लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। बजेट अधिवेशनअघि सत्तारूढ नेकपा (एमाले) ले संददीय दलको बैठक बोलाएको छ। बिहान ८ बजेदेखि संसदीय दलको बैठक बोलाइएको हो।
अधिवेशन दिउँसो १ बजेदेखि शुरू हुँदै छ। प्रदेशसभामा दलीय धारणा तय गर्न दलको बैठक बोलाइएको प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए।
प्रदेशसभामा विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलविरूद्व यसअघि नै अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। आजै सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने आशंका एमालेले गरेको छ।
प्रदेशसभाका मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको दाबी विपक्षी गठबन्धनको छ। अल्पमतमा रहेका पोखरेललाई प्रदेश प्रमुखले पुनः मुख्यमन्त्री नियुक्त गरेको आरोप विपक्षी दलहरुले लगाउँदै आएका छन्। लुम्बिनी प्रदेशमा सोमबार भएको राष्ट्रियसभाको उपनिर्वाचनमा पनि एमाले उम्मेदवार पराजित भएका थिए।
प्रदेशसभाका ८२ मध्ये एमाले उम्मेदवारले ४० मत मात्र पाएका थिए भने विपक्षी गठबन्धनका उम्मेदवारले ४२ मत पाएका थिए। यसले पनि प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको विपक्षीहरुको ठहर छ।
सभामुख घर्तीले विपक्षी गठबन्धनले प्रदेशसभामा दर्ता गरेको अविश्वासको प्रस्ताव अघि बढाउने धारणा यसअघि नै सार्वजनिक गरिसकेका छन्।
हिजो बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा बुधबार पहिलो दिन बैठक शुरू गरी दलीय शुभकामना राख्ने सहमति भएको छ। तर सभामुखले आजै अविश्वासको प्रस्ताव अगाडि बढाउनसक्ने आशंका एमालेले गरेको हो। विपक्षी दलहरुले भने सरकारले संसद अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउने आशंका गरेका छन्।
प्रतिक्रिया