प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमवार बेलुका पार्टीको स्थायी कमिटी बैठकबाट सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे। र, सरकारमा रहेका आफ्ना मन्त्रीलाई २४ घण्टाभित्र बाहिरिन निर्देशन जारी गरे।
तर, माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रधानमन्त्री ओली निर्णय कार्यान्वयन हुन भने सकेन।
एमाले प्रदेश संसदीय दलले स्थायी कमिटीको निर्णयलाई लत्याउँदै प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ।
बुधवार धनगढीस्थित प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको एमालेको नेपाल–खनाल समूहका सांसद प्रकाश रावल बताउँछन्।
‘कोरोनालाई मध्यनजर गर्दै तत्कालका लागि वर्तमान सरकारलाई नै समर्थन कायम राख्ने निर्णय भएको छ। उचित समयमा समर्थन फिर्ता लिएर एमालेको नेतृत्वमा सरकार गठन गर्ने गरी अगाडि बढ्ने भएका छौँ,’ उनले भने।
ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकको निर्णय विपरित गएर प्रदेश संसदीय दलले केन्द्रको निर्णय ‘फेल’ गराएको हो। ओलीको निर्णय कार्यान्वयन नहुनुको पछाडी एमालेमा पछिल्लो समय विकसित ध्रबिकरण रहेको सांसदहरु बताउँछन्। नेकपा एमाले ओली र नेपाल–खनाल दुई समूहमा विभाजन भएर फुटको संघारमा छ।
सुदूरपश्चिम प्रदेश सभामा एमालेको नेपाल–खनाल समूहको बाहुल्यता छ। प्रधानमन्त्री ओली समूह अल्पमतमा हुँदा विगत केही महिना अगाडि देखिनै माओवादी केन्द्र नेतृत्वको सरकार ढाल्ने सो समूहको बारम्बारको प्रयास विफल भएका थिए।
एमाले प्रदेश कमिटिले १५ चैत्रमा नै माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको थियो। सरकार बदल्ने मनस्थितीमा रहेको ओली समूह अल्पमतमा रहेका हुँदा उसले चाहेको हुन नसकेको धेरैको बुझाई छ।
‘हामी संख्यामा कम छौँ। एक पक्षले मात्रै चाहेर सरकार ढल्ने वाला छैन’ ओली समूहका एक नेताले भने, ‘नयाँ सरकार बनाउन दुवै पक्ष एक ढिक्का हुनु पर्छ।’
५३ प्रदेश सभा सदस्य संख्या रहेको सुदूरपश्चिममा एमाले २५ जना (सभामुख सहित) सांसद, माओवादी केन्द्रका १४ जना (एक जना निलम्बन), नेपाली कांग्रेससका १२ जना र जनता समाजवादी पार्टीका २ जना सांसद छन्। प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका २५ सांसदमध्ये नेपाल–खनाल समूहमा १८ जना छन् भने ६ जना ओली लाइनमा छन्।
माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको सरकारलाई समर्थन कायम राखेर तत्काल सरकारबाट नबाहिरिने सन्देश नेपाल–खनालको बाहुल्यता रहेको प्रदेश संसदीय दलले पार्टी केन्द्रसम्म पुर्याएको छ।
एमाले प्रदेश संसदीय दलका नेता प्रकाश बहादुर शाह भीम रावल निकट मानिन्छन्। एमालेमा ओली समूहले वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायतका नेतालाई पार्टीबाट निष्कासित गरेको छ।
नेपाल–खनाल निकट भीम रावलको सुदूरपश्चिमको राजनीतिमा बेला–बेलामा प्रभाव देखिने गरेको छ। रावलले उनी निकटस्थ संसदीय दलका नेता शाहलाई माओवादी केन्द्रलाई दिएको समर्थन कायम गर्न लगाएको स्रोतको दाबी छ।
बैठकमा शाहले नै माओवादी केन्द्रलाई दिएको समर्थन तत्काल फिर्ता नलिने प्रस्ताव राखेका थिए।
एमालेको नेपाल–खनाल समूहका तीन जना सांसद प्रदेश सरकारमा मन्त्री छन्। संसदीय दलका नेता शाह आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा छन्।
यस्तै नेपाल–खनाल समूहकै कृष्णराज सुवेदीले सामाजिक विकास मन्त्रालय र माया भट्टले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेकी छन्।
‘पार्टी विरुद्ध गतिविधि गरे कारबाही’
पार्टीको निर्णय विरुद्ध जाने कुनै पनि सदस्यलाई प्रचलित विधान अनुसार कारबाही गरिने एमाले सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष कर्ण थापा बताउँछन्।
‘समर्थन फिर्ता नलिने भनेर लिखित निर्णय नभएको होला। यदी त्यसो भएको हो भने हामी त्यस्तालाई कारबाहीको दायरामा ल्याउँछौँ’ उनले भने, ‘पार्टी विरुद्ध जाने कसैलाई पनि छोड्दैनौँ। कारबाही भोग्नु पर्ने हुन्छ।’
याे पनि :
ओलीको निर्देशन मानेर सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता होला नेपाल-खनाल समूह?
सुदूरपश्चिममा ओलीको निर्देशन उल्लंघनः प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने
ओली र नेपालको सहमतिसँगै माओवादी नेतृत्वको सुदूरपश्चिम सरकार धरापमा
प्रतिक्रिया