प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्धको रिटमा भइरहेको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिदामा बस्न भनेका छन्।
'प्रधानन्यायाधीशले मेरो हकमा के हुन्छ भन्नु भयो। त्यसको पनि विकल्प छ बिदामा बसे भइगयो नि,' उनले भने।
तर पनि संवैधानिक इजलासमा बस्ने नबस्ने निर्णय लिने स्वतन्त्रता प्रधानन्यायाधीशमा पनि रहेको उनले बताए। संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशमाथी प्रश्न उठाउँदै थापाले प्रधानन्यायाधीश पनि विदामा बस्दा हुने बताएका हुन्।
'पहिले ५ जनाको इजलाशले ठूलो पार्टी भनेर फैसला गरे पनि पछाडिको फैसलाले ठूलो पार्टीलाई हेरेन, पार्टी ब्रेक गरिदियो', थापाले भने।
संवैधानिक इजलासले तत्कालीन नेकपालाई ठूलो पार्टीको रुपमा मान्यता दिँदै प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिमको मानेको पनि उनले स्मरण गराए।
विश्वासको मत नलिएको प्रधानमन्त्री के हुन्छ? भन्दै थापाले प्रश्न गरे।
'सर्वोच्च अदालतको ठाउँमा अर्को अदालत र प्रधानन्यायाधीशको ठाउँमा अर्को प्रधानन्यायाधीश नभएकोले संवैधानिक इजलासमा तपाई बस्नुको विकल्प छैन', थापाले भने।
बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले न्यायाधीशमाथि उठेको प्रश्नमा बहस गरेका छन्।
कार्कीले यसअघि संसद विघटनको मुद्दामा एमिकस क्युरीको तर्फबाट राय दिएका थिए।
बद्रीबहादुर कार्कीलाई प्रधानन्यायाधीशले सोधे, 'मैले इजलासमा बसेर निराकार प्रश्न देखें। सार्थक रिलेसन राख्छ की राख्दैन त्यो भन्दिनुस्र?' कार्कीले त्यसको जवाफमा भने, 'सार्थक रिलेसन राख्न सक्छ। म भएदेखि गर्ने की नगर्ने भनेर प्रश्न उठ्यो भने म चाहिँ हेर्ने थिइन। श्रीमानहरुको बारेमा प्रश्न उठिसकेपछि नबस्दा राम्रो हुन्छ।'
श्रीमानहरुको फैसलाबाट जुन डेभलपमेन्ट भयो त्यसको निष्कर्ष अहिलेसम्म पनि नपुगेको उनले बताए।
अधिवक्ता हरिहर दाहालले प्रश्न उठिसकेपछि श्रीमानहरुले गम्भीर रुपमा सोच्नु नै राम्रो हुने बताए। त्यसपछि मुक्ति प्रधानले बहस गरे।
रमण श्रेष्ठले ४६ मध्ये ७२ सांसदलाई प्रभाव पारेको मुद्दा भएको बताए। 'त्यही भएर श्रीमानहरुले विचार गर्नुपर्छ। उहाँहरु दुई जना श्रीमानसँग हामीलाई समस्या होइन, यो मुद्दामा उहाँहरु जोडिनु भयो त्यसले प्रश्न उठायो,' उनले भने।
अधिवक्ता टिकाराम भट्टराईले बहस गर्दै संवैधानिक इजलासमा बसेका न्यायाधीशको दोष नभएको बताए। 'उहाँहरुको के दोष श्रीमानले राख्दिनु भयो। भोलि मत बाझियो भने अहिले उठेको प्रश्न थप पेचिलो हुन्छ। पहिले जस्तै एक मत भयो भने त जे आए पनि फरक नपार्ला,' उनले भने।
मिथिलेशकुमर सिंहले एउटा पक्षले प्रश्न उठाए पछि नबस्दा हुने बताए। त्यसको विकल्प पनि भएको उनले बताए। सिंहलाई प्रधानन्यायाधीश राणाले भने, 'तपाईलाई न्यायाधीश छान्ने अधिकार छैन। एउटा पक्षले भन्दैमा न्यायाधीश नबस्ने भन्ने कुरा हुँदैन। तपाईहरुलाई दिउँ त त्यसो भए तपाईहरु न्यायाधीश छान्नुहुन्छ?'
अहिले जेष्ठ वकिल कृष्णप्रसाद भण्डारी बहसमा पुगेका छन्।

प्रतिक्रिया