राजनीति


कांग्रेसलाई रावलको प्रश्नः संविधान मान्दिन भन्ने विन्दुमा पुगेकै हो त?

कांग्रेसलाई रावलको प्रश्नः संविधान मान्दिन भन्ने विन्दुमा पुगेकै हो त?

नेपालखबर
भदौ ३०, २०७६ सोमबार १२:९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लिएको अडानप्रति आपत्ति जनाएका छन्।

सोमबार राजधानीमा आयोजित साक्षत्कार कार्यक्रममा नेता रावलले नगरिकतामा खुकुलो नीति लिन नहुने अडान राखे।

नगरिकताका बारेमा कडा अडान राख्दै आएका नेता रावलले कांग्रेसले नागरिकतासम्बन्धी विषयमा अन्तरिम संविधानको कुरा उठाउनु संविधानविपरित भएको बताए।

‘नागरिकताजस्तो विषयमा नेपालजस्तो देशले खुकुलो नीति लिन सकिदैन् भनेर हामीले धेरै छलफल गर्यौं, हाम्रा छिमेकी देशहरु भारत, चीन र अमेरिकाजस्तो देशमा पनि नागरिकताको विषयलाई खुकुलो बनाएको देखिँदैन्’, उनले भने।

आफूहरुले संसारभरिका देशहरुको नागरिकताको विषयमा अध्ययन गरेको सुनाउँदै उनले कुनै पनि देशमा यस सम्बन्धमा खुकुलो बनाएर जानुपर्छ र जसलाई पनि नागरिकता दिनुपर्छ भन्ने कुरा नपाएको दाबी गरे।

उनले कांग्रेस जारी गरेको पूर्ण संविधानभन्दा पछाडि फर्केर अन्तरिम संविधान २०६३ मा पुगेको आरोप लगाए।

‘नेपाली कांग्रेसले नेपालको संविधानलाई मानेरै समर्थन गरेको हो भन्ने कुरा बुझेको हो मैले त। अब अहिले अन्तरिम संविधानअनुसार नागरिकताको विषयलाई टुंग्याइन्छ भन्नु यो सरासर नेपालको संविधानको अवज्ञा हो’, उनले भने, ‘ यदि नेपाली कांग्रेसले २०६३ सालको संविधानमा फर्केर जानुपर्छ भनेर तर्क दिएको हो भने म प्रश्न गर्न चाहन्छु–के नेपाली कांग्रेस नेपालको संविधान २०७२ अब मान्दिनँ भन्ने विन्दुमा पुगेको हो?’

संसदको राज्य व्यवस्था समितिको बैठकमा नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकता दिन नेपाल नागरिक ऐन, २०६३ कै व्यवस्थालाई निरन्तरता दिनुपर्ने कांग्रेसको फरक मत छ। कांग्रेसको सो मत संविधान विपरित रहेकाले मान्य नहुने सत्तारुढ नेकपामा नेता रावलको तर्क छ। नेता रावलले शीर्ष तहमा छलफल गरेर संविधान बनेकाले नागरिकताका सम्बन्धमा फेरी शीर्ष तहका राजनीतिक सहमति जुटाउने बहाना बनाएर नेपाली कांग्रेसले मुलुकको राष्ट्रियतालाई कमजोर बनाउने षडयन्त्र गरिरहेको आरोप पनि लगार्ए।

नेता रावलले विगतमा पनि नेपालको राष्ट्रिय हितविपरीइत विदेशीलाई नेपाली नागरिकता दिइएको उल्लेख गर्दै त्यसलाई छानबिन गरेर विदेशी नागरिकले लिएका नेपाली नागरिकता सबै खारेज गर्न पनि सरकारसँग माग गरे। त्यसका लागि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेता रावलको भनाई छ।

नेता रावलले विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाएर नेपालको राष्ट्रियतालाई कमजोर बनाउन नदिन सबै राजनीतिक दल तथा नागरिक समुदायलाई पनि सचेत गराए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .