प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएको युरोपको आकाश माथिको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन्।
काठमाडौंमा सोमबारबाट सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का हवाई महानिर्देशकहरुको सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बिगतमा जस्तो हवाई सुरक्षामा नेपालको कमजोरी अहिले नरहेको बताए। प्रधानमन्त्री ओलीले ठ्याक्कै त्यही शब्दमा प्रतिबन्ध हटाउन नभने पनि नेपालले पछिल्ला वर्षमा हवाई उड्डयनमा गरेको विकासले असुरक्षा हटेको बताएका हुन्।
नेपालले हवाई सुरक्षाका बाँकी कामहरुमा क्रमसः सुधार गर्दै गएको बताए। नेपालले सुखी नेपाली र सम्बृद्ध नेपालको नारा लक्ष्य हासिल गर्न पर्यटनलाई प्रमुख अंगको रुपमा लिएको स्पस्ट पर्दै प्रधानमन्त्री ओलीले विश्वमा प्रवेश गर्न कनेक्टिभिटीको ठूलो महत्व रहेको बताए। नेपालको पर्यटन क्षेत्रको विकासको लागि कनेक्टिभिटी आवश्यक रहेको उनको भनाई थियो।
प्रधानमन्त्री ओलीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएको बताए। साथै थप दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण भैरहेको बताए।
प्रधानमन्त्री ओलीले नेपालको पछिल्लो राजनैतिक अवस्था र सरकारले लिएको लक्ष्य स्पस्ट भएको हुदा विकासमा लगानीको लागि अनुकुल समय रहेको बताए। नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा साथ दिन सबैलाई आग्रह गरे। आजबाट सुरु भएको सम्मेलन पाँच दिनसम्म चल्ने छ। यो सम्मेलनमा ४३ देशका चार सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेका छन्।

प्रतिक्रिया