प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्डपथ अंगालेको आरोप लगाएका छन्।
सोमबार जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आजकल नाथुराम गोड्सेको बढी चर्चा हुने गरेको सन्दर्भसमेत उल्लेख गरेका थिए।
‘नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेपछि नेपाली कांग्रेसका नेताहरु नै नाथुराम गोड्से खोजी गर्ने, भेटिएन भने आँफै हुने तहमा पुगेको भनेको प्रचण्डपथ नै अंगालेको हो,’ ओलीले भने, ‘त्यसै त अराजनीतिक अस्थिरताको प्रतिनिधि, देश कता जान्छ मतलव छैन, त्यो कुरामा पुग्नु भनेको प्रचण्डपथ नै अँगालेको हो।’
ओलीले प्रचण्डपथको चर्चा अदालतमा समेत हुन थालेको र त्यसबारे अदालत मौन बस्नु आश्चर्यजनक रहेको गुनासो गरे।
‘नेपाली कांग्रेसले अंगालेपछि प्रचण्डपथ यति व्याप्त भइसक्यो, त्यसलाई कांग्रेसले मार्गदर्शक सिद्धान्त बनाएपछि अहिले प्रचण्डपथ सुप्रिम कोर्टमा पनि चर्चा हुन्छ,’ प्रधानमन्त्री ओलीले थपे, ‘फ्रान्स र बेलायतका राजाहरु किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन् र पो काटिँदा रहेछन्। अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ?’
सो कुरा सर्वाेच्च अदालतमै पुष्पकमल दाहाल प्रचण्डका एकजना कार्यकर्ताले भनेको उनको भनाइ छ।
ओलीले नेपाली कांग्रेसका कार्यकर्ताले नाथुराम गोड्से आँफै बन्छु भनेको र फ्रान्स र बेलायतमा किन काटिए भन्ने प्रसंग सर्वाेच्च अदालतमा आएको र हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य दिँदा न्यायाधीशबाट रोक्ने काम नगरेको भनी आश्चर्य व्यक्त गरे।
उनले अभिव्यक्ति दिँदा अदालतबाट रोक्ने काम समेत नगरिएको भनी आक्रोश व्यक्त गरे। न्यायमुर्तीहरुले त्यस्तो अभिव्यक्ति दिने अधिवक्तालाई रोक्नुपर्ने उनको तर्क छ।
‘यस्तो हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नु हुन्न, तपाईंको मन्तव्य सम्हालेर राख्नुस् भनेर न्यायमुर्तीहरुले भन्नुपर्ने होइन?’ उनले भने।

प्रतिक्रिया