ad ad

राजनीति


प्रदेश १ मा १०६ पालिकाको नतिजा आउँदा महिला प्रमुख तीन जना मात्रै

प्रदेश १ मा १०६ पालिकाको नतिजा आउँदा महिला प्रमुख तीन जना मात्रै

उजिर कार्की
जेठ ५, २०७९ बिहिबार १६:२०, काठमाडौँ

प्रदेश १ का १०६ पालिकाको मत परिणाम सार्वजनिक हुँदा तीन जना महिला मात्रै पालिका प्रमुखमा निर्वाचित भएका छन्। सोलुखुम्बुमा एक जना र खोटाङमा दुई जना महिलाले चुनाव जितेका हुन्।

मतगणना सकिएका बाँकी कुनै पनि जिल्लामा महिला मेयर तथा अध्यक्षमा निर्वाचित भएका छैनन्। झापामा दुई जना महिला निर्वाचित हुने सम्भावना छ। अरु जिल्लामा भने प्रमुखमा महिला प्रतिस्पर्धामै छैनन्। 

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा विमला राई निर्वाचित भएकी छन्। नेपाली कांग्रेसकी उम्मेदवार विमलाले एमाले–माओवादी गठबन्धनका खडेन्द्र राईलाई पराजित गरेकी हुन्।

यस्तै खोटाङकै जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रकी अरुणादेवी राई निर्वाचित भएकी छन्। यो पालिकामा माओवादीको कांग्रेससँग गठबन्धन थियो। एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अरुणा प्रमुखमा निर्वाचित भएकी हुन्। 

एमालेले जिल्लाकै बराहपोखरी गाउँपालिका र खोटाहाङ गाउँपालिका प्रमुखमा पनि महिला उम्मेदवार प्रमुखमा उठाएको थियो। तर उनीहरु दुवै जना पराजित भए। 

सोलुखुम्बुका ८ वटा पालिकामा एउटै मात्र प्रमुखमा महिला उम्मेदवार थिइन्। लिखुपिके गाउँपालिकामा मीनादेवी कार्की निर्वाचित भएकी हुन्। उनी नेपाली कांग्रेसबाट उम्मेदवार थिइन्। माओवादीका डम्बरबहादुर बस्नेतलाई पराजित गर्दै उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी हुन्। जिल्लाका अरु ७ पालिकामा भने पुरुष नै प्रमुखमा निर्वाचित भएका छन्। 

जिल्लाका सबै पालिकामा प्रमुख दलहरुले प्रमुखमा पुरुष र उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएका थिए। 

मतगणना सकिएका बाँकी ७ जिल्लाको प्रमुखमा एक जना पनि महिला निर्वाचित हुन सकेनन्। ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको प्रमुखमा एमालेले इच्छाकुमारी गुरुङलाई उम्मेदवार बनाए पनि उनी पराजित भइन्। 

ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, भोजपुर र धनकुटाका कुनै पनि पालिमकामा प्रमुखमा मुख्य दलहरुले महिलालाई टिकट नै दिएका थिएनन्। 

झापाबाट दुई महिला निर्वाचित हुने सम्भावना
मतगणना भइरहेका ५ जिल्लामध्ये अब झापाबाट मात्रै महिला प्रमुखमा निर्वाचित हुने सम्भावना छ। त्यहाँ प्रमुखमा दुई वटा पालिकामा महिलाले अग्रता लिएका छन्। 

विर्तामोड नगरपालिकाबाट एमालेकी पवित्रादेवी महतारा निर्वाचित हुने सम्भावना छ। उनले कांग्रेसका भोजराज सिटौलालाई ७ सय मतले पछि पारेकी छन्। त्यहाँ मत गणना भइरहेको छ। 

यस्तै गौरीगञ्ज गाउँपालिकाको प्रमुखमा पनि कांग्रेसकी फूलवती राजवंशीले अग्रता लिएकी छन्। उनले एमालेका विजयकुमार अग्रवाललाई झण्डै २ सय मतले पछि पारेकी छन्। त्यहाँ पनि मत गणना भइरहेकाले प्रमुखमा महिला निर्वाचित हुने निश्चित भइसकेको छैन। 

झापाका अन्य पालिकामा पनि प्रमुख दलहरुले प्रमुखमा महिलालाई उम्मेदवार बनाएका थिए। तर उनीहरु पछि परेका छन्। दमक नगरपालिकामा एमालेकी गीताकुमारी पौडेल राप्रपाका रामकुमार थापाभन्दा पछि परेकी छन्। 

अर्जुनधारा नगरपालिकाको प्रमुखमा कांग्रेसले प्रमुखको उम्मेदवार बनाएकी रञ्जिता कार्की पनि एमालेका बलदेव सिंह गोम्देल तामाङभन्दा झण्डै एक हजार मतले पछि परेकी छन्। बुद्धशान्ति गाउँपालिकामा एमालेले प्रमुखको टिकट दिएकी मीरा भुर्तेलको पनि जित्ने सम्भावना कमजोर हुँदै छ। 

उनी कांग्रेसका मनोज प्रसाईंभन्दा १४ सय मतले पछि परेकी छन्। १५ पालिका रहेको झापाका ५ वटा पालिकाको मात्रै मतगणना सकिएको छ।  

सुनसरीका ८, इलामका २, मोरङका ९ र उदयपुरका २ वटा पालिकामा मतगणना भइरहेपछि प्रमुखमा महिला आउने सम्भावना देखिएको छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .