशीलाई नेपाली कांग्रेसले समानुपातिक कोटाबाट पहिलो संविधानसभाको सदस्य बनाएको थियो। दोस्रो संविधानसभामा पनि उनी सदस्य थिए।
संसद सचिवालयमा उल्लेखित विवरणमा झापा अनारमनीका राजवंशीले तीन वर्ष भूमिगत जीवन बिताएको उल्लेख छ।
अमृतादेवी अग्रहरी
अमृतादेवी अग्रहरी पनि असोज २ गते जनता समाजवादी छाडेर एमालेमा प्रवेश गरेकी थिइन्।
जसपा नेपालकी नेतृ अमृता अग्रहरीलाई सांसद बनाउने शर्तमै ओलीले एमालेमा भित्र्याएका थिए।
बालकोटस्थित अध्यक्ष ओलीको निवासमै आयोजित एक कार्यक्रममा एमाले प्रवेश गरेकी उनी सजिलै सांसद भएकी छन्।
जसपाको केन्द्रीय कार्यकारी समिति सदस्य अग्रहरी निवर्तमान प्रतिनिधिसभा सदस्य पनि हुन्।
जसपाकी अर्की नेतृ रुही नाज पनि एमाले प्रवेश गरेकी थिइन्। तर उनले एमालेको टिकट पाइनन्। नेतृ रुही नाज पनि निवर्तमान प्रतिनिधिसभा सदस्य हुन्।
चन्दा चौधरी
चन्दा चौधरी असोज १२ गते बालुवाटार पुगेर नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन्।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चौधरीलाई प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको पहलमा कांग्रेसमा प्रवेश गराइएको थियो।
निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेकी उनलाई सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले कांग्रेसमा स्वागत गरेका थिए।
चौधरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा १८ दिनका लागि मन्त्रीसमेत भएकी थिइन्।
मनिष झा
मनिष झा लामो समय नेपाली कांग्रेसमा सक्रिय थिए। तर उनले यो निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका थिए।
उनी कांग्रेस परित्याग गरि झा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फको उम्मेदवार बनेका थिए।
उनले तीन पुस्ता कांग्रेसमा लाग्दा पनि मूल्यांकन हुन नसकेकाले रास्वपा रोजेको बताएका थिए।
नेपाल विद्यार्थी संघमा लामो सयम काम गरेका उनी पार्टी राजनीतिमा पनि क्रियाशील थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीको मधेसी क्लष्टरमा समानुपातिकतर्फ पहिलो नम्बरमा रहेका झाप अन्तत: सांसद भएका छन्।
उनी गत वैशाखको स्थानीय तह निर्वाचनमा कांग्रेसलाई भोट माग्न जुटेका थिए। त्यसबेला महामन्त्री गगन थापा संयोजकत्वको 'स्थानीय तहको निर्वाचन घोषणापत्र तयारी समिति'का सदस्य पनि थिए।
उनले फ्याक्टस् नेपाल भन्ने संस्था पनि चलाइरहेका छन्। फ्याक्टस् नेपालले चुनावी नतिजाको प्रक्षेपण पनि गरेको थियो।
रञ्जु ठाकुर
रञ्जु ठाकुर कुनै समय नेकपा एमालेकी नेतृ थिइन्। उनलाई एमालेले समानुपातिक कोटाबाट संविधान सभा सदस्य पनि बनाएको थियो।
उनै ठाकुर ९ चैत २०७८ मा एमाले छाडेर जनता समाजवादी (जसपा) मा प्रवेश गरिन्।
जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा उनलाई पार्टीमा स्वागत गरेका थिए।
एमालेबाट संविधानसभा सदस्य भइसकेकी ठाकुर जसपा प्रवेश गरेको एक वर्ष नबित्दै फेरि संसद यात्रामा निस्केकी छन्।
उनलाई मधेसीतर्फबाट जसपाले रेखा यादवसँगै समानुपातिक सांसद बनाएको हो। उनी एमालेको समानुपातिक कोटाबाट संविधान सभा सदस्य हुँदा महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिका सभापति पनि भएकी थिइन्।
प्रतिक्रिया