ad ad

राजनीति


चुनावलगत्तै एकीकृत समाजवादीमा तीन धार, एकता कि पार्टी निर्माण?

अध्यक्ष नेपालको ब्रिफिङ : अर्को विकल्पको सम्भावना न्यून
चुनावलगत्तै एकीकृत समाजवादीमा तीन धार, एकता कि पार्टी निर्माण?

फाइल तस्बिर


सागर न्यौपाने
मंसिर २५, २०७९ आइतबार १३:११, काठमाडौँ

नेकपा एमालेबाट विभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ४ लाख ३७ हजार ८ सय ३२ मत ल्यायो। त्यसबेला ऊ पाँचौ स्थानमा रह्यो।

त्यसबेला एक महानगर, एक उपमहानगरसहित नगरपालिका र गाउँपालिकासमेत २० तह जितेको एकीकृत समाजवादी बलियो राजनीतिक शक्तिका रुपमा उदाएको कतिपयको विश्लेषण थियो।

नयाँ पार्टी बनेको (९ साउन २०७८) नौ महिनापछि नै चुनावमा होमिएको एकीकृत समाजवादीले पाएको यो मत यसकारण पनि महत्वपूर्ण थियो कि, त्यसलगत्तै ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुँदै थियो। 

स्थानीय तहमा दलगत आधारमा प्राप्त मतकै आधारमा एकीकृत समाजवादीलाई गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बलियो समर्थन गरेको आधार पनि थियो–

प्रतिनिधि सभामा प्रत्यक्षतर्फका १६५ तहमध्ये समाजवादीलाई १९ सिट दिनु।   

तर, चुनावीपरिणाम एकीकृत समाजवादीले सोचेजस्तो आएन।

स्थानीय तहमा लोकप्रिय मतका आधारमा पाँचौ स्थानमा रहेको उक्त पार्टी प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० क्षेत्रमा जितेर पनि राष्ट्रिय दल बन्न चुक्यो।

थप २० हजार मत पुर्‍याउन नसक्दा समानुपातिकतर्फ उसले थ्रेस होल्ड कटाउनै सकेन।

चुनावी परिणामपछि पार्टीभित्र विभिन्न विश्लेषण र बहस भइरहेका छन्। 

नेताहरुले समानुपातिकतर्फको मत कम खस्नुमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि दोष दिइरहेका छन्। 

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फको प्रत्यक्ष र समानुपातिक सबै परिणाम सार्वजनिक गरेर पठाइसकेको छ। 

यससँगै गठबन्धनकै दललहरु नयाँ सरकार बनाउने गृहकार्यमा छन्। समाजवादी राष्ट्रिय पार्टी बनेको भए थप केही सिट बढ्थ्यो। तर समानुपाितकमा समाजवादीको सिट नआउँदा गठबन्धनलाई पनि समस्या भएको छ। 

तीन धार
राष्ट्रिय पार्टी हुन नसकेको समाजवादी गठबन्धन सरकारलाई निरन्तरता दिने पक्षमा छ। तर यही बेला समाजवादीभित्र तीन धार देखिन थालेको छ। 

पदाधिकारी र शीर्ष नेताहरुले आफ्ना धारलाई बलियो बनाउने प्रयत्न गरिरहेका छन्। 

यस्तोमा एकीकृत समाजवादीलाई नै बलियो बनाएर अगाडि बढाउनुपर्ने पहिलो धार छ।

यस्तै, नेकपा माओवादी केन्द्रसँग मिलेर नयाँ वामपन्थी शक्ति निर्माण गर्नुपर्ने दोस्रो धारमा नेताहरु छन्।

त्यसैगरी, एमालेसँग एकता गरेर जानुपर्ने तेस्रो धारको पक्षमा पनि नेताहरु उभिएका हुन्।

एक पदाधिकारीका अनुसार अहिलेसम्म सझुाव दिने नेतामध्ये ७० प्रतिशत यही पार्टी अगाडि बढाउनुपर्ने पक्षमा छन्।

उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अहिलेसम्म सुझाव दिनेमध्ये यही पार्टीलाई अगाडि बढाउनुपर्छ भन्ने मत बलियो छ।

त्यस्तै एउटा पंक्ति तत्काल माओवादी केन्द्रसँग एकता गर्नुपर्ने पक्षमा छ। 

बाँकी १० प्रतिशत एमालेमै फर्कन नेताहरुलाई सुझाव दिइरहेका छन्। 

यद्यपि यो बहसमा मात्र रहेको महासचिव बेदुराम भुसालको दाबी छ। 

‘पार्टीभित्र कसले के विचार बोक्छ र राख्छ भन्ने कुरा निर्णायक होइन, मुख्यकुरा पार्टीको लाइन र एजेण्डा हो,’ भुसालले नेपालखबरसँग भने, ‘चुनावी परिणामलाई लिएर कुनै पार्टीका विषयमा गरिने विश्लेषण गलत हो। हिजो साना भएका पार्टी आज ठूलो भएर आए।’

केही पदाधिकारीका अनुसार पार्टीले राष्ट्रिय दलको मान्यता गुमाएपछि राजनीतिक भविष्यका लागि विकल्प खोज्नुपर्ने आवाज चर्काे उठेको छ।

केही नेताहरुले यसमै बेस्सरी लबिङ सुरु गरेका छन्। 

‘चुनावमा जितहार मात्र होइन, नेताहरुको भविष्य पनि हेर्छन्,’ ती नेताले नेपालखबरसँग भने, ‘स्थानीय तहको हाम्रो बलियो पकड कसरी गुम्यो? किन हामी राष्ट्रिय दल नबन्ने अवस्थामा पुग्यौँ? यो चानचुने कुरा होइन अब कि कोर्स बदल्न पर्छ कि पार्टी नै अन्य वामपन्थी शक्तिसँग मिलाउनुपर्छ।’

माओवादीसँग एकता? 
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार (२४ मंसिर) पार्टी कार्यालयमा बसेको छ। 

अध्यक्ष माधवकुमार नेपाल आफैँ पनि पार्टी एकता संयोजन समिति बनाएर वाम घटक (माओवादी केन्द्र) लगायत कम्युनिष्ट शक्ति मिल्नुपर्ने पक्षमा रहेको एक नेताले बताए।

१ भदौमा बसेको समाजवादीको पदाधिकारी बैठकले माओवादीसँग पार्टी एकता गर्न संयोजन समिति बनाएर जाने निर्णय गरेको थियो। त्यसको संयोजक नै अध्यक्ष माधवकुमार नेपाललाई तोकेको थियो। 

त्यही भएर प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी परिणाम लगत्तै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता हुने चर्चा चलेको पनि छ।

उपाध्यक्ष प्रमेश हमाल र उपमहासचिव डा. विजय पौडेल पनि त्यही धारमा आफ्ना विचार राखिरहेका छन्। 

यसै विषयमा नेताहरु दैनिक औपचारिक, अनौपचारिक छलफलमा छन्।

तर, महासचिव बेदुराम भुसाल भने तत्काल माओवादीसँग एकता नहुने दाबी गर्छन्। 

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनुपर्ने कुरामा सहमत भए पनि माओवादीसँग एकताको वातावरण नबनेको उनले बताए। 

‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकतामा हामी प्रष्ट छौँ,’ भुसालले नेपालखबरसँग भने, ‘तर अहिले माओवादी केन्द्रसँग एकता गर्नेगरी कुनै छलफल, वार्ता र सम्वाद भएको छैन।’

उनले यही पार्टी रहने र बताए। ‘यही पार्टी रहन्छ र संरचना पनि यही हुन्छ,’ भुसालले भने। 

