ad ad

राजनीति


नागरिकता विधेयकको गाँठो फुकाउने जिम्मा शीर्ष नेतालाई

नागरिकता विधेयकको गाँठो फुकाउने जिम्मा शीर्ष नेतालाई

नेपालखबर
भदौ २८, २०७६ शनिबार १०:२१,

संसदीय समितिले नागरिकता विधेयकमा सहमति जुटाउन नसकेपछि बैठक नै स्थगित भएको छ।

नागरिकता विधेयकलाई अन्तिम रुप दिन शनिबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वैवाहिक अंगीकृत नागरिकताको विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लिखित फरक मत राखेपछि त्यसमा सहमति जुटाउन नसकेको हो।

समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरुले नागरिकता ऐन, २०६३ कै प्रावधान अनुसार वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने फरक मत राखेपछि समितिले ती समस्या समाधानका लागि राजनीतिक सहमति जुटाउने निर्णय गरेको छ।

राजनीतिक सहमतिकै आधारमा नागरिकता विधेयकलाई टुंगो लगाउने सहमति गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन्। उनले समितिका सदस्यहरुलाई सो सम्बन्धमा आ–आफ्ना दलका शीर्ष नेतृत्वसँग छलफल गरेर सहमति जुटाउने जिम्मेवारी दिइएको पनि बताइन्।

बैठकमा सत्तारुढ नेकपाका सांसदहरुले भने नेपाली नागरिकसँग विवाह गरेका विदेशी महिलालाई ७ वर्ष पूरा भएपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने र नेपाली महिलाले विवाह गरेका ज्वाइँलाई १५ वर्ष पूरा भएपछि मात्रै अंगीकृत नागरिकता दिने कानुनी व्यवस्था गर्नुपर्ने मत राखेका थिए।ण् तर, त्यसमा नेपाली कांग्रेस र सत्ता साझेदार समाजवादी पार्टी, नेपालको समेत सहमति रहेन।

सत्ता साझेदार समाजवादी पार्टी, नेपालका सांसद रामसहाय प्रसाद यादवले नागरिकता ऐन, २०६३ अनुसारनै वैवाहिक अंगिकृत नागरिकता वितरण गर्दा के असर पर्न गयो? भनि सत्तारुढ नेकपामा सांसदहरुलाई प्र्रश्न गरे। उनले विदेशी नागरिकता त्यागी नेपाली बुहारी बनेकाहरुलाई वैवाहिक अंगीकृत नागरिकता दिँदा राष्ट्रियता कमजोर हुनै नसक्ने दावी गरे।

यसैबीच, सत्तारुढ नेकपाका सांसद नवराज सिलवालले नागरिकतासम्बन्धी विधेयकलाई नेपाली कांग्रेसले राजनीतिकरण गर्न खोजेको भन्दै आपत्ति जनाएका छन्। उनले नागरिकता विधेयक राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएपनि कांग्रेसले यसलाई टुंगो लगाउनुको साटो फरक मत राखेर राजनीतिकरण गर्न खोजेको दावी गर्दै आपत्ति जनाएका हुन्। सांसद सिलवालले नागरिकता जस्तो विषयमा पनि कांग्रेस संवेदनशील नहुनु मुलुकको लागि नै दुःखद कुरा भएको टिप्पणी गरे।

समितिले शीर्ष तहमा छलफल गरी २४ घण्टा भित्र सो सम्बन्धमा सहमति जुटाएर ल्याउन पनि समितिका सदस्यहरुलाई जिम्मेवारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .