सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ।
बैठकमा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ उपनियम ४ अनुसार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिन प्रस्ताव पेस गरेका छन्।
आजै बिहान बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले माओवादी केन्द्रबाट मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ।
५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार छ। सबैभन्दा ठूलो दल एमालेसँग सभामुखसहित २५ सांसद छन्।
त्यहाँ एमालेको नेपाल–खनाल समूह बलियो छ। नेपाल–खनाल समूहमा १५ सांसद छन् भने ओली समूहमा ९ सांसद मात्र देखिएका छन् ।
यस्तै माओवादी केन्द्रका १४ सांसद रहेकामा अहिले ऊसँग १३ जना मात्रै छन्। माओवादी केन्द्रबाट विजयी अछामका झपडबहादुर बोहरा एमालेमा प्रवेश गरेपछि उनको सांसद पद गुमेको हो। यस्तै प्रदेश सभामा कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन्।
मुख्यमन्त्री भट्टलाई सरकार जोगाउन २७ सांसद आवश्यक पर्छन्। माओवादी केन्द्रले आफ्ना पक्षमा २८ मत आउने दाबी गरेको छ।
‘एमालेको नेपाल–खनाल समूह सरकारमै भएकाले विश्वासको मत सजिलै प्राप्त गर्छौं,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘एमालेका १५ सांसदले विश्वासको मत दिने अनुमान हामीले गरेका छौँ।’
यो पनि : सुदूरपश्चिममा ओली–नेपाल विवाद उत्कर्षमा: मन्त्रालयभित्रै एमाले सचिव र मन्त्रीबीच ‘कुटाकुट’
Shares
प्रतिक्रिया