ad ad

राजनीति


नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च छः राष्ट्रपति भण्डारी

नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च छः राष्ट्रपति भण्डारी

नेपालखबर
असोज २५, २०७६ शनिबार १६:१२,

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताएकी छन्। आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा आज साँझ यहाँ आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै उनले पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताइन्।

राष्ट्रपति भण्डारीले भनिन्, ‘पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ।’ उनले नेपाल र चीनबीचको सम्बन्ध हिमाल तथा नदीहरुद्वारा जोडिएको, दुई देशबीच शदियौँदेखि सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षु, फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएको स्मरण गरिन्।

नेपाललाई भूजडित बनाउन चीनले सघाउने

प्रत्युत्तरमा राष्ट्रपति सीले कान्तिपुर नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरुलाई भेटेको र नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकामा आफूलाई अत्यन्त खुशी लागेको बताए। उनले चीन र नेपालबीच राजनीतिक एवं जनस्तरमा अझ घनिष्ठ सम्बन्ध कायम भएको र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा पारस्परिक मैत्री अझ झाँगिएको बताए। नेपाल र चीनका विभिन्न शहरबीच भगिनी सम्बन्ध कायम गरिने बताउँदै उनले दुई देशबीचको पारस्परिक मैत्री अङ्कुर होस् भन्ने कामना गरे।

‘हामीबीचको आधा शताब्दीभन्दा बढीको सम्बन्धले विश्वमै नमूना पेश गरेको छ, हाम्रो सम्बन्धमा केही समस्या छैन, मित्रता मात्र छ’, उनले भने। चिनियाँ राष्ट्रपतिले राष्ट्रपति भण्डारी र आफू विकासका चुनौतीलाई सामना गर्दै अघि बढिरहेको बताए। उनले भने, ‘भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्नेछ। बढीभन्दा बढी व्यापारिक नाका खोल्न पनि चीन तयार छ। भूकम्पपछिको पुनःनिर्माणमा अझ सहायता वृद्धि हुनेछ।’

शैक्षिक क्षेत्रमा लगानी बढाउने, बढीभन्दा बढी चिनियाँलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने र जलवायु परिवर्तनसम्बन्धी नेपालको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिले हाम्रो साझा गृह पृथ्वीको रक्षा र सगरमाथा क्षेत्रको पर्यावरणीय सन्तुलन कायम गर्न पनि सघाइने दृढता व्यक्त गरे। विकास निर्माणका निम्ति हामीले तयार पारेका योजना र खाकालाई कार्यान्वयन गरेरै छाड्ने दृढता उनले व्यक्त गरे। आइतबार आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पारस्परिक हित र साझा चासोका विषयहरुमा विचार आदानप्रदान गर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .