राजनीति


अदालतको आदेश सुनियोजित छ : खगराज अधिकारी (कुराकानी)

अदालतको आदेश सुनियोजित छ : खगराज अधिकारी (कुराकानी)

प्रशान्त लामिछाने
असार ९, २०७८ बुधबार ७:२३,

खगराज अधिकारी नेकपा एमालेका नेता हुन्। उनी पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषदमा गृहमन्त्री थिए। सर्वोच्च अदालतको मंगलबारको आदेश पछि उनीसहित २० मन्त्री पदमुक्त भएका छन्। यही विषयमा अधिकारीसँग नेपालखबरले गरेको कुराकानी :

मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई कसरी लिनु भएको छ?
विपक्षी गठबन्धनका एक जना नेताले फैसलाबारे बोल्नु भएको छ। उहाँले भोलि २० जना मन्त्री पदमुक्त हुने आदेश आउँछ भन्नु भएको थियो। फेरि हिजो अदालतबाट त्यो आदेश हुँदा 'सरप्राइज' लागेन। यो आदेश 'सरप्राइज' होइन सुनियोजित हो भन्ने आशंका जनताले गरेका छन्।

प्रधानमन्त्रीले पदमुक्त भएका मन्त्रीहरुसँगको छलफलमा के भन्नुभयो?
प्रधानमन्त्रीज्यू हरेक कुरालाई सहजरुपमा लिन सक्ने सामर्थ्य भएको व्यक्ति हो। यो संविधान, लोकतन्त्रमाथिको प्रहार हो। बलियो एकता कामय गरेर अघि बढ्नु पर्छ भन्ने नै उहाँको धारणा हो।

प्रधानमन्त्रीले विकल्पबारे पनि कुरा गर्नु भएको छ भन्ने कुरा आयो, त्यो के हो?
हिजो अबको राजनीतिक निकास के हुन्छ भनेर मैले नै प्रधानमन्त्रीलाई सोधेको थिएँ। उहाँले यसले गम्भीर प्रभाव राख्छ भन्नुभयो। यसको निकास के हुनसक्छ छलफल गरौंला भन्नुभयो।

जसपा महन्थ ठाकुर पक्षसँगको गठबन्धन पनि संकटमा परेको हो?
उहाँहरुसँग सिद्धान्तनिष्ठ र कार्यक्रमको आधारमा गरिएको कार्यगत एकता हो। त्यही निर्णयको आधारमा हामीले यसलाई अघि बढाउँछौं।

सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा जाने तयारी गर्नुभएको छ?
हामी यसाबारे छलफल गर्दैछौं। टुंगोमा पुगेपछि तपाईहरुलाई थाहा हुन्छ।

गृहमन्त्रीको रुपमा तपाईका दिन कसरी विते?
म गृहमन्त्रालयमा आउने वित्तिकै बाढी पहिरो र कोभिडको सामना गर्नु पर्यो। अहोरात्र तिनै विषयमा खट्नु पर्‍यो। म कामप्रति खुसी छु।

अदालतको आदेशले पार्टी एकताको विषयलाई प्रभाव पार्छ?
अदालतको फैसलाले पार्टी एकताको विषयलाई प्रभाव पार्दैन। नेकपा एमालेलाई हामीले एकतावद्ध गराउनै पर्छ। अब फैसलाले यसो गर्यो त्यसो गरौं भन्ने होइन। पार्टीलाई कुनै दाउपेचका आधारमा होइन विगतमा भएका कमिकमजोरीको समीक्षाका आधारमा अघि बढाउनु पर्छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २ मा फर्कियौँ भने पछि साथीहरुले अहिले अर्को कुरा गर्न मिल्दैन। उत्तम विकल्प एकता हो। त्यसो भएन भने पार्टीलाई जसरी पनि अघि बढाएर जानु पर्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .