ad ad

राजनीति


मधेश प्रदेश : सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

मधेश प्रदेश : सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

टीकाराम सुनार
मंसिर १२, २०७९ सोमबार ९:२२, जनकपुरधाम

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले  स्पष्ट बहुमत प्राप्त गर्न सकेनन्। 

संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धन थियो। तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने निश्चित देखिएको छ। प्रदेशसभामा प्रत्यक्षतर्फका ६३ क्षेत्रको नतिजा आउँदा वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले २८ र एमाले नेतृत्वको गठबन्धनले २२ सिट जितेको छ। अन्तिम नतिजा आउन बाँकी धनुषा ४ (२) मा एमाले उम्मेदवार अगाडि छन्। 

वाम लोकतान्त्रिक गठबन्धनका दलमध्ये कांग्रेसले १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सात, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेशसभामा चार/चार सिट जितेका छन्। यो गठबन्धनमा कांग्रेसले सप्तरी–३ (१), धनुषा– ३ (१), धनुषा–४ (१), सर्लाही–२ (१), सर्लाही–२ (२), सर्लाही–४ (१), रौतहट–१ (१), रौतहट–१  (२), रौतहट–३ (२), पर्सा–२ (१), पर्सा–३ (२), पर्सा–४ (१) र धनुषा १ (१) मा जितेको छ। 

त्यसैगरी लोसपाले पर्सा–२(२), महोत्तरी–२ (१), महोत्तरी–३ (१), महोत्तरी–३(२), सर्लाही–१(१), सिरहा–४(२) र बारा–४(२) मा जितेको छ । माओवादी केन्द्रले सर्लाही–४(२), महोत्तरी–१(२), रौतहट–४(१) र पर्सा–१(१) मा जितेको छ भने एकीकृत समाजवादीले रौतहट–२(२), सर्लाही–१(२), सिरहा–३(२) र सप्तरी–४(१) मा जितेको हो। 

एमाले–जसपा गठबन्धनमा एमालेले १४ र जसपाले नौ स्थानमा जितेको छ। एमालेले सप्तरी–१(१), सिरहा–१(१), सिरहा–२(२), सिरहा ३(१), धनुषा–१(१), धनुषा–२(१), धनुषा–३(२), रौतहट–२(१), बारा–१(१), बारा ३(१), बारा–४(१), बारा–३(२), महोत्तरी १(१) र महोत्तरी ४(१) मा जितेको छ। जसपाले धनुषा–२(२), पर्सा–१(२), पर्सा–४(२), बारा–१(२), रौतहट–४(२), सर्लाही–३(२), सिरहा–१(२), बारा–२(२) र महोत्तरी ४(२) मा जितेको हो। 

यी दुई गठबन्धनबाहेक जनमत पार्टीले ६ र स्वतन्त्र उम्मेदवारले ६ क्षेत्रमा जितेका छन्। जनमत पार्टीले सप्तरी–१(२), सप्तरी–२(१), सप्तरी–२(२), सप्तरी–३(२), सिरहा–४(१) र सिरहा–२(१) मा जितेको छ भने स्वतन्त्र उम्मेदवारले पर्सा–३(१), बारा–२(१), महोत्तरी–२(२), रौतहट–३(१), सर्लाही–३(१) र सप्तरी–४(२) मा जितेका हुन्। 

समानुपातिकतर्फको अहिलेसम्मको मतअनुसार तीन लाख १७ हजार एक सय १४ मतसहित कांग्रेस पहिलो र दुई लाख ८१ हजार नौ सय दुई मतसहित एमाले दोस्रो स्थानमा छ। त्यसैगरी जसपाले दुई लाख २७ हजार चार सय ७०, जनमत पार्टीले दुई लाख २१ हजार आठ सय ६७, माओवादीले एक लाख ४० हजार आठ सय २८, एकीकृत समाजवादीले ९३ हजार चार सय ६२ र लोसपाले ८० हजार पाँच सय ८० मत प्राप्त गरेको छ।   

अघिल्लो निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ सङ्घीय समाजवादी फोरम (हालको जसपा) ले १९ र राष्ट्रिय जनता पार्टी (हालको लोसपा) ले १५ गरी ३४ सिट जितेका थिए। एक सय सात सदस्यीय मधेश प्रदेशसभामा समानुपातिकसहित जसपाको २९ र लोसपाको २५ सहित स्पष्ट बहुमत थियो। त्यो बेला एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ११ र सङ्घीय समाजवादी नेपाल पार्टी नेपालको एक सिट जोड्दा पनि सरकार बन्ने अवस्था थिएन। अहिले भने यी दुवै गठबन्धनले स्पष्ट बहुमत नल्याएपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने देखिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .