ad ad

राजनीति


लुम्बिनीमा सत्ता गठबन्धन : दाङमा सफल, अर्घाखाँचीमा पूरै असफल

लुम्बिनीमा सत्ता गठबन्धन : दाङमा सफल, अर्घाखाँचीमा पूरै असफल

फाइल तस्बिर


सुदीप भण्डारी
मंसिर ९, २०७९ शुक्रबार ११:३२, बुटवल

तीन निर्वाचन क्षेत्र रहेको दाङमा ५ दलीय गठबन्धनलाई पूरै सफलता मिलेको छ। यहाँ प्रतिनिधि सभा र प्रदेश सभामा एमाले क्लिन स्वीप भएको छ। 

गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार दाङ १ बाट एकीकृत समाजवादीका मेटमणी चौधरी विजयी भएका छन्। उनले एमालेकी शान्ता चौधरीलाई ५ हजार ८४ मतान्तरले पराजित गरे। 

२ नम्बर क्षेत्रमा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भइन्। उनले एमाले महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले पछि पारिन्।

दाङ ३ कांग्रेसका दीपक गिरीले एमालेकी कोमल वलीलसँग ७ हजार ८१० मतान्तरले जित निकाले।

तीनवटा प्रतिनिधि सभामा मात्रै होइन, ६ वटै प्रदेश सभा क्षेत्रमा गठबन्धनका उम्मेदवारले सफलता हात पारेका छन्। जसमध्ये ४ वटामा कांग्रेस र २ वटामा माओवादी केन्द्र विजयी भयो। 

दाङ क्षेत्र नम्बर १ ‘क’ मा माओवादी केन्द्रका इन्द्रजित थारु र १ ‘ख’ मा कांग्रेसका अनुराग खड्काले बाजी मारेका छन्। 

दाङ २ ‘क’ मा कांग्रेसका राजु खनाल र २ ‘ख’ मा कांग्रेसकै प्रचण्डविक्रम न्यौपाने विजयी भएका छन्। 

क्षेत्र नम्बर ३ ‘क’ मा कांग्रेसका डिल्लीबहादुर चौधरी र ३ ‘ख’ मा माओवादी केन्द्रका धनबहादुर मास्केले जित निकाले। 

गत स्थानीय चुनावमा एमाले जिल्लाको दुई उपमहानगर तुलसीपुर र घोराहीमा अधिकांश वडासहित विजयी भएको थियो। 

स्थानीय चुनावमा गठबन्धनले सफलता हात नपारे पनि संसदीय चुनावमा दाङमा एमालेलाई परास्त गर्न सफल भएको छ। 

दाङमा गठबन्धन पूरा कार्यान्वयन हुँदा अर्घाखाँचीमा भने गठबन्धनको उपलब्धी शुन्य छ। यहाँ एउटा प्रतिनिधि सभा र दुवै प्रदेशसभामा एमाले विजयी भएको छ। 

प्रतिनिधि सभामा एमालेका टोपबहादुर रायमाझीले कांग्रेसकी पुष्पा भुसाललाई १ हजार ७३० मतान्तरले पराजित गरे। 

प्रदेश सभा ‘क’ मा एमालेका चेतनारायण आचार्य र ‘ख’ मा रामजीप्रसाद घिमिरे विजयी भए।

गत स्थानीय चुनावमा पनि गठबन्धनले अर्घाखाँचीमा कम्जोर प्रदर्शन गरेको थियो। तर त्यसबेला कांग्रेसले मुस्किलले २ वटा पालिका जितेको थियो। 

प्रदेशका अन्य जिल्लामा पनि गठबन्धनले आशालाग्दो सफलता हात पार्न सकेन। कुनै जिल्लामा त कमजोर देखियो। 

गुल्मी २ मा प्रतिनिधि सभा र प्रदेशका तीनवटै सिट एमालेले हात पारेको छ। १ नम्बर क्षेत्रको गणना जारी छ। 

गतगणनाको क्रममा थोरै मतान्तरले एमालेका प्रदीप ज्ञवाली र चन्द्र भण्डारी अघिपछि भइरहेका छन्। दुवै प्रदेश सभामा थोरै मतान्तरले एमाले अघि छ। 

पाल्पामा गठबन्धन एमाले भन्दा कमजोर देखिएको छ। मतगणनाका क्रममा प्रतिनिधि सभाका दुबै क्षेत्रमा एमाले अगाडि छ। 

क्षेत्र नम्बर १ मा एमालेका नारायण आचार्य कांग्रेसका ज्ञानवहादुर गाहाभन्दा फराकिलो अन्तरले अगाडि छन्। प्रदेश सभा १ ‘क’ मा एमालेका राजुप्रसाद श्रेष्ठ विजयी भएका छन्। १ ‘ख’ मा एमालेकै उम्मेद्वार खेमबहादुर सारु अगाडि छन्। 

क्षेत्र नम्बर २ मा एमालेका ठाकुर गैर एकीकृत समाजवादीका सोमप्रसाद पाण्डे भन्दा अगाडि छन्। प्रदेश सभामा २ ‘क’ मा कांग्रेसका विरवहादुर थापा विजयी भएका छन्। २ ‘ख’ मा माओवादी केन्द्रका तुलाराम घर्ति मतगणनामा अगाडि छन्। 

नवलपरासी पश्चिममा गठबन्धनलाई आंशिक सफलता हात लागेको छ। क्षेत्र नम्बर १ मा कांग्रेसका विनोद चौधरी विजयी भएका छन्। प्रदेश सभाको १ ‘क’ मा कांग्रेस विजयी भएको छ भने १ ‘ख’ मा जितनजिक छ। 

क्षेत्र नम्बर २ को प्रतिनिधि सभा गुमाउनुपरेको छ। प्रतिनिधिसभामा राप्रपाका धु्रवबहादुर प्रधान विजयी भएका छन्। प्रदेश सभामा २ ‘क’ स्वतन्त्र उम्मेद्वार खड्ग बस्नेत विजयी हुँदा २ ‘ख’ मा कांग्रेसका बैजनाथ कलावर जितनजिक छन्। 

रुपन्देहीमा गठबन्धन कम्जोर देखिएको छ। कांग्रेसले प्रदेशका २ सिट मात्र जितेको छ। क्षेत्र नम्बर ३ मा बालकृष्ण खाणले दिपक बोहोरासँग अघिपछि भइरहेका छन्। 

अरु क्षेत्रमा कांग्रेस पराजित भइसकेको छ। माओवादीले पाएको कुनै सिटमा पनि जित निकाल्न सकेन। क्षेत्र नम्बर ४ मा लोसपाका सर्वेन्द्र शुक्ला विजयी भएपनि उनी कांग्रेस माओवादीको गठबन्धनमा थिएनन्। 

कपिलवस्तुमा गठबन्धन निकै कम्जोर देखिएको छ। १ क्षेत्रमा एमाले विजयी भइसकेको छ २ वटा क्षेत्रमा उसको अग्रता कायम छ। प्रदेश सभाका ४ क्षेत्रमा एमाले विजयी हुँदा मतगणनामा कांग्रेस एउटामा मात्रै अगाडि छ। 

प्युठानमा प्रतिनीति सभा र एउटा प्रदेश सभा एमालेले जित्दा एउटा प्रदेश सभामा कांग्रेस विजयी भएको छ। 

रोल्पामा प्रतिनिधि सभा र एउटा प्रदेश सभामा माओवादी केन्द्र विजयी भएको छ। कांग्रेसलाई छोडेको अर्को प्रदेश सभामा क्षेत्रमा माओवादीका बागीले जित्दा कांग्रेसलाई घाटा लागेको छ।

रुकुम पूर्वमा प्रतिनिधि सभामा माओवादी केन्द्र विजयी भएको छ। एउटा प्रदेश सभामा कांग्रेस विजयी हुँदा अर्कोमा माओवादीका आफ्नै बागीले जित्दा गठबन्धनलाई खासै घाटा देखिएको छैन।

बाँके जिल्लामा कांग्रेस माओवादीको गठबन्धन निकै कम्जोर बनेको छ। प्रतिनिधि सभाका ३ क्षेत्रमध्ये कांग्रेसले एउटा क्षेत्र र एउटा प्रदेश सभा क्षेत्रमा जित निकाल्न सकेको छ। एउटा प्रदेश क्षेत्रमा माओवादी विजयी भएको छ। 

बर्दियामा गठबन्धनले आधा सफलता पाएको छ। प्रतिनिधि सभाका २ वटा क्षेत्रमध्ये कांग्रेसले एउटा क्षेत्र र दुई वटा प्रदेश क्षेत्रमा विजयी भएको छ। 

लुम्बिनी प्रदेशमा प्रतिनिधि सभा तर्फ २६ क्षेत्रमध्ये कांग्रेस ले ४ क्षेत्रमा विजयी भएको छ। ३ वटामा माओवादी केन्द्र र एउटामा एकीकृत समाजवादी विजयी भएको छ। यता एमालेले भने ६ वटा ठाउँमा जित निकालेको छ। 

त्यस्तै लोसपा, राप्रपा र स्वतन्त्र उम्मेद्वारले एक एक क्षेत्र जितेका छन्। अरु केही ठाउँमा गणना चलिरहेको छ। प्रदेश सभा तर्फ पनि जितेको र गणना भइरहेको ठाउँ गरेर एमाले अगाडि देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .