राजनीति


भारत, अमेरिका र स्विट्जरल्यान्डले दिए संविधान दिवसको शुभकामना, कसले के भने ?

भारत, अमेरिका र स्विट्जरल्यान्डले दिए संविधान दिवसको शुभकामना, कसले के भने ?

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ४:५३,

संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतालाई शुभकामना दिएका छन्।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज (शुक्रबार) शुभकामना सन्देश पठाउँदै राष्ट्रपति स्वयम् र भारत तथा त्यहाँका जनताका तर्फबाट संविधान दिवसको शुभकामना भनेका छन्।

सन्देशमा राष्ट्रपति कोविन्दले नेपाल र भारत साझा भूगोलले मात्र नभई इतिहास, सभ्यता, संस्कृति र जनता जनताबीचको सम्पर्कले जोडिएको बताएका छन्।

भारत र नेपालबीचको साझेदारी विभिन्न क्षेत्रमा निरन्तर विस्तार भइरहेको बताउँदै भारतका राष्ट्रपतिले सन्देशमा नेपालको समृद्धि र विकासका लागि अविच्छिन्न सहयोग अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपालको भ्रमण गर्न आफूलाई राष्ट्रपति भण्डारीबाट प्राप्त निमन्त्रणाप्रति आभार व्यक्त गर्दै उनले दुई देशीबीच उच्चस्तरमा आदानप्रदान हुने भ्रमणले एकअर्काप्रति साझेदारीका प्राथमिकता प्रतिबिम्बित हुन्छन् भनेका छन्।

दुवै देशलाई उपयुक्त हुने समयमा नेपालको भ्रमण गर्न आफू प्रतीक्षारत रहेको बताउँदै भारतका राष्ट्रपतिले सन्देशमा राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्यका साथै मित्रवत् नेपाली जनताको निरन्तर समृद्धि र प्रगतिको कामना गरेका छन्।

यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले संविधान दिवसको शुभकामना दिँदै अमेरिका र नेपालबीचको सात दशक पुरानो सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

स्वतन्त्र एवं सार्वभौम नेपालको विकास तथा सबै नेपाली नागरिकको समृद्धिका निम्ति अमेरिका सहयोग गर्न दृढ रहेको बताउँदै राष्ट्रपति ट्रम्पले प्राथमिकताका साझा क्षेत्रमा दुई देशबीच साझेदारी रहने विश्वास व्यक्त गरेका छन्।

त्यसैगरी संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै स्विस महासङ्घका राष्ट्रपति विली माउररले स्विस सङ्घीय परिषद् र स्विटजरल्यान्डका जनताका तर्फबाट नेपाल, नेपाली जनता र राष्ट्रपति भण्डारीसमेतको उज्ज्वल भविष्यको कामना गरेका छन्।

नेपालसँग सुदृढ सम्बन्ध कायम गर्न आफ्नो देश प्रतिबद्ध रहेको बताउँदै सन्देशमा स्विस राष्ट्रपतिले आपसी मैत्री अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .