ad ad

राजनीति


बाइडेन राष्ट्रपति बनेपछि पहिलोपटक अमेरिका र चिनियाँ व्यापार प्रतिनिधिबीच वार्ता

बाइडेन राष्ट्रपति बनेपछि पहिलोपटक अमेरिका र चिनियाँ व्यापार प्रतिनिधिबीच वार्ता

नेपालखबर
जेठ १३, २०७८ बिहिबार ८:५८,

दुई देशबीचका व्यापार अवरोध हटाउन निकै महत्वपूर्ण मानिएको यस टेलिफोन वार्तामा तत्काल खासै प्रगति नभए पनि वार्ता प्रक्रिया भने शुरु भएको छ।

वार्तामा सहभागी दुबै पक्षले करका प्रावधानमा रहेका गतिरोध सुल्झाउने तर्फ कहिले वार्ता प्रक्रिया शुरु हुन्छ भन्ने कुनै सङ्केत दिएका छैनन्।

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाईले व्यापार सम्बन्धका बारेमा “आन्तरिक समीक्षा” अझै जारी रहेको बताएको उनको कार्यालयले जनाएको छ।

चीनको वाणिज्य मन्त्रालयले चिनियाँ व्यापार प्रतिनिधि एवं उपप्रधानमन्त्री लिउ हे ले समान चासोका विविध विषय उठाएको बताएको छ, तर विस्तृत विवरण भने दिएको छैन।

राष्ट्रपति बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरुद्ध शुरु गरेको व्यापार द्वन्द्वका बारेमा के कस्तो रणनीति अपनाउने भन्ने बारेमा अझै केही बताएका छैनन्।

ट्रम्पले चीनको औद्योगिक नीति र व्यापार असन्तुलन बढेको भन्दै चीनबाट आयात हुने सामानमा करवृद्धि गरेका थिए।

त्यसको प्रतिक्रियास्वरुप चीनले पनि अमेरिकी सोयाबिन खरिद स्थगन गर्नुका साथै अन्य सामानमा करवृद्धि गरेको थियो।

सन् २०२० को शुरुदेखि कोरोना भाइरस महामारी फैलिनुअघि देखि नै मध्यस्थकर्ताहरुबीच प्रत्यक्ष भेटवार्ता भएका छैनन्। द्वन्द्व सामान्यीकरण गर्ने अभिप्रायले सन् २०१९ देखि दुबै देशबीच भएको पहिलो चरणको सम्झौता बमोजिम तल्लो तहका अधिकारीहरुबीच फोनबाटै कुराकानी हुने गरेको छ।

पहिलो चरणको सम्झौतामा एकअर्का मुलुकका सामानमा थप करवृद्धि नगर्ने र कतिपय सामानमाथि लागेका करहरु हटाउने सहमति भएको थियो। चीनले अमेरिकी सोयाबिनको खरिद बढाउने र अन्य सामानको आयात बढाउने प्रतिबद्धता जनाएको थियो।

कोरोनाभाइरस महामारीका कारण विश्व व्यापारमा प्रभाव पारेसँगै चीनले अमेरिकी बस्तु तथा सेवाको खरिदमा ढिलाई गरेको छ।

यसैबीच, चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीनका उपप्रधानमन्त्री लिउ हे र अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाई बीच बिहीबार बिहान टेलिफोनमा वार्ता भएको जनाएको छ।

दुबै पक्षबीच समानता र आपसी सम्मानको भावना अनुरुप खुला, व्यवहारिक र रचनात्मक रुपमा वार्ता भएको छ। साथै दुबै पक्षले वार्तामा आआफ्ना चासो र सरोकारका विषय उठाएको र आगामी दिनमा निकट सञ्चार सम्पर्क स्थापित गर्ने सहमति जनाएका छन्। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .