ad ad

राजनीति


सरकार बनाउन कांग्रेसले गर्न सक्छ दोस्रो विकल्पको ‘होमवर्क’

यसरी पुग्छ गठबन्धनबाहिरबाट बहुमत
सरकार बनाउन कांग्रेसले गर्न सक्छ दोस्रो विकल्पको ‘होमवर्क’

फाइल तस्बिर


सागर न्यौपाने
मंसिर १९, २०७९ सोमबार १७:९, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम आएपछि नयाँ सरकार निर्माणको दौडधुप चलिरहेको छ।

खासगरी यो निर्वाचनमा ठूलो दल बनेको नेपाली कांग्रेस सरकार निर्माणका लागि बहुमत जुटाउने प्रयासमा छ।

कांग्रेसको यही प्रयासबीच सोमबार अपरान्ह बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ।

पहिलो दलका रुपमा प्रधानमन्त्रीमा दाबी गरिरहेको कांग्रेसले सत्ता गठबन्धन र बाहिरका दलसँग पनि छलफल तीव्र पारेको छ। 

उसले जनमत र नागरिक उन्मुक्तिसहितका साना दलका नेताहरुसँग पनि बाक्लो छलफल गरिरहेको छ।

प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ३३ सिट जित्ने निश्चित छ। दुवै जोड्दा ९० सिटसहित कांग्रेस पहिलो दल त बन्नेछ। तर, बहुमतको सरकार बनाउन उसलाई पर्याप्त जनमत छैन।

यस्तो अवस्थामा अन्य दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यतामा कांग्रेस छ।

कांग्रेसको रोजाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजावादी पार्टी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत गठबन्धन दलसँग मिल्ने पहिलो प्राथमिकता छ।

तर, गठबन्धनको सरकार बनाउँदा पहिलो प्रधानमन्त्री कुन दलबाट को हुने? 

गठबन्धनको बैठक सोमबार दिउँसो बसिरहेकाले यसबारे बैठकमा ठोस प्रस्ताव पेश भइसकेको छैन। 

माओवादी केन्द्रले सरकारको नेतृत्व आफूले पाउनुपर्ने अनौपचारिक रुपमा कांग्रेससमक्ष राखिसकेको छ।

ठूलो दल भएकोले कांग्रेसले सरकारको नेतृत्व छाड्न नसकिने प्रष्ट पारेको छ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको नेतृत्व छोड्न सक्ने अवस्था नभएको बताएका छन्। 

सरकारको नेतृत्व नपाए माओवादी प्रतिपक्षमा बस्न तयार हुनुपर्ने नेताहरुले दबाब दिइरहेका छन्।

कांग्रेस भने आफ्नै नेतृत्वमा सरकार बनाएर प्रतिपक्ष दललाई समेत विश्वासमा लिने योजनामा छ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अहिले देशको आर्थिक अवस्था सुधार गर्न प्रतिपक्षलाई साथमा लिएर सबै पक्ष र दलसँग मिलेर जानुपर्ने अवस्था आएको बताए।

गठबन्धन दलबाट सरकार बनाउन बहुमत संख्या पुग्छ । तर, माओवादीले सरकारको नेतृत्व नछोडेको अवस्थामा के गर्ने? यही गठबन्धनमा कांग्रेसले सरकारको नेतृत्व माओवादीलाई दिएर गठबन्धन कै सरकार बनाउन कति सम्भव छ?

अर्को विकल्प 
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक नेताका अनुसार त्यसबेला कांग्रेसले अर्काे विकल्पको अभ्यास गर्छ।

त्यो भनेको गैरकम्युनिष्ट सरकार गठनको गृहकार्य हो।

संसदमा कांग्रेसको ९० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीको १५, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, लोसपा ४, जनमत पार्टी ५ र नागरिक उन्मुक्ति पार्टी मिलेर सरकार बन्ने हिसाव भइरहेको छ।

राप्रपा र रास्वपा सरकारमा जाने नजाने प्रष्ट भइसकेको छैन। ती दलले आधिकारिक रुपमा यसबारे धारणा सार्वजनिक गरिसकेका छैनन्। 

कांग्रेसमा देउवा पक्षका नेताहरु गठबन्धनलाई नै अगाडि बढाउन हदैसम्म लचक हुनुपर्ने पक्षमै छन्।

तर, देउवाइतरका नेताहरुले भने कम्युनिष्टहरुलाई मात्रै बोकेर नहुने भएकोले दोस्रो विकल्पका लागि खुला हुनुपर्ने सुझाइरहेका छन्।

कांग्रेसका एक केन्द्रीय सदस्यले नेपालखबरसँग बताएअनुसार माओवादीले भित्रभित्र प्रधानमन्त्री बनाउन दिएको दबाब उचित छैन।

‘गैर कम्युनिष्ट नभनौं, तर धेरै बार्गेनिङ भए त्यस विकल्पमा जान सकिन्छ,’ ती नेताले भने, ‘बहुमतको सरकार बनाउन संख्या पनि पुग्छ।’

देउवाले भने गठबनधनबाहेक तत्काल अन्य विकल्पमा जान नहुने बताएका छन्। 

‘चुनावी परिणामले कसैको बहुमत नआए पनि ठूलो शक्ति हामी नै हो, हामीले एमालेसँग मिलेर सरकार बनायौ भने त्यसबेला अन्य दल के गर्छन्,?’ कांग्रेसका एक पदाधिकारीले नेताले प्रश्न गरे, ‘त्यसरी सरकार बनाउन विभिन्न शक्ति केन्द्रका सुझाव आइरहेका छन्। कांग्रेसलाई त्यसो गर्न सुझाव दिनेहरु पनि छन्।’

चुनावमा गठबन्धन गरे पनि सोचेजस्तो परिणाम नआएको केही ठाउँमा जित्ने उम्मेदवार पराजित भएको भन्दै माओवादीभित्र आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने सुझाव नेताहरुले अध्यक्ष प्रचण्डलाई दिइरहेका छन्।

सत्ताको नेतृत्व नपाए बरु प्रतिपक्षमै बसेर संगठन निर्माण, जनसम्बन्ध बढाउन प्रचण्डलाई सुझाव छ।

जनतातिर नफर्केको, सत्ता निर्माण र सिंहदबार कै वरिपरी घेरिएकोले पार्टी कमजोर भएको माओवादीका पदाधिकारी तहकै नेताहरुको विश्लेषण छ।

सरकारको नेतृत्व नगर्दा आफ्ना योजना कार्यान्वयन गर्न नसकिने भएकोले पनि आफैँले लिनुपर्ने माओवादीको अडान कायम रहे कांग्रेसलाई विकल्पतिर डोर्‍याउन केही नेताहरुले अध्ययन र छलफल थालेका छन्।

भित्रभित्र भइरहेका भेटघाट र हिसाब किताबमा त्यसरी सरकार बनाउन सकिने संख्या पुग्ने उनीहरुको विश्लेषण छ।

‘सरकार बनाउन आवश्यक बहमुत मजाले पुग्छ, एमाले र माओवादीबाहेक पनि बन्छ,’ छलफलमा रहेका एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘त्यसबेला कुन कुन दललाई मिलाउँछौँ, त्यो समय आएपछि देखाउनेछौं।’

कांग्रेसमा सभापति देउवा पक्षका नेताहरु गठबन्धनको विकल्प खोज्न नहुने पक्षमै छन्।

प्रवक्ता महतले अन्य विकल्पबारे अहिले सोच्ने बेला नभएको बताए।

‘गठबन्धनबाहेकको विकल्पका विषयमा अहिले सोच्ने बेला भएकै छैन,’ उनले भने, यहीँ मिल्छौँ, गठबन्धनले नै सरकार बनाउँछौँ। अहिलेसम्म मिल्ने नै देखिन्छ। यदि नमिले के गर्ने विकल्प त खुला नै छ, अहिले नमिल्ने नसोचौँ।’

उपसभापति खड्काले पनि गठबन्धनबाहेक अन्य नसोचेको बताए।

त्यो सोच्नुहुँदैन, गठबन्धनलाई लिएर जाने हो,’ खड्काले भने, ‘पहिलो र ठूलो पार्टी भएकोले सबैलाई मिलाउने दायित्व हाम्रो हो। कांग्रेसको ढंग पुगेन भने देश दुर्घटनामा पर्नसक्छ। त्यो दुर्घटनाबाट जोगाउनुपर्छ।’

आफूलाई भेट्न पुगेका नेताहरुसँग सभापति देउवाले पनि माओवादी र एकीकृत समाजवादीसँगै मिलेर सरकार बनाउने बताइरहेका छन्।

तर, माओवादीले सरकार बनाउन एउटा महत्वपूर्ण सिट संख्या जितेकोले उसलाई एमालेलगायतले साथ लिन खोजेको विषयमा कांग्रेस जानकारी छ। 

कांग्रेस–एमाले मिल्ने भय माओवादीलाई पनि छ।   

त्यसबाहेक कांग्रेसभित्रको विभिन्न नेताहरुको गुटगत संरचनाबारे माओवादी सचेत रहेकोले प्रधानमन्त्रीको अडान कायम नराख्ने कांग्रेसका देउवा पक्षीय नेताहरुको विश्लेषण छ।

‘माओवादी अध्यक्ष प्रचण्डमा त्यस्तो नमिल्ने अडान केही पनि छैन,’ उपसभापति खड्काले थपे, ‘उहाँ मिलेरै जानुपर्ने पक्षमा हुनुहुन्छ।’

कांग्रेसभित्र माओवादीको साथ छोड्न दबाब भने छ। केही नेताहरु खुलेर त्यो क्याम्पियनमा लागेका छन्। 

यहाँनेर, त्यसो गर्दा राप्रपा र रास्वपा सरकारमा आएन भने के गर्ने? कांग्रेस एक्लैले सरकार बनाउने सम्भावना पनि छैन।

नेताहरुले कम्युनिष्टलाई सरकार बाहिर राख्न सके पछिको चुनावमा माहोल आफ्नो पक्षमा पार्न सकिने विषयलाई विश्लेषण गरेर अहिले कदम चाल्न कांग्रेसका केही नेताहरु लविङ गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .