ad ad

राजनीति


पूर्व परराष्ट्रमन्त्रीहरूलाई पनि फापेन चुनाव

पूर्व परराष्ट्रमन्त्रीहरूलाई पनि फापेन चुनाव

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार २३:४५, काठमाडौँ

मंसिर ४ मा सम्पन्न निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी छ। अहिलेसम्म मुलुकका १६५ मध्ये १३८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।

सार्वजनिक नतिजाअनुसार यसपालिको निर्वाचन पूर्व परराष्ट्रमन्त्रीहरुका लागि प्रत्युत्पादक देखिएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका नेताहरू चुनाव हारेका छन्। 

विगतका सरकारहरूमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका कांग्रेस नेतृ सुजाता कोइराला, एमाले नेता प्रदीप ज्ञवाली, जसपा अध्यक्ष उपेन्द्र यादव र राप्रपा नेपालका अध्यक्ष कमल थापाका लागि चुनाव अफाप सिद्ध भएको छ।

सत्ता गठबन्धनले कांग्रेसका तर्फबाट मोरङ–२ मा उम्मेदवार बनाएकी पूर्वपरराष्ट्र मन्त्री सुजाता कोइराला नेकपा एमालेका ऋषिकेश पोखरेलसँग पारजित भएकी छन्। निर्वाचन आयोगका अनुसार पोखरेल ३३ हजार १ सय ४८ मतसहित विजयी भएका हुन्। कोइरालाले ३१ हजार ९४० मत प्राप्त गरेकी छन्।

अर्का पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मी–१ बाट कांग्रेस नेता चन्द्र भण्डारीसँग पराजित हुनु परेको छ। भण्डारी ३२ हजार ५७३ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा ज्ञवालीले ३१ हजार ३९६ मतमा चित्त बुझाउनु परेको छ। 

पूर्व परराष्ट्रमन्त्री उपेन्द्र यादव सप्तरी–२ मा डा. सीके राउतसँग पराजित भएका छन्। जसपा अध्यक्षसमेत रहेका यादव जनमत पार्टीका अध्यक्ष राउतसँग १८ हजार बढी मतले पराजित भएका हुन्। 

मधेशमा मुलुक विखण्डनको नारा लगाएर मुलधारको राजनीतिमा प्रवेश गरेका राउन ३५ हजार ४२ मतका साथ निर्वाचित हुँदा पूर्व परराष्ट्रमन्त्री यादवले १६ हजार ९७९ मत पाएका छन्। 

अर्का पूर्व परराष्ट्रमन्त्री कमल थापा मकवानपुर–१ मा प्रतिनिधिसभा सदस्यमा पराजित हुन पुगेका छन्। एमालेको समर्थन पाएका राप्रपा नेपालका अध्यक्ष थापा राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहसँग पराजित हुनु परेको हो। 

निर्वाचन आयोगका अनुसार विजयी सिंहले २७ हजार ७२६ मत पाउँदा २५ हजार ४२३ मतसहित थापाले तेस्रोमा चित्त बुझाउनु परेको छ। दोस्रो भएकी कांग्रेस सहमहमन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले २५ हजार ६८२ मत पाएकी छन्। 

यसअघि विगत ५ वर्ष यता स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका नेताहरु उमेश श्रेष्ठ, हृदयश त्रिपाठी, शेरबहादुर तामाङ, उपेन्द्र यादव, भानुभक्त ढकाल र विरोध खतिवडालाई पनि यसपालिको निर्वाचन अफाप सिद्ध भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .