ad ad

राजनीति


कस्मिर विवाद काठमाडौं आइपुग्यो

कस्मिर विवाद काठमाडौं आइपुग्यो

मणि दाहाल
असोज ९, २०७६ बिहिबार १४:३३,

कस्मिरमा देखिएको समस्याबारे बिहीबार राजधानी फरक–फरक दुई कार्यक्रम आयोजना भए। कस्मिरको विषयमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न भारत र पाकिस्तानी पक्षले कार्यक्रम गरी आ–आफ्ना तर्क राखेका हुन्।

पाकिस्तानी दूतावासमा बिहीबार जम्मु–कस्मिरको पछिल्लो मानवअधिकार अवस्था शीर्षकमा कार्यक्रम आयोजना गरियो। त्यसैगरी नीति अनुसन्धान प्रतिष्ठान र नेसनल ल क्याम्पसको संयुक्त आयोजनामा एउटा रेष्टुराँमा अर्को कार्यक्रम गरिएको छ।

पाकिस्तानले कार्यक्रममार्फत् कस्मिरमा भएको मानवअधिकार उल्लंघनको विषयलाई उठाएको छ। भारतले कस्मिरको विषयमा लिएको निर्णय आन्तरिक मामिला भएको तर्क गरेको छ।

भारतको संविधानका धारा ३७० यथार्थ र धारणा विषयमा कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी, राष्ट्रिय स्वयमसेवक संघ(आरएसएस)का प्रचारक अरुण कुमारले भारतीय निर्णयको बचाउ गरेका थिए। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा) हिन्दु राष्ट्रवादी सांस्कृतिक समूह आरएसएसको राजनीतिक मोर्चा हो ।

पाकिस्तानी दुतावासमा आयोजना गरिएको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाभेदले भारत सरकारले कस्मिरमा लामो समयदेखि कफ्र्यु लगाएका स्थानीय बासिन्दाको मानवअधिकार उल्लंघन गरेको बताए। जाभेदले जम्मु कस्मिरमा कफ्र्यु जारी रहेको, इन्टरनेट र मोवाइल बन्द गराइएको बताए।

‘जम्मु–कस्मिरको पछिल्लो मानव अधिकारको अवस्था’ शीर्षकको कार्यक्रममा बोल्दै राजदुत जाभेदले कफ्र्युकै कारण स्थानीय अमरनाथ यात्रा प्रभावित भएको समेत बताए। ‘भारतले हजारौं युवालाई गिरफ्तार गरेको छ,’ कार्यक्रममा जाभेदले भने। कार्यक्रममा जाभेदले कस्मिरका विषयमा मौनता साध्नु समाधान नभएको तर्क गरेका थिए।

भारतले अगस्ट ५ मा जम्मु कस्मिरलाई विशेष राज्यका दर्ता दिने धारा ३७० सत्तरी खारेज गर्ने निर्णय गरेदेखि नै पुरै उत्तरी हिमाली क्षेत्रको विषयमा भारत र पाकिस्तानबीच तनाव चुलिएको छ।

प्रतिष्ठाले आयोजना गरेको कार्यक्रममा कस्मिर भारतको आन्तरिक मामिला भएको तर्क गरियो। कार्यक्रममा प्रचारक अरुण कुमारले पाकिस्तानको संविधानमा ६ वटा प्रदेश मात्रै रहेको कस्मिरको कहिकतै उल्लेख नभएको भन्दै पहिलेदेखि नै यो भारतको अंग भएको तर्क गरेका थिए। ‘कस्मिरमा जहिले पनि भारतको कानुनअनुसार निर्वाचन हुँदै आयो। केही विशेष व्यवस्थाका लागि धारा ३७० को व्यवस्था गरिएको हो। यो पूर्ण रुपमा आन्तरिक विषय हो,’ कुमारले भने।

कार्यक्रममा राजदूत मञ्जिवसिंह पुरी भारतीय जनता पार्टीको नेतृत्वमा रहेको वर्तमान गठनबन्धनको धारा ३७० खारेज गर्ने पूर्व घोषित नीतिनै भएको बताए।

‘भारत सरकार भारतीय जनता पार्टी(भाजपा)को नेतृत्वमा रहेका राष्ट्रिय लोकतान्त्रिक गठबन्धन(एनडिए)को चुनावी घोषणापत्रमा धारा ३७० खारेज गर्ने उल्लेख छ। नरेन्द्र मोदीको नेतृत्वमा भाजपाको गठबन्धन पुनः सत्तामा प्रचण्ड बहुमतका साथ पुगेको छ’ राजदूत पुरीले भने, ‘संविधानमा गरिएको परिवर्तन पूर्ण रुपमा आन्तरिक मामिला हो।’

भारतले आन्तरिक मामिला भएको बताउँदै आएको कस्मिरको विषयलाई पाकिस्तानले अन्तर्राष्ट्रियकरण गर्न खोजिरहेको छ। यस विषयलाई राष्ट्र संघमा पनि उठाएको छ। दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क) का अध्यक्षसमेत रहेको नेपालले कस्मिरको विषयलाई वार्ताबाट समाधान गर्न आग्रह गरेको छ। पाकिस्तानले सबै जस्तो अन्तर्राष्ट्रिय मञ्चहरुमा कस्मिरको मुद्दालाई उठाउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .