नेपाली कांग्रेसले क्यान्सर संस्थानको नाममा स्थापित स्वास्थ प्रतिष्ठानहरुको स्वायत्ततामा अतिक्रमण भएको भन्दै आपत्ति जनाएको छ।
कांग्रेश प्रवक्ता विश्वप्रकाश शर्माले एक वक्तव्य जारी गर्दै यो विषय अस्वीकार्य भएको भन्दै फिर्ता लिन भनेका छन्।
बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणामार्फत ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियत राखेको कांग्रेको ठहर छ। सरोकारवालाहरुले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता जारि रहेको बिषयमा नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण विज्ञप्तिमा भनिएको छ।
'२०४६ को परिवर्तन पश्चात् नेपाली कांग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केहि क्यान्सर अस्पतालहरु देशमा छन्। समयानुकूल तिनको क्षमता विस्तार गर्ने र ती मार्फत नविन अनुसन्धानमा सहजीकरण गर्ने कर्तव्य राज्यको हो,' विज्ञप्तिमा भनिएको छ, 'त्यसका लागि सक्षम प्रतिष्ठानहरुलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र शसक्तिकरण गर्ने योजना उपयुक्त हुनसक्थ्यो। तर त्यसो नगरी अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत छ।'
भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बांकेलाई संस्थान मातहतमा ल्याउने भनेर अध्ययन, बिज्ञ परामर्श र सरोकारवालाहरुसँग कुनै छलफल बिना बजेटमा उल्लेख हुनुले त्यस पछिल्तिरको निश्चित नियतलाई प्रष्ट पारेको विज्ञप्तिमा उल्लेख छ।
यो निर्णयलाई यथास्थितिमा राख्न नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया