ad ad

राजनीति


झलनाथ खनालको विचारसँग नमिल्ने भनाइ राखेर कसले जारी गर्‍यो उनकै हस्ताक्षरमा विज्ञप्ति?

झलनाथ खनालको विचारसँग नमिल्ने भनाइ राखेर कसले जारी गर्‍यो उनकै हस्ताक्षरमा विज्ञप्ति?

नेपालखबर
असार २, २०७८ बुधबार १२:१२,

नेकपा एमालेका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पूर्वप्रधामन्त्री झलनाथ खनालको नामबाट प्रकाशित विज्ञप्तिमा उनको विचारसँग नमिल्ने धारणा सार्वजनिक गरिएको बताएका छन्।

खनालकै हस्ताक्षर दुरुपयोग गरेर पार्टीमा उनकै समूहका केही नेताले त्यस्तो विज्ञप्ति जारी गरेको खतिवडाले आरोप लगाएका छन्।

बुधबार भारततर्फ उपचारका लागि जानुअघि जारी गरिएको विज्ञप्तिमा पूर्वप्रधानमन्त्री खनालको हस्ताक्षर दुरुपयोग गरेर विज्ञप्ति जारी भएको खतिवडाले बताए।

‘त्यो विज्ञप्ति झलनाथ खनाल भारततर्फ उडिसकेपछि जारी भएको छ। हिजोमात्रै माधवकुमार नेपाल र सुरेन्द्र पाण्डेसहितका धेरै नेताहरुले उहाँलाई भेट्नुभएको थियो, त्यतिबेला उहाँको धारणा त्यस्तो थिएन,’ खतिवडाले नेपालखबरसँग भने, ‘उहाँको भनिएको विज्ञप्तिमा जुन भाषा प्रयोग भयो त्यो निकै रहस्यपूर्ण छ।’

विज्ञप्ति एमाले नेता भीम आचार्यले तयार पारेको खनालको सचिवालयका एक सदस्यले बताएका छन्।

‘हिजोका दिनसम्म झलनाथ खनालले पार्टी पुनर्गठन गरेर जानुपर्छ भनेर बोल्दै आउनुभएको हो,’ खतिवडाले भने, ‘अस्पताल भर्ना हुनुभएको एकदिनअघि पेशागत महासंघले डा गोविन्दबहादुर थापको स्मृतिमा गरेको कार्यक्रममा पनि उहाँले ओली प्रवृत्ति विरुद्ध पार्टी पुनर्गठन गरेर जानुपर्ने बताउनु भएको थियो। अघिल्लो दिनसम्म एउटा कुरा बोलेको नेताले भोलीपल्ट अर्को कुरा गर्दैन।’

खनालनिकट स्रोतका अनुसार सो विज्ञप्ति नर्भिक अस्पतालमै तयार गरिएको हो। केहि दिनदेखि थापाथलीस्थित सो अस्पतालमा उपचार गराइरहेका खनालको स्वास्थ्यमा थप जटिलता आएपछि बुधबार दिउँसो उपचारका लागि दिल्ली गएका छन्।

खतिवडाले आफ्नो फेसबुक पेजमा पनि यस विषयमा लेखेका छन्।

अहिले नेकपा एमालेमा चर्केको शक्ति संघर्षमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल एक ठाउँमा छन्।

खनाल–नेपाल पक्ष र ओली पक्षबीच सहमति भई पार्टी एकजुट राख्नुपर्छ भन्ने पक्ष र अब ओलीसँग एकठाउँमा रहनै सकिँदैन भन्ने मत राख्नेहरुबीच मतभिन्नता देखिन्छ।

खनाल–नेपाल समूहका अर्का नेताले ओलीसँग सम्झौता गरेर भए पनि उनीसँग मिल्नुपर्छ भन्ने मत राख्ने कुनै नेताले सो विज्ञप्तिमा त्यस्तो भनाइ घुसाएको हुनसक्ने बताए।

अहिले एमालेका दुई पक्षबीच दोस्रो तहका नेताहरु संवादमै छन्।

सो विवाद समाधान गर्न गठित कार्यदलमा भीम आचार्यलाई पछिल्लो समय सहभागी गराइएको छ।

खनालनिकट आचार्य पार्टीलाई सकेसम्म मिलाउनैपर्छ भन्ने मत राख्ने नेताहरुमध्येका एक हुन्।

यो पनिः खनाललाई ओलीको फोन, दिल्ली उड्नुअघि भयो लामो कुरा

खतिवडाले फेसबुकमा लेखेको जस्ताको त्यस्तै:
स्वदेशमा उपचार नहुने परिस्थितिमा बिदेशमा उपचार गर्न जानुभएका क. झलनाथ खनालको नाममा उहाँको हस्ताक्षर दुरुपयोग गरी बक्तब्य जारी गर्नु निकै नै दुखद छ। श्वास प्रश्वासमा समेत गार्हो भइरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तब्य लेख्ने कल्पना गर्न सकिँदैन।
वक्तब्यमा उल्लेखित बिचार क. झलनाथ खनालको विचारसंग मेल खाँदैन।

उहाँ प्लेन चढिसकेपछि यो वक्तव्य आउनु आफैमा रहस्यमय छ। पार्टीमा एकता गर्नको लागि क. खनालको वक्तव्यको चालबाजी रची कार्यकर्तालाइ दिग्भ्रमित पार्नु नै पर्दैन। सर्वोच्चको फैसला, आदेश र विधानको ब्यबस्था बमोजिम खुला सम्बाद गर्दा हुन्छ। बिग्रेको सच्याउछु भनी सच्याउदा हुन्छ। एजेण्डाहरु सम्बोधन गर्दा हुन्छ। यस्तो नाटक गरिरहनु पर्दैन।

क. झलनाथ खनालले खण्डन गर्नु भएमा यो नाटक बन्द हुनेछ। तर उहाँ अशक्त हुनुहुन्छ। आदरणीय नेताको बिरामी अबस्थालाइ कसैको राजनीतिक स्वार्थको घैटो भर्नका लागि अपमान नगरौं।

म क. झलनाथ खनालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

पूर्वप्रधानमन्त्री खनालका नाममा जारी विज्ञप्ति:

JhalanathKhanal statement Asar 2

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .