राजनीति


नेपाली नागरिकता पाउन विदेशी बुहारीले सात र ज्वाईंले १५ वर्ष कुर्नुपर्ने

नेपाली नागरिकता पाउन विदेशी बुहारीले सात र ज्वाईंले १५ वर्ष कुर्नुपर्ने

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ८:३७,

गृहमन्त्री राम बहादुर थापाले राष्ट्रियताको सुरक्षा र विकाससँग सम्बन्धित क्षेत्रमा असर पर्ने भएकाले अंगिकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन्।

प्रतिनिधिसभा अन्र्तगत राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा नागरिकता विधेयकमा गरिएको संशोधन सम्बन्धमा सरकारको धारणा राख्दै उनले सिमा सुरक्षा, राष्ट्रियता तथा सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने विभिन्न सुविधा र विकासका कार्यक्रमलाई असर नपर्ने गरी अंगिकृत नागरिकता प्रदान गर्ने विषयलाई आवश्यक संशोधन गरिएको स्पष्ट पारेका हुन्। सरकार दोहोरो नागरिकता नहोस् भन्नेमा पनि सचेत भएको उनले जानकारी दिए।

गृहमन्त्री थापाले नेपाल भारतबीचको विशेष सम्बन्ध र नागरिकता सम्बन्धी छिमेकी मुलुकको व्यवस्थालाई समेत मध्यनजर गरि नेपाली पुरुषसँग विहे गर्ने महिलालाई नेपाली अंगिकृत नागरिकता प्राप्त गर्ने समय ७ वर्ष तोकिएको स्पष्ट पारे। सरकारले नेपाली पुरुषसँग विहे गर्ने विदेशी महिला र नेपाली महिलासँग विहे गर्ने विदेशी पुरुषका लागि अंगिकृत नागरिकता पाउनका लागि निर्धारण गरेको समय चित्त नबुझे जनप्रतिनिधिले आवश्यक संशोधन गर्न सक्ने उनको भनाई थियो।

नागरिकता सम्बन्धी विधेयक समितिमा झण्डै ६ महिना देखि छलफलकै क्रममा रहेको छ। शुक्रबारको बैठकमा पनि मन्त्रालयले गरेको विधेयकमाथिको संशोधनका बारे थप अध्ययन गर्नुपर्ने आवाज उठेपछि समिति विधेयक सम्बन्धमा निर्णयमा पुग्न सकेन। विधेयकमा नेपाली अंगिकृत नागरिकता पाउनका लागि नेपाली पुरुषसँग विहे गर्ने विदेशी महिलालाई ७ वर्ष र नेपाली महिला सँग विहे गर्ने विदेशी पुरुषलाई १५ वर्षको समय राखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad