नेकपा एमालेका तर्फबाट दार्चुलामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका गणेशसिंह ठगुन्नाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई झण्डै साढे चार सय मतले पछि पारेका छन्।
दार्चुलाको निर्वाचन अधिकृतको कार्यालयले बुधबार बिहान साढे ४ बजे सार्वजनिक गरेको मतपरिणाममा उनी मन्त्री बडूभन्दा ४ सय ३६ मतले अगाडि देखिएका छन्।
गणना सम्पन्न भएका १८ हजार २४२ मतमध्ये एमाले उम्मेदवार ठगुन्नाले ८ हजार ९५७ र मन्त्री बडूले ८ हजार ५२१ मत प्राप्त गरेका छन्। दार्चुलामा अहिलेसम्म बदर मतको संख्या ४९७ पुगेको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म अपिहिमाल गाउँपालिका, व्याँस गाउँपालिका र शैल्यशिखर नगरपालिकाको गणना सम्पन्न भएको छ। महाकाली नगरपालिका र गाउँपालिकाहरु दुहुँ, मालिकार्जुन, लेकम, मार्मा तथा नौगाडको मतगणना हुन बाँकी छ।

प्रतिक्रिया