भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले लकडाउन खोल्ने वित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन्।
मन्त्री नेम्वाङले पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्न वित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिएका हुन्।
नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरुको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने उनले बताए।
‘रेल सञ्चालनका लागि अध्यादेश जारी गरीसकेका छौँ। यति हुँदाहुँदै पनि हामीले रेललाई समयमा सञ्चालन गर्न सकेका छैनौँ। कोभिड महामारीले बाधा पुर्याएको छ', उनले भने, 'अध्यादेश ल्याउने, जिएम नियुक्ति गर्ने लगायत कानुन व्यवस्थित गरिसकेका छौँ। रेल स्वयम् ल्याइसकेपछि, सुरक्षाका लागि सशस्त्र प्रहरी तैनाथ गरिएको छ।'
उनले १५ गतेभित्र रेल चलाउने तयारी गर्न निर्देशन दिए।
मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालाहरुमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानीजहाज कार्यालयलाई पनि निर्देशन दिए।
मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्नेकुरा पनि स्पष्ट पारे।
खुवालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिने उनको भनाई छ।

प्रतिक्रिया