यो धारमा भुसाल र उपमहासचिव खतिवडा बढी सक्रिय छन्। 

‘आफ्नै पार्टी चलाउनुपर्छ कहिँ कतै मिल्नुहुँदैन भन्ने मत पार्टीभित्र बलियो छ,’ एक पदाधिकारी भन्छन्, ‘बल्ल बल्ल जन्मिनेबित्तिकै यत्रो सिट जितेको पार्टी बलियो हो।’

‘अध्यक्षसहित सबैले हारको जिम्मेवारी लिएर एक तह घटुवा हुन तयार बनौँ न, यसैले पार्टीलाई बलियो बनाउँछ,’ उनले थपे। 

एमालेसँग एकता?
एकीकृत समाजवादीभित्र देखिएको तेस्रो हो, एमालेसँग एकता गर्नुपर्छ भन्ने।

उपाध्यक्ष मुकुन्द न्यौपाने एमालेसँग मिलेर जानुपर्ने पक्षमा लबिङ गरिरहेका छन्। सम्मानित नेता झलनाथ खनाल पनि त्यतै ढल्कन खोजेको एक नेताले दाबी गरे।

‘एमालेसँग मिल्नुपर्छ भनेर बाहिर खुलेर नभने पनि हाम्रा श्रद्धेय सम्मानित नेता झलनाथ खनाल कमरेडको दिमागमा छ,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘उहाँ वेट एण्ड सी’ मा हुनुहुन्छ।’ 

तर, एमालेसँग मिल्ने कुरामा अध्यक्ष नेपालमात्र होइन, धेरै नेता असहमत छन्। 

कुनै पनि हालतमा एमालेसँग एकता गर्न नहुने अडान धेरै नेताको छ। 

उपमहासचिव प्रकाश ज्वालाले पार्टीभित्र तीन धारमा कुरा भइरहेको बताए।

‘आफ्नै निर्माण गर्ने, वाम–लोकतान्त्रिक मोर्चा बनाउने र गठबन्धनलाई निरन्तरता दिने,’ ज्वालाले नेपालखबरसँग भने, ‘माओवादी वा एमालेसँग मिल्नुपर्छ भन्ने केही नेताहरुको मत छ।’ 

३५ पदको बाँडफाँट तय गर्नेछ गठबन्धनको भविष्य
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी गठबन्धनको एक घटक दल पनि हो। बहुमतको सरकार बनाउन उक्त दलका सांसद निर्णायक छन्। 

त्यही भएर पनि शनिबार बसेको स्थायी कमिटीको बैठकमा चुनावी परिणामबारे समीक्षा भयो। अध्यक्ष नेपालले वर्तमान परिस्थितिबारेमा बैठकमा ब्रिफिङ गरेका थिए।

गठबन्धनबाहेक अन्यत्र जाने सम्भावना र परिस्थित नबनेको नेपालको निष्कर्ष थियो। 

नेताहरु कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग निरन्तर भेटवार्ता गरिरहेका अध्यक्ष नेपालले शक्ति बाँडफाँट गरेर गठबन्धनमै अघि बढ्ने संकेत गरेका थिए। 

एक नेताका अनुसार अध्यक्ष नेपालले मुख्य रुपमा गठबन्धनमै जोड दिएका थिए। अन्य परिस्थित अनुकुल नभएको विश्लेषण उनले उक्त बैठकमा सुनाएका थिए। 

मंसिर ४ को चुनावमा गठबन्धनसँगै आफ्नै मिहिनेतले पनि यो नतिजा सम्भव भएको उनले बताएका थिए। 

यता गठबन्धनभित्र भने संघदेखि प्रदेशसम्मका शक्तिशाली ३५ पद बाँडफाँटका लागि गृहकार्य भइरहेको छ। 

प्रधानमन्त्रीदेखि मुख्यमन्त्री, सभामुखदेखि प्रदेश उपसभामुखसम्म ३५ पदको बाँडफाँट गरेर सरकार बनाउने तयारी गठबन्धनको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .