ad ad

राजनीति


एमालेको आरोप : मन्त्रीहरु हार्ने भएपछि धाँधली गरे, आयोगले पनि भेदभाव गर्‍यो

एमालेको आरोप : मन्त्रीहरु हार्ने भएपछि धाँधली गरे, आयोगले पनि भेदभाव गर्‍यो

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०७९ सोमबार १९:४, काठमाडौँ

नेकपा एमाले बहालवाला मन्त्रीहरु चुनावी प्रतिस्पर्धामा रहेका निर्वाचन क्षेत्रहरुमा मतगणनामै धाँधली गर्न खोजिएको आरोप लगाएको छ।

देशका विभिन्न जिल्लामा मंसिर ४ को निर्वाचनपछि ९ दिन बितिसक्दा पनि मतगणना नसकिएको सन्दर्भमा एमालेले यस्तो भनेको हो।

एमाले महासचिव शंकर पोखरेलले सोमबार निर्वाचन आयोगलाई एक पत्र लेख्दै बहालावाला मन्त्रीहरु उठेको निर्वाचन क्षेत्रमा राज्यशक्तिको दुरुपयोग गर्न खोजिएको उल्लेख गरेका छन्। 

एमालेले उदयपुर क्षेत्र नम्बर १ र सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेसका नेतासमेत रहेका मन्त्रीहरुले बदमासी गरेको आरोप लगाएको हो। उदयपुर १ मा परराष्ट्र मन्त्री डा. नारायण खड्का र सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की चुनावी मैदानमा छन्। 

'उदयपुर क्षेत्र नं. १ मा कतिपय मतदान केन्द्रमा अतिरिक्त मतपत्र गणनाका क्रममा फेला परेका छन्', एमालेले भनेको छ, 'गणनाअघिभन्दा शंकास्पद अवस्थामा मतपेटिका फेला परेकोले ती स्थानमा समेत पुनः मतदानको व्यवस्था गरियोस्।' 

त्यसैगरी एमालेले सुनसरी ४ मा मन्त्री कार्कीको दबाबमा मतगणना रोकिएको भन्दै अघि बढाउन माग गरेको छ। 'सुनसरी–४ को मतगणना क्रममा बहालवाला मन्त्री (उम्मेदवार) को दबाबमा मतगणना स्थगित गरिएको छ', एमालेले भनेको छ, 'मतगणना पुनः सुरु गरियोस्।' 

एमालेले धनुषा क्षेत्र नं. २ मा मतगणना गर्दा सदर हुनुपर्ने मत बदर गरिएकोले त्यसमा पुनः मतगणना गरिनुपर्ने माग गरेको छ। त्यहाँ एमाले उम्मेदवार उमाशंकर अरगरिया झिनो मतले पराजित भएका छन्। 

त्यसैगरी काभ्रे निर्वाचन क्षेत्र नं. १ को 'ख' मा प्रदेशसभाको मतगणना गर्दा सदर हुनुपर्ने मतलाई गणना नगरिएकाले पनि पुनःमतगणना माग गरिएको छ।

एमालेले स्याङ्जामा मरेका मान्छेका नाममा पनि मतदान भएको जनाएको छ। 'निर्वाचनमा मतदाताले स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्दछ । एउटाको मत अर्को व्यक्तिले आफुखुशी खसाउने, मृत्यु भएका, विदेशमा रहेका र निर्वाचनमा जिल्ला बाहिर खटिएको व्यक्तिले मतदान गरेको वा बुथ कब्जा भएको अवस्थामा पुनः शान्ति सुरक्षा मिलाई मतदान गर्नु-गराउनु निर्वाचन आयोगको कर्तव्य हो', महासचिव पोखरेले भनेका छन्, 'निर्वाचन आयोगले आफ्नो कर्तव्यबाट च्युत भई सत्ता गठबन्धनको उम्मेदवारको पक्षपोषण नगरी पुनःमतदानको आदेश गर्न र तदअनुरुप नै मतदान सम्पन्न गराउन अनुरोध गर्दछौँ।'

एमालेले मतगणनामा निर्वाचन क्षेत्रअनुसार मत बदर र सदर सम्बन्धमा फरक–फरक मापदण्ड अपनाउने गरेको भन्दै आलोचना गरेको छ।

'निर्वाचित भएको व्यक्तिलाई कसैलाई प्रमाणपत्र तत्काल लिने र कसैलाई नदिई राख्ने कार्य पूर्णतः कानून प्रतिकुल छ', उसले भनेको छ, 'एमालेका उम्मेदवार वसन्त नेम्वाङलाई पाँचथरमा निर्वाचित भएको प्रमाणपत्र नदिई रोक्ने कुराले सत्ता गठबन्धन धाँधली गर्ने तयारीमा लागेको छ भन्ने आशंका सिर्जना भएको छ। यसैले निर्वाचित प्रमाण–पत्र दिन आग्रह गर्दछौँ।'

एमालेले  यसरी नै प्रत्यक्षतर्फ र समानुपातिकमा प्रत्येक निर्वाचन क्षेत्रबाट प्राप्त समानुपातिकतर्फको मतहरु उपलब्ध गराउन पनि भनेको छ। कूल योगफल मिले-नमिलेको हेर्न सकिने गरी पारदर्शिता अपनाउने व्यवस्था मिलाउन पनि एमालेले माग गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .