प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि अघि सारेको ६ बुँदे प्रस्तावप्रति नेपाल पक्षका नेताहरुको मत बाझिएको छ। केहीले प्रस्तावलाई स्वागत गरेका छन् भने अरुले ओलीले अघि सारेका सर्त अस्वीकार गर्ने बताएका छन्।
एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष ओलीको घोषणालाई सकारात्मक भनेका छन्। तर, स्थायी कमिटीका सदस्य बेदुराम भुसालले भने प्रस्तावको अन्त्र्यमा जेठ २ नफर्किने अडान व्यक्त भएको बताए।
स्थायी कमिटीका सदस्य घनश्याम भुसालले भने यस विषयमा छलफल गरेर मात्रै प्रतिक्रिया व्यक्त गर्ने बताएका छन्।
नेतृ रामकुमारी झाँक्रीले पार्टी एकता हुन नदिने डिजाइनका साथ ओलीको वक्तव्य आएको दाबी गरेकी छन्।
स्थायी कमिटीका सदस्य बेदुराम भुसालले भने आजको विज्ञप्ति जेठ २ मा नफर्किने घोषणा भएको बताए।
‘पहिलो नम्बर बुँदामै नेकपा हुँदा केन्द्रीय कमिटीको एकताको पक्षमा रहेका आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटी क्रियाशील बनाउने भनेपछि त्यो जेठ २ फर्किने कुरा गरेको होइन। यो माओवादी साथीहरुसहितको कमिटी भन्ने हो,’ भुसालले भने, ‘स्थायी कमिटीको हकमा पनि मूलतः जेठ २मा पुर्याइने छ भनेको छ। हामीले सम्पूर्ण रुपमा हुनुपर्छ भनेका छौँ। त्यो भनेको जेठ २ मा जान सक्दिन भनेर केपीले घोषणा गर्नुभयो।’
भुसालले हस्ताक्षर फिर्ता गर्ने सर्त आफूहरुले अस्वीकार गर्ने बताए।
‘हस्ताक्षर फिर्ता किन लिने? प्रतिनिधिसभा पुनर्स्थापन गरे भैहाल्यो। एकता गरेर जाने हो भने जसपासँग मिल्दा सरकार बनिहाल्छ,’ भुसालले भने, ‘यत्रो कोभिडको महामारी र अन्तरविरोध चर्किएको समयमा यसलाई समान्य नगराई, प्रतिनिधिसभाको समयमा छँदाछँदै किन चुनावमा जानु पर्यो? त्यो प्रतिनिधिसभा विघटन उचित हो भन्नका लागि? अहिले आएको वक्तव्यको अर्थ भनेको एकता गर्दिनँ भन्ने नै हो।’
तर, योगेश भट्टराईले भने वक्तव्यको स्वागत गरेका छन्।
‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक वक्तव्यमार्फत गर्नुभएको आह्वान मूलतः सकारात्मक छ। कार्यदल स्तरको छलफललाई यो वक्तव्यले पुनः निरन्तरता दिन बाटो खुलेको छ,’ भट्टराईले फेसबुकमा लेखेका छन्, ‘पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनु पर्ने थप विषयहरुलाई समाधान गर्ने छ। सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै मूलत संविधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ।’
उनले सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वबीच सार्थक संवाद हुने र एमाले एकता कायम राख्न मद्दत पुग्ने बताएका छन्।
‘हजार माइलको यात्रा पहिलो पाइलाबाट नै सुरु हुन्छ,’ भट्टराईले भनेका छन्।
नेतृ झाँक्रीले पनि ओलीको वक्तव्य षड्यन्त्रको हिस्सा भएको बताएकी छन्।
‘पढ्दै जाँदा लाग्यो, पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उदेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ,’ झाक्रीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्षबीचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन, झुक्याउन, अलमलाउन र मिडिया कन्जम्प्सनको लागि हो भनेर बुझ्नुपर्छ।’
उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अदालतमा गरिएको हस्ताक्षर फिर्ता नहुने स्पष्ट पारेकी छन्।
‘यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाइनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु,’ उनले भनेकी छन्।
प्रतिक्रिया